आफूले अर्काकी छोरी ल्याउने,आफ्नै छोरी जन्मँदाचाहिँ छतबाट हाम्फाल्ने?

आफूले अर्काकी छोरी ल्याउने,आफ्नै छोरी जन्मँदाचाहिँ छतबाट हाम्फाल्ने?

थापाथलीस्थित प्रसूति गृहको माथिल्लो तलाबाट हाम फाल्ने पुरुष अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षीय स्वयम् तामाङ गत बिहीबार राति तीन तला माथिबाट हाम्फालेर गम्भीर घाइते भएका थिए ।

गर्भवती श्रीमतीलाई सुत्केरी गराउन उनी अघिल्लो दिन बिहान प्रसूति गृह पुगेका हुन् । ३५ वर्षीया सपना तामाङले भोलिपल्ट १७ गते बिहान ११ बजेर ४२ मीनेटमा छोरी जन्माइन् ।

छोरी जन्मिएपछि तामाङले मध्यराति अस्पतालको तेस्रो तलाबाट हाम्फालेर आत्महत्याको प्रयास गरेका हुन् । लगत्तै तामाङलाई अस्पतालले उद्वार गरी उपचारार्थ ट्रमा सेन्टर पुर्याएको थियो ।

तामाङ २७ गते मध्यराति ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा भर्ना भएका हुन् । ट्रमा सेन्टरका अनुसार तीन तलाबाट खसेर हातगोडालगायत शरीरका अन्य अंगमा चोट लागेको थियो । तर उनलाई शुक्रवार बेलुकी नै डिस्चार्ज गरिएको सेन्टरका एक कर्मचारीले जानकारी दिए । उनले भने, ‘२७ गते राति तामाङ अस्पताल भर्ना भएका थिए । अवस्था सामान्य बनेपछि अस्ति बेलुकी नै डिस्चार्ज भइसकेका छन् ।”

यता सामान्य रुपमा तीन किलो १०९ ग्राम तौलकी स्वस्थ छोरी जन्माएकी सपनाको पनि अवस्था सामान्य रहेकाले परिवारको सहयोगमा हिजै घर लगिएको छ ।

प्रसूति गृहका डाक्टर आशा प्रधानका अनुसार सपनाले २७ गते सामान्य अवस्थामा नै छोरी जन्माएकी थिइन् । आमा र शिशुको अवस्था सामान्य रहेकाले उनलाई हिजै घर पठाइएको हो ।

अस्पतालमा टिपाइएको विवरणअनुसार सपनाले पहिलोपटकको गर्भपतनपछि दोस्रो पटकमा छोरी जन्माएकी हुन् । उनका श्रीमान छोरी जन्मिएकै कारण हो या कुनै अन्य कारणले हाम्फाले त्यसबारे भने आफूहरुलाई जानकारी नभएको अस्पतालको भनाइ छ ।

तामाङ के कारणले हाम्फाले त्यसबारे बुझ्न खोज्दा उनको मोबाइल अफ पाइयो । यसबारे सोधिएको जिज्ञाशामा उनका दाइले केही बोल्न चाहेनन् । ‘यदि छोरी जन्मेकै कारण उनले आत्महत्याको प्रयास गरेका हुन् भने सासू र ससुराले छोरी नजन्माएको भए सपना तामाङ उनकी श्रीमती बन्न कसरी सम्भव भयो ?,’ धेरैले तामाङमाथि यो प्रश्न तेर्साएका छन् ।

टिप्पणीहरू