भारतीयको योजनामा नेपालीको ठगी, मुख्य निशानामा पेन्सनर अमेरिकी

भारतीयको योजनामा नेपालीको ठगी, मुख्य निशानामा पेन्सनर अमेरिकी

अहिले जसरी सूचना प्रविधिको विकास भएको छ, त्यसैगरि साइबर अपराधीहरु आपराधिक गतिविधिमा सक्रिय हुन थालेका छन् । प्रविधिमा रहेका केही कमजोरीलाई प्रयोग गरेर पछिल्ला दिनमा नसोचेका अपराधिक घटनाहरु भएका हुन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले चलाएको ‘अपरेशन’ मा अनलाइन प्रविधिमार्फत ठगी गर्ने एउटा ठूलो गिरोह हालै फेला परेको हो । उक्त गिरोहले नेपाल र भारतमा कल सेन्टर खोली अमेरिकी नागरिकहरुलाई विगत लामो समयदेखि ठगी गर्दै आएको प्रहरीको अनुसन्धानबाट पुष्टी भएको हो ।

काठमाडौँको धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि‘ ले भारतीय नागरिकहरुको सहयोगमा अनलाइनमार्फत् विभिन्न देशका नागरिकलाई ठग्ने गरेको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरिक्षक नविन्द अर्यालले बताए । सोही आरोपमा प्रहरीको साइबर व्युरोले दुई भारतिय नागरिकसहित १३ जनालाई पक्राउ गरेको हो ।

पेन्सन भएका अमेरिकी नागरिक मुख्य निशानामा

उक्त गिरोहको मुख्य निशानामा अमेरिकी नागरिक पर्ने गरेको प्रहरीको प्ररम्भिक अनुसन्धानमा खुलेको छ । त्यसमा पनि जागिरबाट अवकाश पाएका पेन्सन लिने गरेका व्यक्ति हुन् । उनीहरुले पाएसम्म त्यस्तालाई भुलभुलैयामा पार्ने गरेको देखिएको हो ।

पक्राउ परेकाहरुले माईक्रोसफ्ट कम्पनीको कल सेन्टरको नाममा व्यक्तिगत कम्प्युटर र ल्यापटपमा गलत सूचना पठाएर पीडितलाई प्रलोभनमा पारेको देखिएको हो । सह–एजेण्ट (सह एजेण्ट) एप्सबाट कोड पठाएर पीडितको वित्तीय जानकारी संकलन गरि भारतीय नागरिक मनिष तिवारीले अर्का भारतीय नागरिका सुपरभाइजर निशान्त गैरेलाई पठाउने गर्थे । ती सूचना गैरेले भारतमा सञ्चालित कल सेन्टरलाई टेलिग्राम एप्सबाट पीडितको वित्तीय जानकारी लिन युजर आइडीकोे डिटेल थाहा पाएपछि बैंक खाता ह्याक गरेर उक्त रकम ट्रान्सफर गर्ने गरेको पाइएको हो ।

‘गिरोहले प्रविधिको दुरुपयोग गरि अमेरिकी नागरिकलाई ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । अमेरिकामा पेन्सन लिएर बसेकाहरुको सूचना टेलिग्राम एपमार्फत भारतमा सूचना पठाएर रकम झिकेको देखिन्छ,’ एसएसपी अर्यालले भने,‘ उनीहले प्रत्येक व्यक्तिको खाताबाट सात हजार डलर झिक्ने गरेको पाइयो ।’यसरी भयो अनुसन्धान

विभिन्न देशमा माईक्रोसफ्ट, गुगललगायत ठुला प्रविधियुक्त संस्थाहरुको कल सेन्टर खोलिएको हुन्छ । जसले प्रविधिलाई सहज रुपमा प्रयोग गर्न सेवा प्रदान गर्छ । तर, तीनै कल सेन्टरले नै सेवाग्रहीलाई ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । केही समय अघि भारतमा त्यस्तै किसिमका कल सेन्टरको नाममा ठगी गर्ने गिरोहलाई भारतीय प्रहरीले पनि पक्राउ गरेको थियो ।

सोही आधारमा नेपालमा रहेका धेरैजसो कल सेन्टरलाई नेपाल प्रहरीको साइबर ब्युरोले निगरानी गर्दै आएको बताइन्छ । कतिपय सूचनाको आधारमा व्युरोले धुम्बाराहीको कल सेन्टरमा आबद्ध गिरोहलाई नै नियन्त्रणमा लिन सफल भएको प्रहरीको दाबी छ ।

हाल छापा मारिएको कल सेन्टर विकसित मुलुकको समयअनुसार रातको समयमा मात्र खुल्ने गरेकाले पनि आशंका बढाएको हो । त्यसक्रममा ठूलो गिरोह नै संलग्न रहेको तथ्य प्राप्त भएको प्रवक्ता अर्यालले जानकारी दिए । यसबाट अमेरिकालगायत अन्य मुलुकका नागरिक पनि ठगिएको हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको व्युरोको भनाइ छ ।

‘हाम्रो अनुसन्धानमा हालसम्म धेरैजसो अमेरिकी नागरिक ठगिएको पाइएको छ । तर बुझ्दै जाँदा नेपाललगायत अन्य देशका पनि ठगिएको हुन सक्ने भएकाले हामीले थप अनुसन्धान गरिरहेका छौँ,’ प्रवक्ताले भने । पक्राउ परेका सबैलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले सोही बमोजिम मुद्दा अघि बढाउने तयारी गरिएको हो ।पक्राउ परेकामा कल सेन्टरका सञ्चालक बुढानीलकण्ठ नगरपालिका, १२ कपन बस्ने ३३ वर्षीय विजय श्रेष्ठ, सुपरभाइजर भारतीय नागरिक ३२ वर्षीय गैरे र अर्का भारतीय २४ वर्षीय तिवारी हुन् । तिवारी र गैरे दुवै जना कल सेन्टरका सञ्चालक श्रेष्ठका प्रमुख सहयोगी भएको पाइएको छ ।

त्यस्तै धुम्बाराहीको कल सेन्टरमा काम गर्ने १० जना अन्य कर्मचारी पनि पक्राउ परेका छन् । जसमा काठमाडौैैंको रानीबारी बस्ने २२ वर्षे अमिन खड्का, लमजुङका २२ वर्षे करण गुरुङ, काभ्रेका ३५ वर्षीय अनोज लामा हुन् । यसैगरी २० वर्षकी आरुषी राई, २१ वर्षीया युबिना तामाङ, २३ वर्षे आरस तुलाधार, २६ वर्षीया सपना मग्राती, २९ वर्षीया टिका राउत, २४ वर्षीया सुनिता राउत र १९ वर्षे सागर श्रेष्ठ पक्राउ परेका छन् ।

टिप्पणीहरू