सुत्केरी हुँदा जागिर चट्

सुत्केरी हुँदा जागिर चट्

महिला कर्मचारीले सुत्केरी हुँदा तीन महिनाभन्दा बढी झण्डै सय दिन बिदा पाउने व्यवस्था छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ दफा १३ अनुसार निजी, सरकारी, गैरसरकारी संघ–संस्थामा कार्यरत कर्मचारीले सुत्केरी हुनुअघि र पछि कम्तीमा ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ । तर चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत महिलालाई यस्तोमा कामबाटै निकालिएको छ ।

डा. विजयचन्द्र आचार्य कार्यकारी निर्देशक हुँदा भरतपुरकी लक्ष्मी खड्कालाई क्यान्सर अस्पतालमा जागिर मिलेको थियो । २०७५ वैशाख २६ गतेबाट अप्रेसन थिएटरको पोष्टअप आईसीयूमा एटेन्डेन्टको रूपमा कार्यरत उनले बच्चा जन्मिनु अघिल्लो दिनसम्म पनि काम गरेकै थिइन् । २०७७ चैत ९ गते नानी पाएकी उनले भनिन्, ‘८ गतेसम्म ड्युटी गरेकी छु ।’ तर सुत्केरी भएपछि बिदामा बसेर पुनः काममा जाँदा अस्पताल प्रशासनले सहजीकरण नगरेको र कामबाटै हटाएको उनले बताइन् ।

कार्यकारी निर्देशक डा. देजकुमार गौतमसहित क्यान्सर अस्पतालको वर्तमान सञ्चालक समितिमा पूरै एमालेको सेट छ । डा. विजयचन्द्र कांग्रेसनिकट भएपनि लक्ष्मीले एमालेको सिफारिसमा जागिर खाएकी थिइन् । क्यान्सर अस्पतालमै काम गर्दै जाँदा पछि माओवादीनिकट बन्न पुगिन् । त्यही राजनीतिक आस्थाको आधारमा अहिले उनको जागिर खोसिएको आरोप छ ।

सुत्केरी हुनुअघिबाटै लक्ष्मीले पछिका लागि जागिर बचाउन वार्ड इञ्चार्ज दुर्गा खनाल, ज्यालादारी एटेन्डेन्टका इञ्चार्ज सुकबहादुर, नर्सिङ इञ्चार्ज सविता पन्थीलगायत सबैसँग कुरा राखेकै थिइन् । ८ गते उपनिर्देशक कृष्णसागर शर्माकोमा जाँदा भेट भएन । सुत्केरी हुने दिन पनि वार्ड इञ्चार्जलाई फोन गरेर जानकारी गराएकी थिइन् । डेलिभरी भएको दुई महिनापछि कुरा गर्न जाँदा वार्ड इञ्चार्जले ज्यालादारी एटेन्डेन्टका इञ्चार्जलाई, ज्यालादारी एटेन्डेन्टका इञ्चार्जले नर्सिङ इञ्चार्जलाई, नर्सिङ इञ्चार्जले प्रशासकीय अधिकृतलाई र प्रशासकीय अधिकृतले डाइरेक्टरलाई भन्न पठाए । कार्यकारी निर्देशकलाई भेटेर कुरा गर्दा ‘एटेन्डेन्टको जिम्मा नर्सिङलाई दिएको छु’ भनेर फर्काइदिए । अब उनी कहाँ जाने ?

केही सीप नलागेपछि मजदुरहरूको हक, हितमा काम गर्छाैं भनेर आफूहरूलाई कार्यक्रममा बोलाउने अखिल नेपाल ट्रेड युनियन महासंघलाई गुहार्न पुगिन् लक्ष्मी । महासंघबाट केही पहल भएपछि अस्पतालबाट फोन आयो । पुनर्वहाली हुने भयो भनेर खुशी हुँदै गइन् । उपनिर्देशक डा. कृष्णसागर शर्माले ‘नेपाल सरकारले तीन महिना नपुगी सुत्केरीलाई काममा लगाउन पाइँदैन भनेको छ, तीन महिना पुगेपछि आउनु’ भनेर बोलाए । तर तीन महिनापछि जाँदा पनि झुलाउन खोजियो । फेरि ट्रेड युनियनलाई नै गुहारिन् । त्यसपछि बल्लतल्ल त्यही पोष्टअप आईसीयूमै खटाइयो ।

भर्खर तीन महिनाकी सुत्केरी । पहिलेजस्तो बिरामी उचाल्ने, राख्ने सामथ्र्य थिएन । अलि सजिलो ठाउँमा ड्युटी पारिदिन आग्रह गरिन् । तर तेस्रो दिनमै वार्ड इञ्चार्जले अब नाइट ड्युटीको उर्दी जारी गरिन् । लक्ष्मीले ‘तीन महिनाको बच्चा छोडेर म कसरी नाइट ड्युटी गर्न सक्छु र ?’ भन्दा वार्ड इञ्चार्जले ‘अरु कुरा थाहा छैन, माथिबाट आदेश छ, जागिर खाने भए सबै ड्युटी गर्नुपर्छ’ भनिन् । ‘जबकि सिष्टरहरूले सुत्केरी भएको एक वर्ष नपुगी नाइट ड्युटी गर्नुपर्दैन’, लक्ष्मीले भनिन्, ‘मलाई ज्यालादारीको भनेर पेलियो ।’

फेरि संगठनकै महिला विभाग चितवनकी अध्यक्ष सावित्री पौडेल आचार्यसँग यो दुःखेसो पोखिन् । अति नै गरेपछि पौडेलले वार्ड इञ्चार्जलाई हकारिन् पनि होला सायद । ‘तर आफूले नराम्रो केही नभनेको, भर्खरकी सुत्केरीलाई त्यसरी नाइट ड्युटी नराखिदिनू’ भन्दा वार्ड इञ्चार्जले नै ‘तँ को होस् ?’ भन्दै तँ–तँ र म–म गरेको पौडेलले बताएकी छन्् । लक्ष्मीमाथि अन्याय भएको र उनले न्याय पाउनुपर्ने सावित्रीको भनाइ छ ।

जेहोस्, सुत्केरीपछिको चौथो दिन काम गर्दागर्दै बिरामी भएर दुई दिन बिदामा बसेको बेला लक्ष्मीलाई वार्ड इञ्चार्जको फोन आयो । ‘नेताहरू लगाएर थर्काउन लाउनी ? अब तिमी मेरो वार्डमा भोलिबाट ड्युटी आउनुपर्दैन’ भनिन्् वार्ड इञ्चार्जले । तैपनि लक्ष्मी भोलिपल्ट ड्युटी गइन्् । के कसो भएको हो ? भनी बुझ्दा वार्ड इञ्चार्जले सीधै ‘तिमीले माथिको सोर्सफोर्स लगाउने ? अब कसलाई भन्ने हो भन । म राख्न सक्दिनँ’ भनेको लक्ष्मी बताउँछिन्् । त्यसपछि लक्ष्मीले ज्यालादारी एडेन्टेन्डका इञ्चार्जसित आफूलाई बागवानीतिर लगाइदिन अनुरोध गर्दा उनले नर्सिङ इञ्चार्जसित कुरा गर्नुपर्ने बताए भने नर्सिङ इञ्चार्ज पन्थीले ‘डेलिभरी भएर घरमा बस्ने ज्यालादारीलाई दोहो¥याएर काममा लगाइँदैन’ भनेको लक्ष्मीले सुनाइन् ।

त्यसपछि फेरि काममा जाने कुरै भएन । अब अरु डेलिभरी हुनेलाई चाहिँ राख्छन्् कि राख्दैनन् ? भन्ने भयो लक्ष्मीलाई । त्यसका लागि साथीहरूसित सम्पर्कमा रहिरहिन् । ‘त्यही असोजमा ज्यालादारीमै काम गर्ने इ.एन.टी. वार्डकी साथी खिला डेलिभरी हुनुभयो’, लक्ष्मीले भनिन्, ‘तीन महिनापछि उहाँले चाहिँ जागिर खान पाउनुभयो ।’ यसमा उनको प्रश्न छ, ‘मैले डेलिभरी भएर जागिर खान पाउँदिन भने अरुले किन पाए ? मलाई एउटा नियम, अरुलाई अर्काे नियम यस्तो पनि हुन्छ ?’

यसैगरी ‘म यस्तो जागिर गर्दिनँ’ भनेर ४/५ महिना काम छोडी बसेकी रजनी बिकलाई समेत पुनर्वहाली गरिएको लक्ष्मीले बताइन् । ‘मलाई चाहिँ जागिर खान्छु, मेरा बच्चाहरूको भविष्यका लागि भए पनि जागिर खानुपर्छ भनी प्रयत्न गर्दा सुत्केरी भएर बिदामा बसेको निहुँमा जागिरबाट निश्कासन गरिनु सरासर दलगत राजनीति त हो नि !’ उनले भनिन् ।

अस्पताल प्रशासनले भने लक्ष्मीले राम्ररी काम नगरेकाले हटाएको बताएको छ । ‘काम नगर्नी, ठग्नी † त्यस्तो धेरैलाई जागिरबाट निकालेको छु । उहाँको पनि त्यही कुरा आयो भन्नुभयो डाइरेक्टरले’, लक्ष्मी भन्छिन््, ‘यसो भन्दा मलाई साह्रै दुःख लागेको छ । मैले काम गर्ने र नगर्ने कुरा मैसँग काम गर्नेहरूलाई थाहा छ । मेरो डिपार्टमा काम गर्ने जो कोहीलाई सोधे हुन्छ ।’, उनले थपिन्, ‘पोष्टअप आईसीयुमा बिरामीको चापाचाप हुँदा खाने फुर्सद पनि हुन्थेन । अप्रेसन थियटरबाट दौडेर बिरामी लिन जाँदा प्रेग्नेन्ट भएको महसुस पनि हुन्थेन । तिनै दिदीहरूले भन्नुहुन्थ्यो, आफ्नो ज्यानको माया छैन ? भनेर । पहिले उहाँहरूले नै मेरो कामको तारिफ गर्नुभयो । अहिले यस्तो आरोप !’

यसरी सुत्केरीको पेटमा लात हानेको निहुँमा कार्यकारी निर्देशक डा. देज गौतममाथि गत असार २३ मा अस्पतालमै झण्डै कुटपिट भएको थियो । अखिल नेपाल ट्रेड युनियन महासंघलगायत श्रमिक संघ–संगठनका नेताहरूले कार्यकक्षमै उनलाई झ्याँक्न खोजेका थिए । यस विषयमा सिडिओ कार्यालयमा छलफल चलेको थियो । जेहोस्, लक्ष्मी खड्कालाई पुनर्बहाली नगरेसम्म आफूहरूको संघर्ष जारी रहने अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनका अध्यक्ष यदुमणि कँडेलले बताएका छन् । डा. देजले राजनीतिक पूर्वाग्रहका आधारमा काम गर्ने र अरुलाई टेर्दै नटेर्ने गरेको उनीहरूको आरोप छ ।

हुन त क्यान्सर अस्पतालमा सबैभन्दा बढी राजनीतिकरण अहिले डा. देजकै पालामा भइरहेको यस अस्पतालकै पूर्वकर्मचारी पनि बताउँछन्् । बताइएअनुसार भानुभक्त ढकाल स्वास्थ्यमन्त्री हुँदा अहिलेको सञ्चालक समिति बनेको हो, अहिले नेकपा एमाले चितवनको अध्यक्षसमेत रहेका रामप्रसाद न्यौपाने भानुभक्तका साथी हुन्, न्यौपानेकै सिफारिसमा यो सञ्चालक समिति चयन गरिएको र डा. देजलाई कार्यकारी निर्देशक बनाइएको हो । समाजसेवीको नाममा न्यौपाने पनि बोर्ड सदस्य छन् ।

टिप्पणीहरू