भरतपुर महानगरपालिकामा ‘फेरि भेटौंला’ कार्यक्रम

भरतपुर महानगरपालिकामा ‘फेरि भेटौंला’ कार्यक्रम

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रमुख प्रशासकीय अधिकृतमा रामबन्धु सुवेदी अझै बस्दिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेकी छन् । ‘अझै ६ महिना जति बसिदिनु भएको भए हुन्थ्यो’, उनले भनिन्, ‘अझ राम्रा र उत्कृष्ट काम हुने थिए ।’

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धुको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटै प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर नारायणप्रसाद सापकोटा भरतपुर आएका छन् । महानगरपालिकाको सभाहलमा हिजो बिहीबार सापकोटाको स्वागत र सुवेदीको बिदाइ कार्यक्रम भएको थियो । तर ‘बिदाइ’ नभनेर ‘फेरि भेटौंला’ समारोह आयोजना गरियो ।
भरतपुरमा रामबन्धु सुवेदी फेरि आइदिए हुन्थ्यो भन्ने महानगरको उत्कट चाहना पनि हो ।

सुवेदी अब्बल प्रशासक भएको मेयर बताउँछिन् । राम्रो काम गर्ने, नराम्रो हुन नदिने, कानुनी हिसाबले, प्रक्रियागत हिसाबले नचुकीकन काम गर्न सहयोग गर्ने रामबन्धुको कार्यकाल भरतपुरको विकासका लागि कोसेढुंगा भएको रेनुले बताइन् । ‘उहाँको कार्यसम्पादनबाट म लगायत हामी सबै सन्तुष्ट छौं’, उनले भनिन्, ‘उहाँको साथमा धेरै राम्रा प्रभावकारी र उपलब्धिमूलक कार्यहरु भएका छन् । अविस्मरणीय काम गर्यौं हामीले ।’

महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामबन्धु सुवेदीको कार्यकाल करिब एक वर्ष रह्यो । ‘सहसचिव एक वर्ष बस्ने कुरा पनि ठूलै रहेछ’, रेनुले भनिन्, ‘मन्त्रालयमा जाँदै हुनुहुन्छ । यहाँ जसरी, त्यहाँ पनि सफल कार्यकालको शुभकामना ¤’ जहाँ रहे पनि भरतपुर महानगरपालिकालाई उनले नजिकबाट सहयोग गर्ने विश्वाससहितको अपेक्षा मेयरले व्यक्त गरेकी छन् ।

अहिले भरतपुरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका नारायणप्रसाद सापकोटा पनि विभिन्न महत्वपूर्ण मन्त्रालय, विभागको जिम्मेवारी सम्हालिसकेका अनुभवी प्रशासक भएको भन्दै रेनुले भनिन्, ‘यो स्वागत तथा बिदाइको क्षणमा हामी दुःखी पनि छौं, खुशी पनि छौं ।’

उपमेयर चित्रसेन अधिकारीले रामबन्धु सरल, सादगी, विधि प्रक्रिया र कानुनको मर्यादामा रहेर सुशासन र सदाचारलाई जोड दिने कुशल प्रशासक भएको बताए । नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिहरुबाट राम्रो सद्भाव र सहयोग रहने विश्वास उनले दिलाएका छन् ।

भरतपुर महानगरपालिकामा करिब एक वर्ष प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेर महानगरवासी जनताको सेवा गर्ने ऐतिहासिक अवसरका लागि विकासप्रेमी र लोकप्रिय नगरप्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निवर्तमान उपप्रमुख पार्वती शाह ठकुरीलगायत सम्पूर्ण वर्तमान र निवर्तमान जनप्रतिनिधिहरुप्रति हार्दिक आभार प्रकट गर्दै रामबन्धु भन्छन्, ‘यस क्रममा उच्च निष्ठाका साथ सुशासन प्रवर्धनमा अहोरात्र खट्ने सम्पूर्ण कर्मठ कर्मचारी मित्रहरु, निजी क्षेत्रका नेतृत्व, शैक्षिक नेतृत्व, प्राज्ञ महानुभावहरुलगायत महानगरसँग प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

उनले थपे, ‘डिजिटल महानगरको जग निर्माण भइसकेको छ । विकास र समृद्धि तथा सुशासनको यात्रामा महानगर अझै अब्बल बनिरहोस् । नेतृत्वले निर्माण गरेको विरासत अझै उच्च रहोस्, अनुकरणीय रहोस् र नेपालको संघीय शासनको सफल कार्यान्वयन भएको स्मार्ट उदाहरणीय महानगर निर्माण गर्ने नगरप्रमुखको सपना छिटै साकार हुनेछ भन्ने विश्वास र शुभकामना प्रकट गर्दछु । यस दिशामा आदरणीय नारायण सापकोटा सर पूर्ण सफल हुनुहुनेछ भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

भरतपुरको नयाँ प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भ्रष्टाचारको ‘भ’ पनि आफूबाट नहुने, सुशासनका चार अक्षरको एउटा अक्षर पनि मेटिन नदिने बताएका छन् । मेयर–उपमेयरलगायत जनप्रतिनिधिहरुलाई उनले भने, ‘हजुरहरुलाई सफल बनाउन म अहोरात्र खटिनेछु ।’ कर्मचारीहरुलाई पनि भने, ‘प्रमुख प्रशासकीय अधिकृतलाई सहयोग गर्नु भनेको मेयर–उपमेयरलाई सहयोग गर्नु हो । हामीले उहाँहरुको भिजन पछ्याउने हो । तपाईं हाम्रो राम्रो कामले नै मेयर–उपमेयर लगायत जनप्रतिनिधिहरुको छवि माथि उठ्छ ।’

गलत काम गर्ने कर्मचारीलाई झिक्न आफू लागिपर्ने भन्दै उनले भने, ‘काम नगर्ने कर्मचारीलाई राख्नु पनि हुँदैन । राम्रो काम गर्ने कर्मचारी साथीहरुको असल अभिभावक बन्नेछु ।’ आफू सोझै अफिसरबाट आएको, दबेर, झुकेर काम गर्ने बानी नभएको उनले बताए ।

टिप्पणीहरू