देश छाडी भागेका राष्ट्रपतिद्वारा अमेरिकामा ‘ग्रिनकार्ड’आवेदन

देश छाडी भागेका राष्ट्रपतिद्वारा अमेरिकामा ‘ग्रिनकार्ड’आवेदन

मुलुक छाडेर भागेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षेले अमेरिकी ‘ग्रिनकार्ड’ का लागि आवेदन दिएका छन् । गत जुलाईमा मुलुक छाडेर भागेका गोटाबायाले सँधैका लागि अमेरिका बस्न मिल्नेगरी आवेदन दिएका हुन् । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन गरेको समाचारहरुमा जनाइएको छ ।

मुलुक छाडेर सेनाको हवाइजहाजमा रातारात छिमेकी मुलुक माल्दिभ्सको राजधानी पुगेका उनी लगत्तै सिंगापुर गएका थिए । सिंगापुरको भीसा सकिएपछि दुई सातादेखि थाइल्याण्डको राजधानी बैंककमा बस्दै आएका छन् ।

उनीनिकट कानुन व्यवसायीहरुले गोटाबाया मुलुक फर्किने तयारी गरेको बताए पनि श्रीमती आइओमा राजापाक्षले भने अमेरिकाको नागरिकता लिने तयारी गरेको खुलासा गरेकी छन् । यसका लागि कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायीहरु सक्रिय भएको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति भागेपछि मुलुकमा नयाँ राष्ट्रपति,प्रधानमन्त्री र मन्त्रीहरु नियुक्त भएका छन् । उनीहरु सबै गोटाबायाका शुभचिन्तक रहेको बताइन्छ ।

टिप्पणीहरू