स्पेन पनि तात्यो, पाँच सयबढीको मृत्यु

स्पेन पनि तात्यो, पाँच सयबढीको मृत्यु

स्पेनमा पछिल्लो एक सातादेखि अत्यधिक गर्मी भएको छ । तातो हावाका कारण धेरैले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरणअनुसार हिजोसम्म तातो हावाका कारण पाँच सय १० जनाको ज्यान गएको छ । त्यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ ।

स्पेनमा जुलाई १० तारिखदेखि अत्यधिक गर्मी शुरु भएको हो । अहिले त्यहाँको जनजीवन निकै कष्टकर बनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तातो हावा शुरु भएको पहिलो हप्ता जुलाई १० देखि १६ सम्म डेढ सय बढीको ज्यान गएको हो ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरूले हिजोसम्म पाँच सय १० जनाको मृत्यु भएको बताएका छन् ।

यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक हुन् । उनीहरूमध्ये तीन सय २१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेको बताइएको छ ।

उता, बेलायतमा पनि उखरमाउलो गर्मी भएको छ । यता चीनको पूर्वी भेगमा पनि यो वर्षको तापक्रम माथि पुगेको हो ।

जाडो याममा अत्यधिक चिसो र गर्मीमा अधिक गर्मीको कारण जलवायु परिवर्तनको असर भएको बताइएको छ । गर्मी याममा अधिक तापक्रम हुने गरेका भूमध्य रेखाका कतिपय मुलुकमा त्यस्तो देखिएको छैन । हिउँदमा यदाकदा मध्यपूर्वका मुुलुकका मरुभूमिमा हिउँ समेत पर्नुले जलवायु परिवर्तनको असर निकै भयावह हुने छाँट देखिएको हो ।

टिप्पणीहरू