अरिंगालका कारण अकालमा ज्यान गुमाउनेको संख्या बढ्दै

अरिंगालका कारण अकालमा ज्यान गुमाउनेको संख्या बढ्दै

गत असोज २८ गते अरिंगालले टोकेका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा चिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भयो ।

हिँडिरहेको समयमा बाटो नजिकैको गोलाबाट निस्केको अरिंगालको हुलले टोक्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगैका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिंह दर्जी अरिंगालले टोकेपछि सख्त घाइते भएका थिए । उनीहरु दुवै जना जिल्ला अस्पताल खोटाङमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै, दार्चुलाका प्रशान्त सिंह धामीको मृत्युको कारण पनि अरिगांल नै बन्यो । शैल्यशिखर नगरपालिका–६, ग्वानीका ६ वर्षीय धामीको गत असोज ३० गते अरिंगालको टोकाईबाट मृत्यु भएको हो । आमासँगै मेला गएका उनलाई साँझ घर फर्किने बेला अरिंगालले टोकेको बताइन्छ । उनको पनि उपचारको क्रममै निधन भएको हो ।

सोही प्रकृतिको घटनामा गत असोज ३१ गते सल्यानमा आमा छोरीको ज्यान गयो । शिद्ध कुमाख गाउँपालिका–१, हामपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी चार वर्षीया छोरी प्राप्ती बुढाथोकीको अरिंगालले टोकेको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

प्रहरी कार्यालय, सल्यानका अनुसार शोभाका काका नवीन बस्नेत अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका थिए । उनी श्रीनगरस्थित परोपकार अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । धान काटेर घर फर्कंदै गरेका उनीहरु गत असोज ३० गते साँझ साढे ५ बजे अरिंगालले टोकेर गम्भीर घाइते भएका थिए ।

प्रदेश प्रहरी कार्यालयहरुले दिएको तथ्याङ्कअनुसार तीन महिनामा अरिंगालको टोकाइबाट देशभर १६ जनाको मृत्य भएको छ । २६ जना घाइते भए ।

तथ्याङ्कअनुसार तीन महिनामा कर्णालीमा ६, वाग्मतीमा २, सुदूरपश्चिममा ३, प्रदेश नम्बर १मा २, लुम्बिनीमा ३ जनाको निधन भएको छ । प्रहरीको तथ्याङ्क हेर्दा सो अवधिमा सबैभन्दा धेरै कर्णाली प्रदेशमा अरिंगालले टोकेर छ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, वीरेन्द्रनगर सुर्खेतले प्रदेशमा तीन महिनामा चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये सल्यानमा तीन महिला, एक पुरुष र जाजरकोटमा एक महिला र एक पुरुषको मृत्यु भएको छ ।

वाग्मती प्रदेशमा साउनयता अरिंगालको टोकाइबाट दुई जनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार साउनदेखि असोज मसान्तसम्म वाग्मतीमा दुई जनाको मृत्यु भएको छ । जसमध्ये रामेछापका एक पुरुष र चितवनका एक पुरुषको अरिंगालले टोकेर मृत्यु भएको हो ।

पछिल्लो तीन महिनामा प्रदेश नम्बर १ मा अरिंगालको टोकाइबाट दुई जनाको निधन भएको छ । प्रदेश प्रहरी कार्यालय, विराटनगरले दिएको तथ्याङ्कमा सो प्रदेशमा तीन महिनामा दुई जनाको अरिंगालले टोकेर मृत्यु भएको छ । तीमध्ये उदयपुरका २४ वर्षीय युवक र ताप्लेजुङका २९ वर्षीय एक युवकको ज्यान गएको छ । उनीहरु दुवैको अरिंगालको गोला पोल्ने क्रममा मृत्यु भएको हो ।

सुदूरपचिम प्रदेशमा साउनदेखि असोज मसान्तसम्म तीन जनाको अरिंगालको टोकाइबाट मृत्यु भइसकेको छ । सुदूरपचिम प्रदेश प्रहरी कार्यालय, धनगढीले सो अवधिमा एक किशोरी, एक वृद्व र एक बालकको मृत्यु भएको जनाएको छ । तीमध्ये बझाङका १६ वर्षीया किशोरी, अछामका ७२ वर्षीया वृद्वा र दार्चुलाका ६ वर्षीय बालकको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा साउन यता तीन जनाको अरिंगालको टोकाइबाट मृत्यु भएको छ । उनीहरु तीनै जनाको अरिंगाल पोल्ने क्रममा अरिंगालले टोकेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

तीमध्ये रोल्पाका दुई र प्युठानका एक जनाको मृत्यु भएको हो । सोही अवधिमा लुम्बिनीमा छ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो तीन महिनामा गण्डकी प्रदेश र मधेशप्रदेशमा भने अरिंगालको टोकाइबाट मृत्यु हुनेको संख्या शुन्य देखिन्छ ।

अरिंगालको टोकाइबाट हुने घटना अगस्टदेखि नोभेम्बर महिनासम्म धेरै हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । नेपालमा बारुला, अरिंगालको ११ प्रजाती पाइन्छन् । जसमध्ये यी प्रजाती मनसुनदेखि डिसेम्बरसम्म सक्रिय हुने गर्दछन् । अरिंगालले टोकेपछि बान्ता आउने, पिसाब रातो हुने, जन्डिस देखिने र पिसाब रोकिने जस्ता लक्षण देखापर्छ ।

अरिंगालले टोकेमा साबुन पानीले टोकेको ठाउँमा सफा गर्ने, खील गडेको भए नङको सहायताले निकाल्ने, तर ननिचोर्ने, टोकेको ठाउँमा बरफ वा चीसो पानीले सेक्नुपर्ने चिकित्सकहरुको सल्लाह छ । यसबाहेक अरिंगालले टोकेको ठाउँमा मह, मञ्जन, सोडा लगाउने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानुपर्ने उनीहरु बताउँछन् ।

टिप्पणीहरू