बोल्न थाले छोरी, जुर्मुराए बुहारी

बोल्न थाले छोरी, जुर्मुराए बुहारी

सौन्दर्य प्रतियोगिताको नाममा आठ वर्षअघि आयोजकले आफूलाई पेय पदार्थमा बेहोस बनाउने औषधि खुवाएर बलात्कार गरेको घटना एउटी युवतीले टिकटकमार्फत् सार्वजनिक गरिन् । लगत्तै मनोज पाण्डे स्वयम्भूबाट पक्राउ परे । घटना सार्वजनिक भएको भोलिपल्टै अर्की युवतीले पनि आफू सात वर्षअघि प्रधानाध्यापकबाट दुई वर्षसम्म लगातार बलात्कृत भएको बताइन् ।

काठमाडौंंकै एक विद्यालयका प्रधानाध्यापकले आफूलाई ‘ब्ल्याकमेल’ गर्दै दुई वर्षसम्म करणी गरेको उनैले भनेकी हुन् । उनले प्रहरीमा उजुर गरे पनि आरोपीलाई अझै नियन्त्रणमा नलिइएको भन्दै आक्रोश पोखिन् । विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको भन्दै गत साता काठमाडौंंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीविरुद्ध त्यहाँका तीन जना विद्यार्थीले उजुर गरे ।

आन्दोलनपछि शिक्षक पक्राउ परेका छन् । आफूलाई पढाउने शिक्षकले दुव्र्यवहार गरेपछि छात्राहरूले घटना सार्वजनिक गर्ने क्रम बढ्दै गएको छ । सुषुप्त अवस्थामा रहेका यौन दुव्र्यवहारको घटनालाई लिएर कलेजका छात्रा, विभिन्न संघसंस्थाका महिला कर्मचारीलगायत नर्सले पनि आफ्नो पीडा सार्वजनिक गरेका छन् । दुई महिनामा मात्रै दर्जनभन्दा बढी विद्यालयका छात्राहरूले आफूमाथि शिक्षकबाटै यौन दुव्र्यवहार भएको घटना बताएका छन् ।

विद्यार्थी थप आन्दोलित भएका छन् । कतिपय स्थानमा उनीहरूलाई न्याय मिलेको छ, कतिपय स्थानमा घटनालाई सामसुम पनि पारिएको छ । मोरङको लेटाङस्थित शिक्षा विकास माविमा सामाजिक तथा नैतिक शिक्षा पढाउने मनोज पौडेलले आफ्ना छात्राहरूमाथि सिलसिलाबद्ध रूपमा गरेको यौन दुव्र्यवहार प्रदर्शनको क्रममा आक्रोशित भीडको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको केही महिनाअघि ज्यान नै गयो ।

खबरदारी र न्यायका लागि छोरीहरूले बटुलेको यो आँट नेपाली समाजको सबैभन्दा सबल पक्ष हो, जुन स्वतःस्फुर्त छ । तर परिस्थिति जितको लागि त्यति सहज भने देखिँदैन । जब यस्ता घटना बाहिर आउँछन्, तब समाजले ती पीडित र परिवारका सदस्यलाई अनेक प्रश्न सोध्न थाल्छ । अनि उनीहरूले नै जवाफ बनाउँछन्, ‘छोरीलाई सम्हाल्न सकेनछन् । फलानोको इज्जत माटोमा नै मिल्यो । अब त्यसलाई कसले विवाह गर्छ ?’

विद्या सिकाउने र नयाँ ज्ञान दिने विद्यालय, संस्कार सिकाउने र हुर्काउने समाज अनि संरक्षण गर्न नसकेको राज्यको सुरक्षा संयन्त्रमाथि प्रश्न गर्न आज छोरीहरू निस्किएका छन् । खबरदारीको सुरुवात परिवारबाटै गर्नुपर्ने रहेछ । किनकि हिंसा परिवारभित्रैबाट भइरहेको तथ्यांकले देखाउँछ । महिला पुनःस्थापना केन्द्र (ओरेक) को गत वर्षको तथ्यांकअनुसार महिलाहरू चिनेजानेका र नजिकका आफन्तबाट नै बढी यौन हिंसामा परेका छन् ।

सबैभन्दा बढी ५६ प्रतिशत महिला तथा बालिका छिमेकीबाट, १५ प्रतिशत परिवारका सदस्यबाट प्रताडित भएको पाइन्छ । कतिपय आफ्नै बाबु, काका, मामा, ससुरा, देवरबाट बलात्कृत भएको तथ्यांकले देखाएको छ । १७ प्रतिशत आफूले आत्मीय ठानेका परिचितहरूबाट, ५ प्रतिशत साथीबाट, ३ प्रतिशत सेवाप्रदायक संस्थाका अधिकारीहरूबाट, २ प्रतिशत कानुनी एवं सामाजिक परम्पराअनुरूप विवाह नगरेका तर विवाहितसरह सँगै बसेका साथी (लिभिङ टुगेदर) बाट र ३ प्रतिशत अपरिचित व्यक्तिबाट बलात्कृत भएको तथ्यांक छ ।

यसले के संकेत गर्छ भने छोरीहरू आफ्नै भनिएकाको यौनजन्य क्रियाकलापबाट पीडित छन् । आफ्ना ठानिएकाहरूबाटै सुरक्षित नभएपछि छोरीहरू साहस बोकेर बाहिर आएका हुन् । सयौं छोरीहरू कालो भेषमा न्याय माग्न सडकमा निस्किएका छन् । जो जीवनको कुनै कालखण्डमा आफैं हिंसामा परेका, आफ्नै आफन्त, आमा, दिदी, भाउजू, साथीहरूमाथि अन्याय भएको देखेर दबिएको आवाजमा कुण्ठित थिए ।

आउँदो पुस्ताले यस्तो भोग्न नपरोस् र यही आन्दोलन नै अन्तिम आन्दोलन बनोस् भन्ने उनीहरूको चाहना हो । अहिलेको आन्दोलन परिवारभित्रैका भनिएहरूबाट भएका गलत हर्कतविरुद्धको आवाज हो । शुरु भएको आन्दोलन छोरी मान्छे नै उस्ता हुन् भन्ने समाजविरुद्ध चुनौती दिएर, परिवार र समाजको कठघराबाट प्रहरीसम्म पुगेपछि गरिने अनावश्यक शंका र केरकारकाविरुद्ध पनि हो । न्यायालयमा हुने ढिलासुस्तीविरुद्ध सबैभन्दा ठूलो दबाब र अपेक्षा सरकारसँग राखिएको छ ।

यी सारा व्यवधान पार गरेर न्याय माग्न पुगेपछि समय नाघिसक्यो भन्दै फिर्ता पठाउने कानुनमा संशोधन गराउन पनि आन्दोलन चर्केको हो । बोल्नै पनि आँट जुटाउनुपर्ने समाजमा जघन्य हिंसाबाट गुज्रिएको एक वर्षभित्र सबै महिला ममाथि हिंसा भयो भनेर बाहिर निस्किन सक्दैनन् भन्ने समाज, राज्य र कानुनले बुझ्नुपर्ने अवस्था छ । सन् २०२० मा १४ सयभन्दा बढी महिला तथा बालिका बलात्कारमा परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांक छ ।

नेपालमा हरेक वर्ष औसत २० प्रतिशतका दरले बलात्कारका घटना बढेको छ । अध्ययन प्रतिवेदनअनुसार औसत दैनिक सात जना महिला बलात्कृत भएका छन् । यसरी दिनहुँ बलात्कारको घटना बढ्दै जाँदा कानुन नै छैन भनेर सुनुवाई नहुने अवस्थाको अन्त्यका निम्ति आज छोरीहरू बोल्दै छन्, बुहारीहरू जुर्मुराउँदै छन् । ओरेकको तथ्यांकअनुसार नेपालमा १८ महिने दूधे बालिकादेखि ९० वर्षीया हजुरआमासम्म बलात्कृत भएका छन् । किशोरीहरू बलात्कारको बढी जोखिममा रहने प्रतिवेदन छ । ओरेकको तथ्यांकमा ४५ प्रतिशत बलात्कृत बालिका १६ वर्षभन्दा मुनिका भएको देखिन्छ ।

१७ देखि २५ वर्ष उमेर समूहका ३७ प्रतिशत, २६ देखि ३५ वर्ष उमेर समूहका ११ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेर समूहका ४ प्रतिशत र ४६ वर्षभन्दा माथिका ३ प्रतिशत छन् । नेपाली समाज छोरीका निमित्त ज्यादै खतरनाक बन्दै गएको एकपछि अर्को अध्ययनले देखाएको छ । छोरीले आफ्नालागि अहिले नलडे कहिले लड्ने ? छोरीहरूले स्वस्फूर्त खनेको लडाईंको यो गोरेटोमा बुबा आमा, छरछिमेकी, समाज र राज्य संरचनाले अहिले साथ नदिए कहिले दिने ? पीडितमाथि उल्टै आरोप, प्रत्यारोप लगाउने समाजको सोच बदल्ने उपयुक्त अवसरका रुपमा उठेको आवाज हो यो ।

पढ्दा पढ्दैका विद्यार्थी बोलेका छन् । महिला र गृहिणीहरू जुटेका छन् । यो बेला साथ तपाईं, हामी सबैको चाहिएको छ । किनभने, हिंसाविरुद्धको अभियानलाई अन्तिम बनाउनुपर्ने दायित्व सबैको छ । अब पनि छोरीहरू हुर्किंदै गर्दा आमाहरू डरै डरले बाँच्न नपरोस् । छोरीले वर्तमान बाँच्ने र भविष्य खोज्ने ठाउँ हिंसाभन्दा पर होओस् ।

टिप्पणीहरू