आफन्तको रिसमा घारमा हालिएको विषले मौरी सखाप

आफन्तको रिसमा घारमा हालिएको विषले मौरी सखाप

अरुको के कुरा आफ्नै भनाउँदाहरुको विश्वास छैन यहाँ ? आफन्तहरुमै कति डाहा, इष्र्या, रिस हुन्छ भन्ने कुराको एउटा उदाहरण चितवनको रत्ननगरमा देखिएको छ । एकजना युवकले आफ्नै भाउजू नाता पर्ने महिलाको खेती नष्ट गरिदिएका छन् ।

भदौ ९ गते रातको समयमा रत्ननगर–१६, बुद्धटोलमा प्रभा के.सी. थापाले सञ्चालन गरेको पशुपन्छी तथा मौरी फर्मका घारहरुमा विषादी प्रयोग गरी मौरी मारिएको थियो । त्यस्तो अपराधपूर्ण कार्य कसले गर्यो भन्ने उतिबेलै खुलेको थिएन ।

घटना सम्बन्धमा तत्काल प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल मुचुल्कालगायत कार्य सम्पन्न भयो । प्रहरीले घटना सम्बन्धमा सूक्ष्म रुपमा अनुसन्धान गर्दै जाँदा प्रभाकै देवर नाता पर्ने (कान्छा ससुराको छोरा) ले उक्त हर्कत गरेको देखिएको हो । कालिका नगरपालिका वडा नम्बर ९ शक्तिखोर बस्ने हरिबहादुर थापाका छोरा दिपेन्द्र थापाले मौरी मार्न विषादी प्रयोग गरेको खुल्न आएको हो ।

२३ वर्षीय दिपेन्द्रलाई प्रहरीले पक्राउ गरिसकेको छ । हाल इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा छन् । प्रहरीले अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

दिपेन्द्रले पारिवारिक रिसइबी साँध्न प्रभाको मौरी फर्ममा नोक्सान पुर्याएको रहस्य खुलेको छ । उनीमाथि आपराधिक उपद्रव मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए ।

– अजय गोर्खाली

टिप्पणीहरू