पैसा लिएर समाचार उडाउन मिल्छ र महोदय ?

पैसा लिएर समाचार उडाउन मिल्छ र महोदय ?

गत जेठ २४ गते मंगलबार जनआस्थाको अनलाइन संस्करणमा ‘लीलाराज बिष्टको पैसा खाएर सुनिल न्यौपाने लापत्ता’ शीर्षकको समाचार प्रकाशित छ । त्यसअघि नै जनआस्थाको छापामाध्यममा यो समाचार आइसकेको हो ।

आफ्नै दाजुभाइ खलक पर्ने हरिश्चन्द्र न्यौपानेले भरतपुरमा सञ्चालन गरेको चितवन मेडिकल कलेजमा काम गर्दै लमजुङका सुनिल न्यौपाने सीएमसी अगाडि नै घर भएका पूर्वमन्त्री तथा पन्चायतकालका अन्चलाधीश बिष्टसँग नजिकिएको,सोही क्रममा व्यवसाय गर्ने भन्दै एक करोड रुपैयाँ सापटी मागेको,धनाढ्य,मनकारी र सोझा बिष्टले विश्वासमा कुनै लिखत नगरी पैसा दिएको तर उक्त पैसा नतिरी सुनिल त्यसपछि चितवन नै छोडेर भागीभागी हिँडेको,बिष्ट बाँचुञ्जेल नाक,मुख नदेखाएका सुनिल एकैचोटि बिष्टको देहान्त भएपछि मात्र चितवन आएको तर अहिले चितवनमा पनि नरहेको उक्त समाचारमा लेखिएको छ ।

बिष्ट निकट स्रोतले यो सूचना दिँदै उनको घरमा सेविकाको रुपमा रहेकी सुनकेशरी चौधरीलाई यसबारे थाहा भएको जानकारी दिएका थिए । सोही अनुसार सानैदेखि त्यो घरमा बसेर बिष्ट परिवारको सेवा गर्दै आएकी ५३ वर्षीया चौधरीलाई भेट्दा उनले भनिन्,‘बाबु–छोरा जस्तै थियो सम्बन्ध । यहीँ खान आउनुहुन्थ्यो सुनिल । ५० लाख रुपैयाँ त मेरै हातले गनेर दिएको हो । फिर्ता गरेको थाहा छैन ।’अरु मान्छेको पनि पैसा खाएर नतिरी हिँडेका सुनिललाई पैसा नदिएको भन्दै ती मान्छेहरुले घेरा हालेर कुटपिट गर्न खोज्दा एकपटक बिष्टले बचाइदिएको समेत चौधरीले सुनाएकी थिइन् । उनको सोही कुरा उक्त समाचारमा कोट गरिएको छ । लीलाराजका छोराहरु कमल र शरदराज बिष्टसँग समेत सम्पर्क गर्दा प्राप्त सूचनाको पुष्टि हुने गरी नै प्रतिक्रिया आएपछि उनीहरुले भनेका कुरा पनि राखेर उक्त समाचार बनाइएको हो । सुनिल लापत्ता भएपछि मात्रै बिष्टले सुनिललाई पैसा दिएको कुरा आफ्ना छोराहरुलाई बताएको बुझिन्छ ।

सुनिल न्यौपानेबारे चितवन मेडिकल कलेजमा बुझ्न जाँदा अहिले उनी यहाँ नरहेको,कहाँ छन् भन्ने थाहा नभएको बताइएपछि उनको सम्पर्क नम्बर माग्दा कोभिडको बेला अस्पतालको मिडिया को–अर्डिनेटर भई काम गरेका सीएमसीका प्रोफेसर किशोर अधिकारीले सुनिलको फोन नम्बर आफूसँग नभएको बताए ।

त्यसपछि हरिशचन्द्रलाई थाहा छ कि भनेर जानकारी लिन खोजिएकै हो । स्रोतले उपलब्ध गराएको हरिश्चन्द्रको फोन नम्बरमा सम्पर्क हुन नसकिरहेका बेला सीएमसीका किशोरले पनि हरिश्चन्द्रको उही नम्बर दिए,जसमा पटक–पटक प्रयास गर्दा फोन लागेन ।

“पत्रकार हुँ भन्नेले प्रकाशित समाचार अनलाइनबाट डिलिट गर्दा आचारसंहिता लाग्छ भन्ने तीतो सत्य किन पढेनन् या उनीहरु यस्तै लेख्दै,स्वार्थ मिलेमा मेट्दै हिंड्ने धन्दामा सामेल छन् ?”

सीएमसी अगाडि नै रहेको पेट्रोल पम्प ‘दिवा इन्टरप्राइजेज’मा गएर ‘चितवन मेडिकल कलेजमा पहिले काम गर्ने सुनिल न्यौपानेलाई चिन्नुहुन्छ ?’ भनी सोध्दा त्यहाँ पत्रिका पढेर बसिरहेका एकजनाले ‘ए त्यो डाँका,दुनियाँको पैसा खाएर हिँड्ने’ भनेका थिए । पेट्रोल पम्पका साहु मोहनबहादुर पाण्डेले सुनिलले आफ्नो पनि तेल हालेको पैसा रु. ५५/६० हजार नतिरेको बताएपछि यो कुरा पनि समाचारमा जोडिएर आयो ।

पाण्डेले अहिले सुनिलको सम्पर्क नम्बर आफूसँग नभएको,रेशम बस्नेतसँग हुनसक्ने भन्दै बस्नेतको मोबाइल नम्बर दिए । फोन सम्पर्क गर्दा सुनिल न्यौपानेलाई चिनेको तर उनको नम्बर आफूसँग नभएको र अहिले कहाँ छन् भन्ने पनि जानकारी नभएको बताउँदै बस्नेतले ‘किन र ?’ भनी सोधेका थिए । ‘ए,उहाँले धेरैको पैसा खाएर नतिरी हिँड्नुभएको रहेछ,त्यही बुझ्न हो’ भनिएपछि समाचार नलेख्दै चितवनकै एकजना पत्रकारले पंक्तिकारलाई फोन गरी ‘सुनिल मेरो साथीको दाइ हो, के लेख्न लाग्नुभएको छ ? बरु केही सहयोग चाहिन्छ भने म भनिदिउँला’ भन्न आए ।

तर सुनिल आफैं सम्पर्कमा आएनन् । समाचार प्रकाशित भएपछि चितवनकै ती पत्रकार,सुनिलको भाइ बताउने सुशील न्यौपाने र सुनिल आफैं पनि सम्पर्कमा आएका छन् । उक्त समाचार अनलाइनबाट उडाइदिन भन्दै उनीहरुले अनेक धाकधम्की,दबाब,प्रभाव तथा प्रलोभन देखाइरहेका छन् ।

सुशीलले आफूपनि मिडियाकै मान्छे, काठमाडौंमा अनलाइन नेपाल डटकम चलाइरहेको भन्दै दाइ सुनिल पनि सोही अनलाइनको सञ्चालक रहेको बताए । तर उनीहरुले पत्रकारिताको आचारसंहिता विपरीत अनलाइनमा पोष्ट भएको समाचार हटाइदिन मात्रै भनेनन् कि मान्छे लगाएर ‘खण्डन छाप्न कति पैसा लाग्छ,दिउँला’ समेत भन्न भ्याए ।

अहिले काठमाडौंको महाराजगञ्जमा दाजुभाइ सँगै बसिरहेको बताउने सुशीलले चितवनमै आएर यो पंक्तिकारलाई भेटे पनि । ‘जसरी हुन्छ मिलाएर खण्डन छापिदिनू’ भन्दै ‘खण्डन नछापे मुद्दामामिलामा जान्छौं’ भनी धम्क्याए । बरु आफूले विज्ञापन दिएर सहयोग गर्ने प्रलोभनसमेत देखाए । विज्ञापन पछि छाप्दा पनि हुन्छ भन्दै तत्काल ५००० रुपैयाँ दिन पनि खोजिएको थियो । आफ्नो दाइ सुनिलले विदेशबाटै बिष्टलाई तिर्नुपर्ने पैसा पठाइसकेको सुशीलको भनाइ थियो । तर छुट्टै फोन सम्पर्क गर्दा आफूले बिष्टसित पैसा लिँदै नलिएको सुनिलले बताए । उनले भने,‘प्रमाण नै छैन नि त्यसमा “

समाचारको खण्डन गरिदिनू भन्दै सुनिलचन्द्र न्यौपानेको नामबाट जनआस्थालाई प्राप्त पत्रमा लेखिएको छ, ‘लीलाराज विष्टलाई म राम्रोसँग चिन्दछु । उहाँसँग मेरो कुनै पनि आर्थिक कारोबार नभएको प्रस्ट पार्न चाहन्छु ।’ प्रकाशित समाचारलाई गलत भन्दै उनले लेखेका छन्, ‘मसँग पैसा लिनु छ भनेर कोही प्रमाणसहित आउँछ भने म चुनौती दिन चाहन्छु ।’ अझै पनि बिष्टकै घरमा बसिरहेकी सेविका चौधरीलाई आफूले कहीँ,कतै नदेखेको र नचिनेको समेत सुनिलले बताएका छन् ।

यसैबीच,दिवा पेट्रोल पम्पका साहु मोहन पाण्डेले सुनिलले अहिले आएर आफ्नो पैसा तिरेको बताएका छन् । उक्त रिपोर्टिङको सिलसिलामा सोधपुछ गरिएको तथा यो पंक्तिकारसित कुरा भएको २/३ दिनमै गत जेठ १२ गते सुनिलले मान्छे पठाएर आफ्नो २०७३ सालदेखिको बाँकी पैसा चुक्ता गरेको पाण्डेले बताएका हुन् । ‘उक्त समाचारको खण्डन छाप्न कति पैसा लाग्छ,दिउँला,सोधिदिनू’ भनी सुनिलले फोनमार्फत् भन्न लगाएको कुरा पाण्डेले नै पंक्तिकारलाई सुनाएका हुन् ।

मिडिया नै चलाएको मान्छेले खण्डनका लागि पैसाको कुरा किन गरे ? मिडियाको इथिक्सले दिन्छ र पैसा लिएर खण्डन छाप्न ? । पत्रकार हुँ भन्नेले प्रकाशित समाचार अनलाइनबाट डिलिट गर्दा आचारसंहिता लाग्छ भन्ने तीतो सत्य किन पढेनन् या उनीहरु यस्तै लेख्दै,स्वार्थ मिलेमा मेट्दै हिंड्ने धन्दामा सामेल छन् ? यदि गल्ती गरेको छैन भने किन प्रकाशित सामग्री जसरी पनि हटाउन अनेक तरहको प्रयत्नमा छन् ?

टिप्पणीहरू