चिया पसले चक्रले नक्कली डक्टर बनेर यस्तरी चक्र चलाए कि…

चिया पसले चक्रले नक्कली डक्टर बनेर यस्तरी चक्र चलाए कि…

विभिन्न परिचय दिएर दुनियाँ ठग्नेहरू छाप्छाप्ती देखिन थालेका छन् । भर्खरै सोही खालको एउटा घटना सार्वजनिक भएको छ । घटना अछामको हो ।

अघिल्लो साता एक जना युवक ठगी आरोपमा पक्राउ परे । उनी मंगलसेन नगरपालिका– २ बस्ने चक्रबहादुर बिक हुन् । उनले चौरपाटी गाउँपालिका–५ बस्ने एक जना युवतीलाई विदेशी कोटाको ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस भर्ना गराइदिने भन्दै १७ लाख ठगेको खुल्न आएको हो । ती युवतीले दुई वर्षदेखि आफूलाई डाक्टर दिपक बिसीले ठगेको भन्दै दिएको उजुरीलाई अनुसन्धान गर्दा प्रहरी आरोप नजिक पुगेको हो ।

उनले बैंकदेखि सार्वजनिक स्थल र विभिन्न व्यक्तिलाई समेत त्यही नामले चिनाउने गरेका थिए । कतिपयलाई आफू वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एमबीबीएस र एमएस कन्सल्टेण्ट न्यूरोसर्जन भएको बताएका थिए ।

राहुल यसरी ठगिए:

चक्रबहादुरको झूठो परिचयको फन्दामा चौरपाटीका राहुल (नाम परिवर्तन) पनि परे । आफ्नी छोरीलाई छात्रवृत्तिमा डाक्टरी पढाउने सपना देखेका उनले चक्रबहादुरलाई विश्वास गरे । तर,जब नक्कली डाक्टर भन्ने सक्कली परिचय थाहा भयो,राहुल झसङ्ग भए । खासमा डाक्टरको परिचय दिने चक्र सामान्य चिया पसले मात्रै थिए ।

राहुलले भने, ‘मेरो घरमा डेरामा बस्ने एक जना भाइको सम्पर्कबाट मैले डा. दिपक बिसी भनिने चक्रबहादुर बिकलाई चिनेको थिएँ । उहाँले मेरी छोरीलाई ५० प्रतिशत विदेशी नागरिक पढ्ने कोटामा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्नुभयो । मैले पनि डाक्टरले नै भनेपछि विश्वास गरेँ । तर,पछि फेसबुकमा ’ठगी गर्ने पक्राउ’ भन्ने समाचार पढेपछि प्रहरीलाई फोन गरेर उहाँको बारेमा थाहा पाएँ । त्यसपछि छाँगाबाट खसेझैँ भएँ ।’

चक्रले छात्रवृत्तिअन्तर्गत ३० लाख रुपैयाँमा एमबीबीएसमा भर्ना गरिदिने बताएका थिए । राहुलको विश्वास जितेका उनले डकुमेण्ट मिलाउने भन्दै पहिलो चरणमा नौ लाख रुपैयाँ लिए । डा. दिपक बिसीकै नामको बैंक खातामा पैसा हालिदिएको राहुल बताउँछन् । त्यसैगरी उनले पटक–पटक गरेर १७ लाख रुपैयाँ चक्रलाई दिएको पनि बताए ।

‘हामीलाई एक स्थानीय युवाले उहाँ नक्कली डाक्टर भनेर चिनाउनु हुन्छ । तपाईंहरु किन पक्राउ गर्नुहुन्न सर ? भनेर प्रश्न गर्नुभयो । ती युवककै आग्रहमा हामीले उहाँसँग डाक्टरी पास गरेको लाइसेन्स मागेका थियौँ । तर उहाँले छैन भनेपछि अनुसन्धान गर्दा यस्तो पुष्टि भएको हो,’

‘उहाँले मसँग नौ लाख रुपैयाँ डकुमेण्ट मिलाउने भनेर माग्नुभो । मैले उहाँले भनेअनुसार नै डा. दिपक बिसी नाम गरेको बैंक अकाउण्टमा हालिदिएको हुँ,‘ पीडित राहुलले भने, ‘त्योभन्दा पहिला पनि के–के मिलाउने भन्दै उहाँले आठ लाख माग्नुभएको थियो । मैले दिएँ । तर, चुनावपछि उहाँ सम्पर्कविहीन हुनुभयो । अघिल्लो शनिबार फोन गरेको,उहाँको फोन नै लागेन । त्यसपछि सबै थाहा भयो अनि प्रहरीमा उजुरी दिएँ ।’

डाक्टरी पढ्ने तयारी अवस्थामा रहेकी छोरीलाई यसबारे कुनै जानकारी नभएको पनि उनले भने । ‘म अहिले खुलेर मिडियामा जान सक्ने अवस्थामा छैन । किनभने छोरीको पढाइमा असर पर्न सक्छ । छोरी डाक्टर बन्ने सपना बुनेर बसेकी छ,’ उनले थपे ‘यत्ति हो कि उहाँले सात दिनभित्र मेरो पैसा फिर्ता गर्छु भन्नुभएको छ । पैसा फिर्ता भए पुग्यो, अरु केही गर्नु छैन ।’

राहुलको अछाम र काठमाडौँ दुवै ठाउँमा घर रहेको बताइन्छ । उनका श्रीमती र छोराछोरी हाल काठमाडौँमा नै बसोबास गर्दै आएका छन् । राहुल धेरैजसो धनगढीमा बस्ने गरेका छन् । लामो समयदेखि उनले धनगढीमा बोर्डिङ स्कुल पनि चलाइ रहेका छन् ।

यसरी भयो नक्कली डाक्टरको पुष्टि

पक्राउ परेका चक्र मंगलसेनका स्थायी बासिन्दा हुन् । उनले केही वर्ष अघिसम्म गाउँमा सानो चिया पसल चलाएका थिए । पसलबाट आम्दानी नभएपछि काठमाडौँ पसेका उनी ‘डाक्टर’ बनेर ठगी कार्यमा संलग्न भए । दुई वर्षदेखि उनले आफूलाई डाक्टर भन्ने गरेको प्रहरीले बताएको छ ।

उनी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भोट हाल्न गाउँ पुगेका थिए । भोट हाल्ने विषयमा चुनावकै दिन झडप हुँदा उनका दाइ घाइते भए । त्यसपछि प्रहरीले घाइते दाइलाई स्थानीय अस्पतालमा उपचारको निम्ति भर्ना गरेको थियो । दाइको कुरुवा बस्न अस्पताल पुगेका चक्रले अनावश्यक औषधि दिएको भन्दै विवाद गरेपछि त्यहाँ कार्यरत नर्सहरुले प्रहरीलाई खबर गरे । त्यसलगत्तै पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गर्दा कर्तुत बाहिर आएको हो ।

उनले अस्पतालमा पनि नर्सहरुलाई आफू डाक्टर नै भनेर चिनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज थपलियाले बताए । थपलियाका अनुसार डाक्टरको लाइसेन्स माग्दा उनले दिन नसकेपछि डाक्टरको आवरणमा ठग्ने गरेको पाइएको हो ।

‘हामीलाई एक स्थानीय युवाले उहाँ नक्कली डाक्टर भनेर चिनाउनु हुन्छ । तपाईंहरु किन पक्राउ गर्नुहुन्न सर ? भनेर प्रश्न गर्नुभयो । ती युवककै आग्रहमा हामीले उहाँसँग डाक्टरी पास गरेको लाइसेन्स मागेका थियौँ । तर उहाँले छैन भनेपछि हामीले अनुसन्धान गर्दा यस्तो पुष्टि भएको हो,’ डिएसपी थपलियाले भने ।

जिल्ला प्रहरी कार्यालय अछामले १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालतबाट तीन दिन हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू