राजनीतिक दलको उपेक्षा, घट्दो महिला सहभागिता

राजनीतिक दलको उपेक्षा, घट्दो महिला सहभागिता

प्रमुख राजनीतिक दलहरूले समेत प्रत्यक्ष निर्वाचनमा महिलालाई उम्मेदवार बनाउने सम्बन्धमा देखिने गरेर उपेक्षा गरेका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ठूला राजनीतिक पार्टीहरूले महिलालाई टिकट दिने कार्यमा उपेक्षा गरेका हुन् ।

संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर, त्यो व्यवस्था राजनीतिक दलहरुले लत्याउँदै प्रत्यक्ष निर्वाचनमा महिला उम्मदवारलाई नौ प्रतिशतमा सीमित राखेका छन् । प्रमुख राजनीतिक पार्टीहरुले संविधानले तोकेको समावेशीताको विषयलाई नै कुण्ठित गरेका छन् ।

सडकदेखि सदनसम्म प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्ने चर्को दबाब दिने महिला नेतृहरु अहिले उक्त अधिकारबाट वञ्चित भएका छन् । लोकतन्त्रात्मक राज्य व्यवस्थामा पुरानै पितृसत्तात्मक शैली हावी हुनु व्यवस्थामाथिकै प्रहार भएको जानकारहरुको बुझाइ छ । अहिलेको अवस्थामा पुरुषको तुलनामा प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवार कम हुनु लज्जास्पद भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

संसदमा महिला हिस्सा बढाउन संघीय संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भए पनि त्यसबारे कुनै निर्णय नहुँदै संसदको कार्यकाल सकिएको छ । निर्वाचन आयोगले पनि पार्टीहरुलाई एक तिहाइ सीटमा महिलालाई टिकट दिन निर्देशन दिएको थियो, त्यो निर्देशनको कार्यान्वयन पक्ष पनि अलपत्र परेको छ । यी सबै कुरालाई अस्वीकार गर्दै समावेशीताको एजेण्डा बोक्ने गरेका ठूला पार्टीले नै टिकट वितरणमा पुरानै आचरण दोहोर्याएका हुन् ।

प्रतिशतमा माओवादी, संख्यामा एमाले अगाडि

संवैधानिक व्यवस्थाअनुसार प्रत्यक्ष निर्वाचनमा महिलालाई टिकट दिन आनाकानी गरिएको राष्ट्रिय राजनीतिक पार्टीले उठाएका महिला उम्मेदवारको संख्याबाट स्पष्ट हुन्छ । आगामी प्रतिनिधि सभा निर्वाचनमा एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको छ । त्यसमध्ये ११ जना महिलालाई मात्र टिकट दिएको हो । जुन कुल उम्मेदवारको ७ प्रतिशत मात्र महिला हुन आउँछ ।

नेकपा माओवादी केन्द्रको तुलनामा यो करिब १० प्रतिशत कम हो । माओवादीले ४६ उम्मेदवार उठाएकोमा आठ अथात् १७ प्रतिशत महिला उम्मेदवार बनाएको छ । यसैगरी नेपाली काँग्रेसले ९१ सिटमा उम्मेदवारी दिएको छ । त्यसमा पाँच जना मात्र महिला उम्मेदवार हुन् ।

यस्तै संख्याका हिसाबमा सबैभन्दा कम नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक जना महिलालाई उम्मेदवार बनाएका छन् । यी केही उदाहरण मात्र हुन् । अन्य पार्टीहरुको पनि हालत त्योभन्दा फरक छैन । तर, प्रत्यक्ष निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने महिलाहरुको चाहना भने बढ्दो देखिन्छ ।

आगामी प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र र राजनीतिक दल गरी जम्मा २२५ जना महिला मैदानमा उत्रिएका छन् । यसैगरी प्रदेशसभा सदस्य निर्वाचनमा २८० जना महिलाले टिकट पाएक छन् ।

पितृसत्तात्मक सोच कायम

माओवादीले अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापा मगरलाई प्रदेशसभा निर्वाचनका लागि स्याङ्जा १ (क) बाट उठाएको छ । २०६४ र २०७४ को निर्वाचनमा समानुपातिक सांसद रहेकी थापा यसपटक प्रदेश सभा सदस्यका लागि मैदानमै उत्रिएकी हुन् । संसदमा महिला प्रतिनिधित्व बढाउन दबाब दिनेमध्येकी एक उनी पार्टीका नेताहरुको सोचमा परिवर्तन नभएसम्म महिला संख्यामै सीमित हुने बताउँछिन् । पुरुष सरह नै पार्टीमा संघर्ष गरे पनि निर्वाचनको क्रममा महिलाहरु टिकट पाउनबाट वञ्चित हुने गरेको उनको गुनासो छ ।

उनका अनुसार हाम्रो समाजमा पितृसत्तात्मक सोच अझै कायम छ । ‘हामीले पार्टीमा जति संघर्ष गरे पनि निर्वाचनमा पुरुष सरह टिकट पाउन सक्दनौं । त्यसको बाधक भनेको पितृसत्तात्मक सोच नै मुख्य हो । महिला आर्थिकदेखि अन्य कुरामा कमजोर हुन्छन् भन्ने परम्परातग सोच छ, जुन अझै कायम छ । त्यो नहटेसम्म समानता खोज्नु बेकार हो,’ थापाले भनिन् ।

महिलाहरु स्वयम् शक्तिशाली हुनपर्नेमा उनको जोड छ । विभिन्न क्षेत्रका महिलाहरुले आफूले गर्छु भन्ने साहस बोकेर मैदानमा आउनुपर्ने र महिलाले स्वयम् महिलाकै खुट्टा तान्ने प्रवृतिको अन्त्य नभएसम्म आफूहरुले उठाउँदै आएको महिला समानताले साकार रुप नलिने थापाको तर्क छ ।

उम्मेदवार महिला, प्रतिस्पर्धी पुरुष

आम निर्वाचनमा दलहरुले एउटै निर्वाचन क्षेत्रमा महिला–महिलाबीच प्रतिस्पर्धा हुने गरी टिकट दिएका छैनन् । उम्मेदवार बनेका सबै महिलाका प्रमुख प्रतिस्पर्धी पुरुष देखिन्छन् । विशेष गरी एमाले सम्मिलित तीन र काँग्रेससम्मिलित पाँच दलीय गठबन्धनबीच रोचक भिडन्त हुने देखिँदैछ ।

एमालेकी नेतृ शान्ता चौधरी एकीकृत समाजवादीका मेटमणि चौधरीसँग निर्वाचनमा भिड्दै छिन् । उनीहरु दुवै जनाले प्रतिनिधि सभाका लागि दाङ १ मा उम्मेदवारी दिएका छन् । नेता मेटमणि सहरी विकासमन्त्री समेत हुन् । एमालेबाट दाङ ३ मा उठेकी कोमल वलीका प्रमुख प्रतिस्पर्धी काँग्रेसका दीपक गिरी हुन् ।

यसैगरी गौरी ओलीले डोटीबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकी छन् । उनका प्रमुख प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका प्रेम आले हुन् । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एमालेबाट जितेका आलेलाई यस पटक सत्तारूढ गठबन्धनले साथ दिएको छ ।

एमाले केन्द्रीय सदस्य निरुदेवी पाल पहिलोपटक प्रत्यक्ष निर्वाचनमा भिड्ने तयारीमा छन् । उनले कञ्चनपुर ३ मा उम्मेदवारी दिएकी हुन् । यो क्षेत्रबाट काँग्रेसका रमेश लेखक उठेका छन् ।

एमाले नेतृ जुलीकुमारी महतोले धनुषा ३ मा उम्मेदवारी दिएकी छन् । एमाले–जसपा गठबन्धनबाट साझा उम्मेदवार बनेकी महतोको मुख्य प्रतिस्पर्धी लोसपाका अनिलकुमार झा हुन् । उनलाई सत्ता गठबन्धनको साथ छ ।

उदयपुर १ बाट एमाले–जसपा गठबन्धनबाट एमालेकी मञ्जुकुमारी चौधरी पाँच वर्षपछि फेरि काँग्रेसका डा.नारायण खड्कासँग चुनावी मैदान उत्रिएकी छन् । परराष्ट्रमन्त्री खड्का सोही निर्वाचन क्षेत्रमा तीन पटक निर्वाचित भइसकेका छन् ।

एमालेकी अर्की उम्मेदवार ज्वालाकुमारी साहका बारा ३ मा लोसपाका लालबाबु सिंह र जसपाका रामबाबुकुमार यादव प्रतिस्पर्धी छन् । यसैगरी एमालेकी उम्मेदवार पद्मा अर्यालका स्याङ्जा २ मा काँग्रेस उपसभापति धनराज गुरुङ, विद्या भट्टराई कास्की २ मा एकीकृत समाजवादीका श्रीनाथ बराल र मञ्जु शर्मा चालिसेका बाग्लुङ २ मा माओवादीका देवेन्द्र पौडेल सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । पौडेल अहिले शिक्षामन्त्री पनि हुन् ।

माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जामन्त्री पुम्फा भुसालले ललितपुर ३ मा टिकट पाएकी छन् । यस्तै पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं २, मानुषी यमी भट्टराईले काठमाडौं ७ र पोलिटब्युरो सदस्य कल्पना धमलाले काठमाडौं ९, अञ्जना विशंखे काठमाडौँ १०, बिना मगर कञ्चनपुर १, दाङ २ मा रेखा शर्मा र जुम्लामा गोमा कुँवरले उम्मेदवारी दिएकी छन् । तर, अघिल्लो निर्वाचनमा माओवादी केन्द्र्रले चार महिलालाई मात्रै उम्मेदवार बनाएको थियो ।

सत्ता घटक दल नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मकवानपुर १, केन्द्रीय सदस्य सीता गुरूङले तेह्रथुम, पुष्पा भुसालले अर्घाखाँची, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले मोरङ २ र पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सिरहा २ बाट उम्मेदवारी दिएका छन् । ती सबै क्षेत्रमा एमाले नेतृत्वको विपक्षी गठबन्धनका पुरुष उठेका छन् । यस्तै, एकीकृत समाजवादीको तर्फबाट सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी २ मा उम्मेदवारी दिएकी छन् । एमालेबाट यो क्षेत्रमा सचिव गोकर्ण विष्ट उठेका छन् ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्यूठानबाट उम्मेदवार बनेकी छन् । २०७४ मा उनले सो क्षेत्रबाट जितेकी थिइन् । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाले मोरङ ३ मा उम्मेदवारी दिएकी छन् । ती क्षेत्रमा पनि पुरूष नै प्रमुख प्रतिस्पर्धी छन् ।

कुन निर्वाचन प्रणालीमा महिला सांसद कति ?

२०६४ मा भएको पहिलो ६०१ सदस्यीय संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३०, समानुपातिकमा १६१ र मन्त्रीपरिषद्बाट ६ जना चयन भएर १९७ महिलाले संसदमा स्थान पाएका थिए । यस्तै दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०, समानुपातिकतर्फ १५९ र मन्त्रीपरिषबाट ४ जना छनोट भएर १७६ जना महिला सांसद बनेका थिए ।

२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ८४ जना गरी ९० जना महिलाले मात्र संसदमा स्थान बनाएका हुन् । यस पटकको पनि २७५ सदस्यीय प्रतिनिधि सभामा महिला प्रतिनिधित्व समेट्न समानुपातिककै भर पर्नुपर्ने बाध्यकारी अवस्था छ ।

टिप्पणीहरू