चितवनमा कोरोना बढ्यो, कीटजन्य रोगको खतरा पनि उत्तिकै

चितवनमा कोरोना बढ्यो, कीटजन्य रोगको खतरा पनि उत्तिकै

गर्मी तथा वर्षात्को यो समय कीटजन्य रोगहरुको सिजन हो । अर्कोतर्फ कोरोना संक्रमण पनि बढ्दैछ । स्वास्थ्य सुरक्षा सतर्कतामा ध्यान नदिने, हेलचेक्रयाइँ गर्ने हो भने अवस्था गम्भीर हुनसक्ने बताइन्छ । कालाजार, औलो, डेंगुलगायत कोभिड–१९ लगायत जुनसुकै रोगले सताउन सक्ने हुँदा विशेष सावधानी अपनाउन जरुरी देखिएको छ ।

‘मौसम परिवर्तनका कारण गर्मीको समयमा रुघाखोकी र ज्वरोजन्य रोगहरु लाग्न सक्छ’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले भने, ‘कोभिड पनि केही मात्रामा बढेको देखिन्छ ।’

पछिल्लोसमय करिब चार महिनासम्म नगण्य भएको कोरोना संक्रमण चितवनमा फेरि बढ्दै गएको हो । गत फागुनको अन्तिम सातादेखि चितवनमा शून्य अवस्थामा रहेको कोरोना भाइरस गत असार २२ गतेबाट फेरि फैलिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् । कोभिड–१९ को केस बढ्न थालेपछि अहिले यसको परीक्षण पनि बढाइएको, जिल्लाका सबै पालिकाहरुमा एन्टिजेन टेस्ट कीट उपलब्ध गराइएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

भरतपुर अस्पतालमा निःशुल्क पीसीआर परीक्षण पनि भइरहेको छ । अहिले जिल्लामा दैनिक सरदर ७५÷८० जनाको कोरोना परीक्षण भइरहेको केसी बताउँछन् । उनले भने, ‘मंगलबार ७५ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखियो ।’ अहिले पनि कोरोना संक्रमितमध्ये केहीको मृत्यु भएको बुझिएको छ ।

गत साउनमा कोरोना संक्रमित तीन जनाको भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार साउन २२ गते चितवनकै खैरहनी–९ का ४७ वर्षीय केशवराज पौडेल, २५ गते राक्सिराङ–१, मकवानपुरका ६० वर्षीय जमानसिंह ब्लोन र २९ गते बेसीसहर–२, लमजुङकी ८४ वर्षीया सरस्वती थापाको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । हिजो पनि कोरोना संक्रमित एक जनाको मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

सूचना अधिकारी पौडेलका अनुसार भदौ १ गते ज्यान गुमाएकी गैंडाकोट–१०, नवलपरासीकी ८० वर्षीया मीनादेवी भुसाललाई पनि कोरोना संक्रमण भएको थियो । साउन ३१ को रिपोर्टअनुसार भरतपुर अस्पतालको एचडीयुमा सात जना र आईसीयुमा तीनजना कोरोना संक्रमितहरुको उपचार भइरहेको थियो । एन्टिजेन र पीसीआर गरेर अहिले भरतपुर अस्पतालमा मात्रै दैनिक ३०÷३५ जनाको कोरोना परीक्षण हुँदा ५ देखि १० जनामा पोजिटिभ देखिने गरेको पौडेल बताउँछन् ।

चीनबाट सुरु भई नेपाललगायत विश्वका अधिकांश देशमा फैलिएको कोभिड–१९ चितवनमा पहिलोपटक २०७६ चैत्र ३ गते पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले बताएको छ । हिजोसम्म चितवनमा ३३ हजार नौसय चार जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये ३३ हजार तीनसय ५८ जना निको भएका छन् भने ४५० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

हिजोसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ९६ छ । तीमध्ये ९१ जना होम आइसोलेसनमा छन् । कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न र खोप छुटफुट भएकाहरुले नजिकका सरकारी स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन अनुरोध गरिएको छ । छुटेकाहरुले पहिलो, दोस्रो र बुस्टर सबै प्रकारका खोप लगाउन सक्ने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले बताएको छ । तर तीन पटक खोप लगाएकाहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।

गत असारमा चितवनकै पत्रकार टिकादत्त तिमिल्सिनाले आफूलाई कोभिड संक्रमण भएको जानकारी गराउँदै फेसबुक पोष्टमा लेखेका थिए, ‘मैले तीन पटक भ्याक्सिन लगाइसकेको थिएँ तर पनि कोभिड हुँदो रहेछ, सतर्कता अपनाउनु होला ।’ एक साताजति आराम गर्नुपर्ने जनाउँदै उनले भनेका थिए, ‘केवल ज्वरो आएकोले आरटि पीसीआर गर्दा पोजिटिभ देखिएको हो । मलाई अन्य कुनै प्रकारको समस्या छैन । सम्पूर्ण शुभचिन्तक, इष्टमित्र तथा आफन्तहरुमा समस्या जटिल नभएको जानकारी गराउँदछु ।’

पछिल्लो समय सर्वसाधारणमा कोरोनाबारे सचेतना बढ्दै गएको र खोपको कारणले गर्दा जटिलता नदेखिएको स्वास्थ्य कार्यालय प्रमुखको भनाइ छ । ‘खोपको पूरा मात्रा लगाएपछि पनि म आफैंलाई कोभिड देखियो’, उनले भने, ‘तर अवस्था सामान्य नै रह्यो ।’ अहिले कोभिड संक्रमितहरु अत्यन्त कमलाई मात्र आईसीयु तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने जटिल अवस्था देखिएको छ । तर कोरोना संक्रमण पुनः बढ्न थालेकाले मास्क प्रयोग गर्ने, भीडभाडमा नजाने तथा साबुनपानीले हात धुने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपरिहार्य भएको उनको भनाइ छ ।

यसैगरी, अहिले डेंगु पनि देखिन थालेकाले लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ । ‘गत साउनमा खैरहनीमा १५÷१६ जनामा डेंगु भएको सूचना मैले पाएको छु’, जिल्ला स्वास्थ्य प्रमुख चापागाईंले भने, ‘अन्त पनि फाट्टफुट्ट रुपमा डेंगु देखिँदैछ ।’ कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केसीका अनुसार रत्ननगर र भरतपुरमा पनि डेंगु फाट्टफुट्ट देखिएको छ । डेंगु सार्ने लामखुट्टेले सफा जमेको पानीमा फुल पारेर लार्भा विकसित गर्ने भएकोले घर वरिपरि वर्षाको पानी जम्ने खाल्डाखुल्डी पुर्न, भाँडाकुँडा, प्लाष्टिक, टिनका डब्बा, टायर आदिमा पानी जम्न नदिन, कुलर र फुलदान (गमला) का पानी छिटोछिटो फेरिरहन स्वास्थ्य कार्यालयले सुझाएको छ ।

यस्तै, लामखुट्टेकै टोकाइबाट सर्ने मलेरियाको पनि खतरा बढेको छ । लामखुट्टे लाग्ने ठाउँमा नजान र झुल टाँगेर सुत्ने गर्दा पनि डेंगु, मलेरिया इत्यादिबाट बच्न सकिन्छ । भुसुनाको टोकाइबाट पनि जोगिन जरुरी छ । भुसुनाको टोकाइबाट कालाजार हुनसक्छ भने मुसामा लाग्ने कीर्नाले स्क्रबटाइफस गराउने बताइएको छ । भरतपुर अस्पतालमा अहिले डेंगु, मलेरिया र स्क्रबटाइफसका बिरामीसमेत देखिएको अस्पतालका सूचना अधिकारी बताउँछन् ।

सरसफाइ र स्वच्छ खानपिनमा ध्यान नदिँदा झाडापखाला र टाइफाइड पनि हुनसक्ने अहिलेको समय हो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुनेछ ।

टिप्पणीहरू