पाडो लिन गएको, हात्ती नै पो पाएको

पाडो लिन गएको, हात्ती नै पो पाएको

सुरुमा सानो योजना थियो । वर्षामा मान्छे वारपार गर्नसकिने सामान्य पुल बनाउने हिसाबले काम सुरु गरियो । २०७७/०७८ मा वडाको विनियोजित बजेटबाट आठलाख, भौतिक पूर्वाधार विकासबाट १० लाख र वन तथा वातावरणबाट प्राप्त १० लाख गरी रु. २८ लाखले काम अगाडि बढाइयो । किनकि पूर्वीनवलपरासीको गैंडाकोट–८ स्थित जयश्री खोलामा जेजस्तो भएपनि पहिल्यैदेखि एउटा पुल आवश्यक हो ।

हिउँदमा घटेर सुक्ने जयश्री खोला वर्षामा बढ्दा मान्छेहरु वारपार हुनसक्ने अवस्था हुँदैन । खोलापारि जङ्गलतर्फ बस्ने बालबालिकालाई वर्षामा विद्यालय आउजाउ गर्नै समस्या छ । विद्यालय र बजार पनि वारि मात्रै हो । खोला बढ्दा दैनिक उपभोग्य वस्तु किन्न र जागिर–व्यवसायमा जान पनि पारिकालाई निकै गाह्रो छ । वारिका किसानलाई पारि आफ्नो खेतमा काम गर्न जान, घाँसदाउराका लागि मान्छेहरुलाई जङ्गल जान–आउन वर्षामासमा खोलाले सधैं छेक्ने गर्छ । तैपनि दशकौंदेखि हुन नसकेको पुल बनाउने काम निर्वाचित जनप्रतिनिधिहरु आएपछि थालनी भएकोमा स्थानीय खुसी छन् ।जयश्री खोला पुल निर्माण समिति बनाएर सानै भएपनि पुल बनाउने काम यसअघिका जनप्रतिनिधिबाट सुरु त गरियो तर गैंडाकोट नगरपालिकाका इन्जिनियरले थोरै बजेटको पुल कमजोर हुने भन्दै पछि एक करोड ६६ लाखको स्टिमेट लागत बनाइदिए । ठेकेदार पनि इन्जिनियरले नै चिनाइदिए । सोही अनुसार पुल निर्माण समितिमार्फत् ठेकेदार लगाएर टुक्रे बजेटबाट भएपनि पुलको काम अगाडि बढाइयो । २०७८/०७९ मा वडाको विनियोजित बजेटबाट १५ लाख र भौतिक पूर्वाधार विकासबाट २५ लाख गरी रु. ४० लाख पुललाई प¥यो ।

सो पैसा पनि सकिएपछि पुल निर्माण कार्य रोकिएको थियो । अब कहाँबाट कति बजेट आउला ? पुल बनाइसक्न अरु कति वर्ष लाग्ला ? अन्योलको स्थिति रहिआएकोमा अब त्यो चिन्ता हटेको पुल निर्माण समितिका अध्यक्ष काशीराम सापकोटा बताउँछन् । किनकि हालै २०७९ मा निर्वाचित जनप्रतिनिधिले यो पुललाई ‘मेघा प्रोजेक्ट’ मै राखेर मोटै बजेट विनियोजन गरेका छन् । नगरपालिकाबाट पूर्वाधार विकास अन्तर्गत ७५ लाख रुपैयाँ यो पुललाई विनियोजन गरिसकिएको नवनिर्वाचित वडा अध्यक्ष प्रेम सापकोटाले जानकारी दिए । प्रदेश सरकारबाट पनि यसका लागि केही रकम ल्याइने उनले बताए । अब पुल निर्माण समिति मार्फत् नभई नगरपालिकाले सीधै ठेकेदार लगाउने र नियमित रुपमा काम गराई छिट्टै पुल निर्माण सम्पन्न गराइने वडाअध्यक्ष सापकोटाले बताएका छन् ।

टिप्पणीहरू