भीम रावलको राजनीतिक भविष्य : टिकट पाउनदेखि जित्नसम्म उत्तिकै चुनौती

भीम रावलको राजनीतिक भविष्य : टिकट पाउनदेखि जित्नसम्म उत्तिकै चुनौती

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु चुनाव केन्द्रित गतिविधिमा सक्रिय भएका छन् । निर्वाचनमा भाग लिने राजनीतिक पार्टीहरु धमाधम उम्मेदवार सिफारिसदेखि आफ्नो पक्षमा जनमत बटुल्ने कार्यमा व्यस्त छन् । तीमध्ये लगभग धेरैजसो पार्टीका तल्ला समितिले उम्मेदवार सिफारिससमेत गरिसकेका छन् । अब पार्टी नेतृत्वबाट उम्मेदवार छनोट हुन बाँकी छ ।

पाँच दलीय सत्ता गठबन्धनले भने सीट बाँडफाँडपछि मात्र कसलाई कहाँबाट उम्मेदवार बनाउने भन्ने निर्णय गर्ने बताएको छ । तर, प्रमुख प्रतिपक्ष दल एमालेका नेताहरुले छिट्टै टिकट वितरण गर्ने जानकारी दिएका छन् ।

संघीय र प्रदेश सांसदको टिकट वितरणको अन्तिम निर्णय गर्ने अधिकार केन्द्रले नै गर्ने अरु पार्टीको जस्तौ एमालेको पनि नीति छ । सोहीबमोजिम क–कसलाई टिकट दिने भन्ने गृहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली लागेको बताइन्छ । तर एकल सिफारिसमा परेका केही निर्वाचन क्षेत्रमा भने अध्यक्षलाई पनि टिकट वितरणमा सकस हुने अनुमान गरिएको छ ।

अध्यक्ष र रावलबीचको तिक्तता

एमाले नेता तथा पूर्व उपाध्यक्ष डा.भीम रावलको चर्चा सँधैजसो भइरहन्छ । उनलाई आगामी मंसिर ४ गतेको आमनिर्वाचनमा पार्टी नेतृत्वले टिकट देला वा नदेला भन्ने विषयमा एमालेलगायत राजनीतिक वृत्तमा अहिले निकै चासोका साथ हेर्न थालिएको छ ।

एक त नेता रावल एमाले अध्यक्ष ओलीका चर्का आलोचक हुन् । उनले खुलेर पार्टी अध्यक्ष ओलीको व्यवहार र आचारणमाथि बारम्बर औंला उठाउने गरेका छन् । यति मात्रै होइन उनी गत मंसिरमा भएको एमाले महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमै भिडेका थिए । तर, उनले जित्न सकेनन् ।

यस्तै विविध कारणले रावलप्रति अध्यक्ष पछिल्लो समय रुष्ट भएको ओली निकट नेताहरु बताउँछन् । एमालेको अर्को पक्षको भने माओवादी केन्द्रबाट एमाले छिरेका लेखराज भट्टलाई ओलीले सुदूरपश्चिम प्रदेश इञ्चार्ज बनाएपछि रावल झन् बढी पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेको जिकीर छ ।

आत्मालोचना गरे रावलले टिकट पाउने पक्का

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । तर, उनले सिफारिस भएकै दिन जिल्लाका नेताहरुलाई धन्यवाद दिए पनि आजसम्म औपचारिक रुपमा निर्वाचन लड्ने या नलड्ने कुनै प्रतिक्रिया दिएका छैनन् । निर्वाचनको टिकट पाउने कुरामा ढुक्क नभएकै कारण उनले खुलेर आफ्नो धारणा सार्वजनिक नगरेको रावल निकट एक नेताले बताए ।

‘उहाँको विगत हेर्ने हो भने अछाममा राम्रो छ । तर, पार्टी नेतृत्व र उहाँबीचको सम्बन्ध सुमधुर नभएकाले टिकट पाउने कुरामा ढुक्क हुन सकिँदैन’, उनले अगाडि भने, ‘रावल आफैं पनि नेतृत्वले टिकट दिने कुरामा ढुक्क देखिनुभएको छैन ।’

एमाले सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिनाले उनको एकल सिफारिस भए पनि टिकट वितरणमा समस्या आउन सक्ने संकेत गरे । रावलले आफूनो गल्तीमा आत्मालोचना गर्न आनकानी गरेको उल्लेख गर्दै उनले नेतृत्वसँग छलफलमा बसेर सहमति जुटाउनुपर्नेमा जोड दिए । सत्ता गठबन्धनका कारण प्रदेशमै एमाले कमजोर हुने अवस्थामा पार्टीभित्र कित्ताकाट गर्न नहुने उपाध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

अछाममा रावलको जनमत विगतकै जस्तो रहेको दाबी गर्दै उनले भने, ‘उहाँले आत्मालोचना गर्नैपर्छ तर किन आनाकानी गर्नु ? हामी त पार्टीको विधि र विधानअनुसार चलेका छौँ । रावलजीले पनि नेतृत्वसँग छलफल गरेर पार्टीलाई जिताउने पक्षमा लाग्नुपर्छ । तर, पार्टीभित्र सहमति नगर्ने एक्लै हिँड्ने गरेपछि उहाँलाई नै घाटा हुन्छ ।’

अध्यक्ष ओली नेता रावललाई अछामबाट टिकट दिन नहुने भन्ने पक्षमा नरहेको भन्दै उनको भनाइ छ । ‘रावलजी उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्म भइसकेको नेता हुनुहुन्छ । अछाममा उहाँको प्रभाव नहुने भन्ने कुरै हुँदैन । अछाम गृहजिल्ला नै हो । सोही क्षेत्रबाट यसअघि पटक पटक निर्वाचित भइसक्नुभएको छ । तर, उहाँको स्वभाव विद्रोही खालको छ । त्यसले समस्या निम्ताउन सक्छ । यसमा सुधार ल्याउन आवश्यक छ,’ उनले उपाय सुझाए ।

अध्यक्ष पक्षका एमालेजनले डा.रावललाई वर्ता र छलफल गरी पार्टीको विधानअनुसार चल्न आग्रह गरेका छन् । तिमिल्सिनालगायत नेताहरुले रावलले टिकट पाउने वा नपाउने भन्ने अनुमान अहिले नै गर्न नसकिने बताएका छन् । त्यसैलै उनीहरु पर्ख र हेरको अवस्थामा देखिन्छन् ।
गृह नगरमै धौ धौ र चुनौती

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रावल सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसबेला उनले २४ हजार ८९३ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भरत स्वाँरले १७ हजार ६८९ मत पाएका थिए । उनी यसअघि २०५१ र २०७० को निर्वाचनमा समेत विजयी भएका थिए ।

अघिल्लो निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट जीत हासिल गरेको एमालेलाई अहिले केही चुनौती थपिएको छ । एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादीका कारण जनमत बाँडिएको छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले सो क्षेत्रमा १६ हजार ५६७ मत एमाले ल्याएको थियो । गठबन्धन दल काँंग्रेसले १६ हजार ७२८, माओवादी छ हजार ७९० र एकीकृत समाजवादीले दुई हजार ७५२ मत पाएका थिए । गठबन्धन एकातिर र एमाले एकातिर हुँदा रावललाई पार्टीले टिकट दिए पनि जित्न कठिन हुने उक्त अंक गणितबाट सहजै अनुमान लगाउन सकिन्छ ।

अर्कोतर्फ अछाममा अघिल्लो निर्वाचनको क्रममा उनलाई मतदान गरेका स्थानीय मतदाता समेत असन्तुष्ट रहेको बताइन्छ । गृहनगर साँफेबगरका एक युवाले भने, ‘हामीले अघिल्लो निर्वाचनमा उहाँलाई जिताएर पठाएकै हौँ । तर, निर्वाचित भएको यतिका वर्षसम्म हाम्रो निम्ति कुनै काम गरेको पाएनौं । एक दिन पनि स्थानीय अवस्था बुझ्न आउनुभएको छैन ।’

वषौंसम्म शहरमा बस्ने र भोट माग्ने समयमा मात्र गाउँमा आउने गरेको स्थानीयको आरोप छ । उनै युवाले भने, ‘यहाँका मतदाता पहिले जस्तो छैनन् । धेरै परिवर्तन भइसकेका छन् । अब यहाँबाट जो कोहीले जित्न गाह्रो छ ।’

टिप्पणीहरू