गोरखा दरवारमा अर्को पृथ्वीनारायण शाह प्रकट

गोरखा दरवारमा अर्को पृथ्वीनारायण शाह प्रकट

आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहको अहम भूमिका छ । नेपालभित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह र रानी कौशल्यावतीका छोरा उनले साना साना टुक्रामा विभाजित बाइसे र चौबिसे राज्यहरुलाई एकीकृत गरी एउटै देश सृजना गरेका थिए । उनलाई आधुनिक नेपालको जन्मदाता पनि भनिन्छ ।

वि.सं.१७७९ सालमा जन्मेका शाह २० वर्षकै उमेरमा गोरखाको राजा भए । पृथ्वीनारायण शाहको जन्म गोरखा दरबारमा भएको थियो । यो ऐतिहासिक दरबार गोरखा शहरभन्दामाथि पहाडको टुप्पोमा रहेको छ । दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर छ । त्यहाँ एउटा पुरानो गुफा पनि छ जहाँ बाबा गोरखनाथको मूर्ति स्थापित छ ।

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुर्याएका राजा शाहको जन्मस्थल रहेको यो दरबारलाई ऐतिहासिक स्थलको रुपमा लिने गरिन्छ । यो पयर्टकहरुको महत्वपूर्ण आकर्षकीय स्थल हो । वर्षेनि हजारौं पर्यटक दरबार भ्रमण गर्न आउने गरेका छन् । दरबारभित्र छिर्नेबित्तिकै अचेल राजा शाहको भेषभूषामा सजिएका एक जना व्यक्ति उभिएको अवस्थामा भेटिन्छ ।

उनी ठ्याक्कै राजा शाहको प्रतिबिम्बजस्तै देखिन्छन् । नीलो रङको दौरा सुरुवालमा सजिएका उनको एउटा हातमा तरबार छ । श्रीपेच लगाएर एउटा हातमाथि उठाई ‘हामी नेपाली एक हौं’, भनेका छन् । उनलाई देख्नेजति सबै एकछिन आश्चर्यचकित बन्छन् ।

दरबारमा आएका पर्यटकहरुको ध्यान ती व्यक्तिको पहिरनले खिच्ने गरेको छ । राजाको प्रतिबिम्ब बनेर बस्ने आखिर उनी को हुन् त ? गोरखाको रानीपोखरी घर भएका ओमबहादुर श्रेष्ठले दरबारमा जागिर खाएको झण्डै तीन महिना हुन लाग्यो । गोरखा ऐतिहासिक संरक्षण समितिसंग सम्झौता गरेर २०७९ भदौ १ गतेदेखि जागिर शुरु गरेका हुन् ।

यसबापत मासिक १५ हजार तलब र तीन हजार खाजा खर्च पाँउछन् । उनको काम त्यहाँ आएका पर्यटकलाई जवाफ दिने र दरबारका ऐतिहासिक विषयवस्तुबारे जानकारी गराउने हो । दरबार घुम्न आएका अधिकांश पर्यटकले उनीसंग फोटो खिचाउने गरेका छन् । उनीसंग फोटो खिचेबापत विद्यार्थी र स्थानीयले २०, पर्यटकले ५० र समूहमा आएमा एक सय रुपैयाँ तिर्नुपर्छ ।त्यस्तै, पृथ्वीनारायण शाहको पोशाक लगाएर फोटो खिच्न चाहेमा तीन सय रुपैयाँ समितिमा बुझाउनुपर्छ । समितिले त्यसरी जम्मा भएको रकमबाट उनलाई तलब दिने गरेको छ । श्रेष्ठलाई यो काम गर्दा रमाइलो लाग्छ । मुलुकलाई ठूलो योगदान दिएका राजाको प्रतिबिम्ब बन्न पाउँदा गर्व महशुस हुने गरेको छ ।

६४ वर्षीय श्रेष्ठले यसलाई गोरखा र गोर्खालीको पहिचान बढाउने अवसरको रुपमा लिएका छन् । भन्छन्,‘यो काम गर्न पाँउदा अत्यन्तै खुशी छु, गोरखा र गोर्खालीलाई विश्वभर चिनाउने मौका पाएको छु ।’ २०१५ सालमा जन्मिएका श्रेष्ठले १५ वर्षको उमेरमा नेपाली सेनामा जागिर खाए ।

२०३० सालमा गोरखा व्यारेकमा कार्यरत उनले २०४१ सालमा जागिर छोडे । त्यसपछि मर्स्याङदी प्रोजेक्टमा काम गर्न पुगे । दुई वर्ष प्रोजेक्टमा काम गरेर फेरि सेनामै जोडिई आठ वर्ष काम गरे । सेनाबाट अवकाश पाएपछि १४ वर्ष नगर प्रहरीको रुपमा पनि जागिर खाए । २०७४ सालको चुनावमा नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको वडासदस्यमा निर्वाचित भएका थिए ।

भन्छन्,‘यो चोटिको स्थानीय तह चुनावमा पनि उम्मेदवारी दिएको भए जित्थेँ तर चुनाव लड्न पैसा भएन । पाँच वर्षको अवधिमा गोरखा नगरपालिकामा धेरै विकास गरेका छौं ।’ विदेशी पर्यटकहरुले समेत आफ्नो फोटो खिचेर लैजाने भएकाले छाती फुल्ने गरेको उनी बताउँछन् ।

इटालीका राजदूतले आफूसंग फोटो खिचेको सम्झिँदा मख्ख पर्छन् । पैसाभन्दा पनि देशविदेशमा आफ्नो प्रचार हुँदा खुशीको कुनै सीमा छैन । आफ्ना धेरै विदेशी साथीहरुसमेत बनिसकेको सुनाउँछन्, श्रेष्ठ । उतिबेला पाँच कक्षा मात्र पास गरेका श्रेष्ठ राम्रोसंग अंग्रेजी भने जान्दैनन् ।

तर,सकेसम्म विदेशीले सोधेको प्रश्नको उत्तर दिन खोज्छन् । श्रेष्ठले भने,‘नेपाली भएर नेपालको पहिचान बढाउने काम गरेको छु, त्योभन्दा ठूलो कुरा अरु के हुन सक्ला !’

टिप्पणीहरू