निर्माण व्यवसायीको चरम ज्यादती, बौद्व धर्मगुरु भीमसुवालाई मार्ने धम्की

निर्माण व्यवसायीको चरम ज्यादती, बौद्व धर्मगुरु भीमसुवालाई मार्ने धम्की

भक्तपुरका निर्माण व्यवसायी केशव तनावासुले बौद्व धर्मगुरु भीमसुवा गुरुङलाई धम्काउँदै खाली चेकमा हस्ताक्षर गर्न लगाएर करोडौँको रकम बाउन्स गरी सम्पत्ति हडप्न खोजेको आरोप लागेको छ । हतियारसहित लामा गुरु भीमसुवाको कार्यकक्षमा पुगेर तनावासुलगायत नौ जनाको समूहले सात घण्टा बन्धक बनाएको र खाली चेकमा हस्ताक्षर गर्न लगाई आफैँले पाँच करोड १४ लाखभन्दा बढीको चेक बाउन्स गरेको बताइन्छ ।

उक्त घटनाबारे जानकारी दिए पनि प्रहरी प्रशासन र न्यायिक निकायले कुनै सुनुवाई नगरेपछि गुरु भीमसुवा न्यायको माग गर्दै मिडियामा आएकी छन् । उनले गत जेठ २ गते तनावासु र उनीसँग गएका जीवन बुढाथोकीलगायत नौ जनाले आफ्नो कार्यालयमा आएर हतियार देखाउँदै हिमालयन बैंकमा रहेको उक्त रकम भुक्तानी लिने गरी तीन वटा चेक लगेको बताएकी छन् ।

उनीहरुले छोरा मार्ने र आफूलाई अपाङ्ग बनाउने धम्की दिएर जबरजस्ती चेक लगेको उनको भनाइ छ । त्यति गर्दा पनि तनावासुले बारम्बार मार्ने धम्की दिएर तर्साउन थालेपछि आफ्नो सुरक्षाको लागि मिडियामा आउन बाध्य भएको रुँदै सुनाइन् ।

आफू अन्यायमा परेको भन्दै उनले भनिन्,‘केशवले निकै टर्चर दियो, टर्चर पनि यतिसम्म कि मर्नु कि बाँच्नुसम्मको दियो । अहिले उसले बारम्बार छोरा र मलाई मार्ने धम्की दिन थालेको छ । मलाई कतैबाट न्याय नमिलेपछि मिडियामा आएकी हुँ ।’

‘सात–सात घण्टा नियन्त्रणमा लिएर हतियार देखाउँदै उसले मेरो खाली चेक जबरजस्ती लगेको छ । त्यसमा पनि मेरो खाता बन्द गरेर फेरि त्यही चेकलाई हनुमानढोकामा बाउन्स गर्न पुगेको रहेछ,‘ उनले अघि भनिन्, ‘उसले मेरो बैंकमा भएको रकम पनि रोक्न लगाएको छ । अहिले एक्लो छोरा र मेरो बिचल्ली भएको छ ।’

श्रीमानले दुःख दिएपछि लामा गुरु भएको बताउँदै उनले भनिन्, ‘म पहिलेदेखि नै दुःख भोग्दै आएकी छु । तीन सन्तानलाई हुर्काएर बसेको एकल महिला हुँ । पहिले श्रीमानले दुःख दियो । अहिले यो केशवले दुःख दिएको छ । त्यसले मलाई मार्छ भने पनि सिधै मेरो छातिमा गोली हानेर मारेको भए हुने । तर, बारम्बार मेरो एक्लो छोरालाई मार्न धम्की आउन थालेको छ । ममाथि निकै अन्याय भएको छ ।’

उनीहरुले बन्धक बनाएर छाडेलगत्तै महानगरीय प्रहरीवृत्त स्वयम्भूमा अन्याय परेको भन्दै पुग्दा आफ्ना कुराको सुनुवाइ नभएको भीमसुवाले गुनासो गरेकी छन् । त्यसपछि जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दिन जाँदा दर्ता नगरेको बताइन् ।

“पहिले श्रीमानले दुःख दियो । अहिले यो केशवले दुःख दिएको छ । त्यसले मलाई मार्छ भने पनि सिधै मेरो छातिमा गोली हानेर मारेको भए हुने । तर, बारम्बार मेरो एक्लो छोरालाई मार्न धम्की आउन थालेको छ । ममाथि निकै अन्याय भएको छ ।”

राष्ट्रपतिको कार्यालय,प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानवअधिकार आयोगसहित १२ वटा कार्यालयमा प्रमाणको रुपमा सिसिटिभी फुटेजसहित निवेदन पेश गरे पनि आजसम्म कुनै जानकारी नआएको गुरु भीमसुवाको दुःखेसो छ ।

सम्बन्धित निकायसँग आफूलाई न्याय दिन माग गर्दै भनिन्, ‘मानव सेवा र शान्तिको बाटोमा अहोरात्र खटिने क्रममा मैले जीनवमा कसैको कुभलो कहिल्यै चिताइन । तर ममाथि नै अन्याय भएको छ । अहिले मेरो अघिपछि कोही छैन । न्याय पाउने आश मरिसक्यो । न्यायको लागि कति ठाउँ धाएँ । तर न्याय पाएको छैन ।’

भन्छिन्, ‘यो देशमा न्याय नै रहेनछ, राम्रो मान्छेलाई केही कामै नहुने रहेछ, नराम्रोको मात्रै काम हुने रहेछ ।‘

प्रहरी प्रशासन नै दोहोरो भूमिकामा

यता महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले उक्त घटनाबारे आफूलाई कुनै जानकारी नभएको अभिव्यक्ति दिएका छन् । प्रहरीमा यस किसिमका उजुरीहरु दिनहुँ हजारौँको संख्यामा आउने गरेको उनले बताए ।

तर, उनले त्यो कुरा अस्वीकार गरे पनि प्रहरी प्रधान कार्यालयले असार १६ गते पीडित पक्षहरु महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिन पुगेको जानकारी दिएको छ ।

प्रहरी मुख्यालयका प्रवक्ता टेकप्रसाद राईले भने, ‘उहाँ पीडित हाम्रो कार्यालयमा गत असार २० गते आउनुभएको रहेछ । यसअघि १६ गते उहाँ प्रहरी परिसरमै गएको देखिएको छ । तर,उहाँको उजुरी के कति कारणले दर्ता भएन । त्यसबारे जानकारी नै छैन ।‘

को हुन् केशव तनावासु ?

धुकुछु कन्स्ट्रक्सन कम्पनीका सञ्चालक केशव तनावासु निर्माणाधीन उच्च अदालतका ठेकेदार पनि हुन् । भक्तपुर नगरपालिका ८ घर भई हाल काठमाडौँ महानगरपालिका १० बस्ने तनावसुले बौद्ध धर्म गुरु भीमसुवालाई बन्धक बनाएर जबरजस्ती खाली चेकमा हस्ताक्षर गर्न लगाई आफैंले ५ करोड १४ लाख ६० हजार रुपैयाँ भरेर बाउन्स गरेको पीडितको आरोप छ । अर्कै व्यक्तिको लेनदेनमा निर्दोष लामा धर्मगुरुलाई फसाएर पैसा असुल गर्ने उद्देश्यले तनावासुले ज्यानै मार्नेसम्मको धम्की दिने गरेको गुरु निकटका एक युवकले बताए ।

उनका अनुसार ती ठेकेदार भनिएका तनावासुले आफ्ना उच्चपदस्थ व्यक्ति,प्रहरी प्रशासनदेखि अदालतसम्मको पहुँच पुर्याएको भन्दै पीडित लामालाई केही पनि गर्न नसक्ने दबाब दिँदै आएका छन् । तीन महिनादेखि एक्ली महिलालाई जे पनि गर्नेसम्मको उनले चेतावनी दिएको बताइन्छ ।

पहुँचको आडमा एउटी महिलामाथि ज्यादती हुनुले कानुनी प्रशासनकै मिलेमतो भएको पुष्टि हुने भन्दै उनले ती ठेकेदारमाथि कारबाहीको माग गरेका छन् । साथै,मुलुकी अपराधसंहिता २०७४ को दफा २११,२१२ को अपहरण र बन्धक बनाएको कसुरमा उजुरी लिन नमानेपछि तनावासुविरुद्ध जिल्ला अदालत काठमाडौँमा अपराधिक बल मुद्दामा जाहेरी दिएको ती युवकले बताए ।

घटना के हो ?

धुकुछु कन्स्ट्रक्सन कम्पनीका सञ्चालक केशव तनावासु र अस्का कन्स्ट्रक्सनका सञ्चालक बिनोदकुमार तामाङबीच जापानको निको शहरमा स्वयम्भु स्तुपा निर्माण गर्न एनपीओ आस्पा जापानसँग अस्का कन्स्ट्रक्सनले सम्झौता गरेको थियो ।

सम्झौताअनुुसार धुकुछु कन्स्ट्रक्सन कम्पनीका सञ्चालक तनावासुले गुरु रिम्पोछे ट्रष्टको खातामा तीन करोड रुपैयाँ जम्मा गरे । उक्त रकम विनोदकुमार तामाङले बुझे । तर कोराना महामारीका कारण काम गर्न सकेनन् । उनले सहमतिअनुसार काम गर्न नसकेपछि केशव तनावासुलाई विश्वास दिलाउन आफ्नो हस्ताक्षरसहित चार करोडको मेघा बैंकमा रहेको खाली चेक दिए । त्यही सहमतिलाई तनावासुले तोडेर तामाङ्गको चेक बाउन्स गराई बैकिङ्ग कसुरमा उजुरी हाले । त्यो मुद्दा अहिले उच्च अदालतमा विचाराधीन छ ।

सोही रकम तनावासुले रिम्पोछे ट्रस्टकी अध्यक्ष भीमसुवा गुरुङमार्फत असुल गर्न खोजेको घटनाक्रमले देखाउँछ ।

टिप्पणीहरू