जातीय विभेद र अन्तरजातीय विवाहको सम्बन्ध

जातीय विभेद र अन्तरजातीय विवाहको सम्बन्ध

जातीय विभेद विद्यमान नेपाली समाजको ठूलै समस्या हो । घर, टोल र समाज सबैतिर जातीय विभेद पाइन्छ । विश्व विज्ञान र प्रविधिको युगमा निकै अघि बढिसक्दा पनि नेपाली समाजमा अझै ‘माथिल्लो’ र ‘तल्लो’ जातबीच भेदभाव कायम छ । जातीय विभेद एक सामाजिक कुप्रथा पनि हो ।

नेपालीहरुको हरेक श्वासमा जात छ । मानौं, जातबिना उनीहरु बाँच्न सक्दैनन् वा समाजले बाँच्न दिँदैन । नेपालको संविधानले सबै नागरिकलाई सम्मान र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार दिएको छ । तर, कथित ‘माथिल्लो’ जातिले तल्लो जातिको हकअधिकार खोसेका छन् ।

परम्परागत सोचका कारणले हाम्रो समाजले अझै पनि जातीय विभेदबाट उन्मुक्ति पाउन सकेको छैन् । सबै मानिसहरु स्वतन्त्र जन्मिन्छन् । तर, जन्मिसकेपछि जातीय आधारमा व्यवहार गरिन्छ । जातीय विभेदकै कारण कतिपयले मृत्युवरणसमेत गर्नुपरेको छ ।

जातीय विभेद यति व्याप्त छ कि मान्छे मार्न पनि पछि नहटेका धेरै समाचार आउने गरेका छन् । जातीय आधारमा कसैमाथि भेदभाव गरिनु कानूनको गम्भीर उल्लंङघन पनि हो । एक्काइसौं शताब्दीसम्म आइपुग्दा जातीय विभेदबाट छुटकारा पाउन नसक्नु नेपाली समाजको निम्ति लज्जास्पद विषय बनेको छ । जातीय विभेदका कारण दिनहुँजसो अप्रिय घटनाहरु हुने गरेका छन् तर सम्बन्धित निकाय र सरकार मौन देखिन्छन् ।

जातीय विभेद अन्त्यका लागि सरकारले थुप्रै ऐनकानून ल्याएको छ । तर यसले खासै प्रभाव पार्न सकेको छैन् । कमजोर न्याय प्रणाली र नेपालीको सोचाइमा परिवर्तन नआउनु जातीय विभेदको मूल कारण हो । जबसम्म समाजको सोचमा परिवर्तन ल्याउन सकिँदैन तबसम्म दलितहरु पिल्सिरहने नागरिक अगुवाहरुको बुझाइ छ ।

हुनतः संविधानले जातीय विभेद र छुवाछुतलाई गम्भीर अपराधको रुपमा लिएको छ । जातीय विभेद तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) ऐन, २०७५ को मूल ऐनको दफा ७ को उपदफा (१) को खण्ड (क) मा कसैले कसैमाथि छुवाछुतजन्य कार्य गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

कानूनले जात वा जातिको आधारमा उच्च वा नीच देखाउन, जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचारप्रसार र जातीय विभेदलाई प्रोत्साहन गर्न रोक लगाएको छ । तरपनि जातीय विभेद पूर्णरुपमा अन्त्य हुन सकेको छैन । यसबाट दलित र गैरदलितमाथिको अन्तर झन फराकिलो हुँदै गएको हो ।

छुवाछुत अन्त्यको निम्ति पटकपटक आन्दोलन पनि भएका छन् । समाजमा विभेद व्याप्त छ भन्ने उदाहरण रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा घटेको घटनाले प्रष्ट पार्छ ।

अन्तरजातीय प्रेम विवाहका कारण घटेको जघन्य अपराधले अझै पनि कतिको आङ सिरिङ्ग हुन्छ । आफ्नो प्रेमिका लिन पुगेका नवराज विकसहित छ युवाको ‘नरसंहार’ भयो । अहिले पनि तिनका परिवार न्यायकै खोजीमा छन् ।

त्यसैगरी, दलित हुनुपरेकै कारण ज्यान गुमाउनुपरेकी अर्की बालिका हुन् अंगिरा पासी । माथिल्लो जातसँग प्रेममा परेकी उनलाई मारेर झुण्डाइयो । यी सबै घटना प्रतिनिधिमूलक पात्र मात्र हुन् । जबसम्म दलित र गैरदलितबीचको भिन्नता हट्दैन । तबसम्म यस्ता अनुचित घटना घटिरहन्छ । समाजमा प्रतिष्ठित मानिएका व्यक्तिहरु समेत यस्ता घटनामा मुछिएका छन् ।

जातीय विभेदसँग जोडिएको अन्तरजातीय विवाहलाई अझै पनि हाम्रो समाजले स्वीकार्न सकेको छैन । जातीय मान्यता स्वतन्त्रताको हकभन्दा पनि माथि भएको पाइन्छ । मानवले मानवसँग गरेको विवाह कदापि अन्तरजातीय नहुने नागरिक अगुवाहरु बताउँछन् ।

कानूनले विवाह गर्ने उमेर २० वर्ष निर्धारण गरेको छ । यो उमेर पुगेपछि आफ्नो जीवनको निर्णय आफैँले लिन सक्ने भएकाले कानूनले सो व्यवस्था मिलाएको हो । २० वर्ष पुगेका केटी÷केटीले स्वेच्छाले विवाह गर्न सक्नेछन् भन्ने कानूनी प्रावधान छ । उनीहरु चाहेको खण्डमा श्रीमान–श्रीमती भएर बस्न सक्छन् ।

यसमा जातीय र सजातीय भनेर छुट्याउन मिल्दैन । तर, व्यवहारमा भने यो नियम लागू हुन सकेको छैन । समतामूलक समाज सबैको परिकल्पना हो । संविधानले नै जातीय छुवाछुत हटाउन जोडबल गरिरहेको छ । सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिकलगायत हरेक क्षेत्रबाट जातीय छुवाछुत नहटाउने हो भने यो थुप्रैको मृत्युको कारण बन्न सक्छ । अन्तरजातीय विवाहले सम्बन्धविच्छेदको दर वृद्धि गरिरहेको छ ।

पहिलेभन्दा धेरै कडाइ गरिएको छ : अधिवक्ता महर्जन

अधिवक्ता पुनदेवी महर्जनले कानून जातीय व्यवस्थाभन्दा टाढा नरहेको बताइन् । पहिलेभन्दा अहिले कानून केही हदसम्म कडा भएको उनको भनाइ छ । तर पनि समाजमा जातीय विभेद यथावत् रहनु भनेको मानवता हराएको अवस्था भएको उनी बताउँछिन् ।

उनको अनुसार ऐनकानून आए पनि नेपाली समाजमा चेतनाको विकास नभएको पुष्टयाईं हो यो । अरु पनि मानव हुन् भनेर समाजले स्वीकार्न नसकेकाले जातीय विभेदबाट उन्मुक्ति पाउन नसकेको उनको भनाइ छ ।

अन्तरजातीय विवाहको दुई पाटा भएको अधिवक्ता महर्जनले सुनाइन् । यस्तो खाले विवाहले सिक्ने र सिकाउने मौका दिने भएकाले यसलाई सकारात्मक रुपमा पनि लिन सकिने उनको ठम्याइ छ । ‘अन्धविश्वास, कुरीति हटाउनदेखि लिएर नयाँ पुस्तालाई प्रोत्साहन गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ’, उनले भनिन् ।

अर्कोतिरबाट हेर्ने हो भने विजातीय विवाहको जोखिम पनि उत्तिकै छ । प्रतिशोधमा आएर हत्या गर्नेसम्मका घटनाबाट समाज अछुत छैन । संविधानमा उल्लेख भएका विषयहरु आत्मसात् गर्न सकियो भने यसले निकै परिवर्तन ल्याउनेमा उनी विश्वस्त देखिन्छिन् ।

विवाह नै संकटमा परेको छ : लेखक परियार

लेखक तथा नागरिक अभियन्ता सन्तोष परियारले विवाह नै संकटमा परेको औंल्याएका छन् । जुनसुकै क्षेत्रमा सर्वप्रथम जात आउने भएकाले भोलिका दिनमा विवाह झनझन् जटिल हुने उनको भनाइ छ । भन्छन्, ‘जातीय विभेद समाजको तह–तहमा छ । आफू कहाँ उभिएको छौं त्यसले मात्र फरक पार्छ ।’ मूलधारमा पनि जातीय विभेदका कुराले स्थान नपाएकाले दलितहरु हेपिएको लेखक परियारको ठहर छ ।

जातीय भेदभाव हटाउनुपर्छ भनेर पटकपटक आवाज उठाए पनि सुनुवाइ नभएको उनी दुःखेसो पोख्छन् । २०६२–६३ को आन्दोलन पछि जातीय विभेदले झन् उग्र रुप लिएको उनी दाबी गर्छन् । ‘समाजको व्यवहारले गर्दा अन्तरजातीय विवाह गरेका जोडी पनि भित्रभित्रै पिल्सिन बाध्य छन्,’ उनले भने ।

गैरदलितभित्र पनि विभेद छ : मानवशास्त्री गिरी

मानवशास्त्री मधु गिरीले गैरदलित र दलितबिच मात्र नभई हरेक जातमा यो समस्या भएको बताए । गैरदलितमा समेत विभेद हुने गरेको उनको बुझाइ छ । ‘बाहुन र क्षेत्रीबीच नै विभेद देखिन्छ । आफूभन्दा तल भयो कि हेप्ने प्रवृत्ति हामी कहाँ छ’, उनले भने ।

अन्तरजातीय विवाहबाट नयाँ थरको उत्पत्ति भइरहेको उनले सुनाए । विवाह कहिल्यै पनि स्वतन्त्र हुन सक्दैन् । उनका अनुसार संस्कृति, घरपरिवार आफन्त र ‘लिनु र दिनु’ कुरा आउने भएकाले पनि अन्तरजातीय विवाहलाई मान्यता दिन नसकिएको हो ।

जघन्य अपराध निम्त्याउँदै अन्तरजातीय विवाह

अन्तरजातीय विवाहकै कारण मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ । घर निकाला, बोक्सीको आरोप, बालविवाहका घटना दिनहुँजसो घटिरहेको छ । दलित पुरुषलाई जबरजस्ती करणीको आरोपसमेत लगाउने गरिएको छ । अन्तरजातीय विवाहकै कारण अपहेलित भएर बाँच्नुपर्ने बाध्यता छ ।

भान्छामा प्रवेश गर्न नदिने, कुल देवताको पूजा गर्न नदिने, अन्तरजातीय विवाह गरेका दम्पतीलाई समुदायमा बस्न नदिनेलगायतका रुढीवादी हटाउन सरकारीपक्ष असमर्थ रहेको आरोप नागरिक अगुवाहरुले लगाएका छन् । जबसम्म मानव–मानवबीचको विभेद अन्त्य हुँदैन तबसम्म मुलुकले सभ्य समाजको निर्माण गर्न नसक्ने उनीहरुको बुझाइ छ ।

गैरदलितमा कस्तो प्रभाव पारेको छ ?

अन्तरजातीय विवाहले दलितलाई मात्र नभई गैरदलितलाई पनि प्रभाव पारेको छ । यस्ता विवाह गरेका गैरदलित पनि समाजबाट अपहेलित भएका छन् । समाजको रुखो बोलीवचन उसले पनि सुन्नुपर्छ । तर, यी कुराहरु त्यति बाहिर आएको पाईंदैन ।

टिप्पणीहरू