पार्टी विभाजन र इन्दिरा–वसन्तको पीर

पार्टी विभाजन र इन्दिरा–वसन्तको पीर

बाबु–आमाको विचार फरक–फरक भयो भने त घर धान्न गाह्रो पर्छ र दिनहुँ झगडा हुन्छ भने दुई पार्टीका राजनीतिज्ञ एउटै छानोमुनि हुँदा झन् के हाल होला ? आफ्नै पार्टी राम्रो भनेर घर रणमैदान बन्न पनि बेर लाग्दैन । तीमध्येकै हो– वसन्त मानन्धर र इन्दिरा पन्तको जोडी ।

नेकपा एमाले विभाजनको पहिलो शिकार यही जोडी भएको छ । केपी ओली र माधव नेपाल फुटेपछि उनीहरू पनि टुक्रिएका हुन् । बुटवलकी इन्दिराको काठमाडौंका रैथाने पति वसन्त मानन्धरले माधव नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादी रोजेपछि घरमा नरमाइलो छाएको हो ।

ओलीको ज्यादती अति भयो भन्दै पार्टी परित्याग गरेका वसन्त अहिले बाग्मती प्रदेश सरकारको ऊर्जा, खानेपानी तथा सिँञ्चाइमन्त्री छन् । यता, इन्दिरालाई भने एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा सिफारिस गरेको थियो । तर, उनको साटो केशव स्थापितलाई टिकट दिइयो ।

पाँच जनामध्ये महिलाबाट एक्लै सिफारिस भएकी उनलाई अन्तिम समयमा टिकट दिइएन । फलतः आफूले टिकट पाउँछु र महानगरलाई सुन्दर शहर बनाउँछु भन्ने सपना पूरा हुन सकेन । तथापि, इन्दिरा र वसन्त आ–आफ्नो पार्टी र कामप्रति सन्तुष्ट देखिएका छन् । लामो समयदेखि एकै ठाउँमा रहेर काम गर्दै आएका उनीहरूमा पार्टी छुट्टिए पनि राजनीतिक भिडन्त भने अहिलेसम्म भएको छैन ।

एउटै छानामुनि यी दुई जनाले आफ्नो पार्टीका कामकाज कसरी गर्लान् ? गोप्य फोन आउला, पार्टीका कार्यकर्ताहरू भेट्न आउलान् । त्यस्तोमा कसरी विकल्प निकाल्ने गरेका छन् ? यसबारे जनआस्थाले गरेको छोटो कुराकानी यस्तो छ :

वसन्त मानन्धरले पार्टीको काम सबै पार्टी कार्यालयमै सकाउने जानकारी दिए । उनले पार्टी र परिवारको छुट्टाछुट्टै महत्व भएकाले आफ्नो ठाउँबाट सक्दो व्यवस्थापन गरिरहेको जनाए । लामो समयदेखि राजनीतिक क्षेत्रमा भिजेको हुनाले एकअर्कालाई अप्ठ्यारा पार्ने किसिमको कार्य नगर्ने उनको भनाइ छ ।

यता, एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य इन्दिराले एउटै घरमा दुई वटा पार्टी भए पनि त्यस्तो समस्या नभएको बताइन् । आफू धेरै समय बाहिरी काममा हुने भएकाले पनि अप्ठ्यारो महसुस नभएको होला भन्ने उनको बुझाइ छ । भन्छिन्, ‘कहिलेकाहीँ उहाँको पार्टीका साथीहरू घर आएमा म बाहिर निस्किदिन्छु ।’

साथै, पार्टीको काम कहिले पनि घरमा आएर नगर्ने उनको दाबी छ । ‘हामी धेरै समयदेखि राजनीतिक क्षेत्रमै लागेको हुनाले एकअर्काको परिस्थिति राम्ररी बुझ्छौं, ’ उनले भनिन् । पन्तले जो, जहाँ रहेर काम गर्न चाहन्छ उसलाई त्यो अधिकार दिनुपर्नेमा जोड दिइन् ।

विचार र सिद्धान्तमा टेकेर अघि बढ्दा त्यसले आफूलाई केही फरक नपार्ने उनको भनाइ छ । पार्टी विभाजन भए पनि आफ्नो पारिवारिक जीवन यथावत् रहेकोप्रति पन्त खुशी छिन् । ‘हिजो जस्तो थियो, आज पनि त्यस्तै छ । हाम्रो पारिवारिक जीवनको त्यो हिस्सामा केही पनि परिवर्तन आएको छैन ।’

यता, महानगरको मेयरमा आफू योग्य भए पनि पार्टीले के सोचेर टिकट दिएन भन्नेबारे अनभिज्ञ रहेको उनी बताउँछिन् । यसचोटि टिकट नपाए पनि अर्कोचोटि फेरि कोसिस गर्ने भन्दै चित्त बुझाइन् ।

टिप्पणीहरू