आइजीपीसम्बन्धी मुद्दा दुई साता धकेलियो

आइजीपीसम्बन्धी मुद्दा दुई साता धकेलियो

सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बढुवाविरुद्ध परेको मुद्दाको सुनुवाई जेठ ३० गर्ने भएको छ । उक्त मुद्दामा आज अन्तिम सुनुवाइको लागि पेसी तोकिएको थियो ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको संयुक्त इजलासले उक्त रिट निवेदनमा पुनः सात दिनको समय दिएर म्याद तामेल गर्न आदेश दिएको छ । उक्त मुद्दामा प्रहरी नायव महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा भएको बढुवाविरुद्ध परेको रिट निवेदनलाई समेत सँगै राखेर सुनुवाइका लागि आज पेसी तोकिएको थियो ।

आजको इजलासले वसन्तकुमार पन्त कैलालीमा रहेका र अन्य प्रत्यर्थीहरु प्रहरीको उच्च पदमा रहेका कारण प्रहरी प्रधान कार्यालयको सहयोगमा म्याद तामेल गर्न आदेश दिएको छ । आदेश भएको मितिले छ दिनभित्र प्रत्यक्ष भेटेर वा फ्याक्स वा इमेलमार्फत् म्याद तामेल गर्दै त्यसको तीन दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको हो ।

यसअघि,न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ आजदेखि गर्न आदेश दिएको थियोे । निवेदकहरुले मागेबमोजिम अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो ।

आइजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरिएपछि एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको र वरिष्ठता क्रममा तेस्रो व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै रिट दायर गरेका छन् । त्यसैगरी त्यसअघि तीन जनालाई एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध पनि तत्कालीन तीन जना डिआइजीले दायर गरेको रिटलाई समेत साथै राखिएको छ ।

टिप्पणीहरू