कता गए अखिल, कता हराए युवासंघ ?

कता गए अखिल, कता हराए युवासंघ ?

स्थानीय तह निर्वाचनमा एमाले किन यसरी नराम्रोसँग पातलियो ? यसका विभिन्न पाटो, सन्दर्भ र घटनाक्रम छन् । मुख्यतः अध्यक्ष केपी ओलीको अति प्रतिक्रियात्मक शैलीले जनस्तरमा आकर्षण हैन, विकर्षणको विकास ग¥यो भनिँदैछ ।

मित्रराष्ट्रको भाषामाथि नै आँच आउने गरी ‘जापानमा भएको भए यिनीहरूको नाम हुतिहारा मोरा हुन्थ्यो होला’ भन्दै गरिएका अनेकन गालीले ओलीको आकर्षण कमजोर भयो । फलतः मत परिणाम आएपछि उहाँ प्रतिक्रियाविहीन हुनुहुन्छ ।

अहिले राजन भट्टराई र प्रभु साहहरूसँग चार–चार घण्टा भेटेर समय बिताउनुपर्ने अवस्था छ । आफू ७० कटेपछि पनि पार्टी अध्यक्ष रहिरहने, अरु त्यही नाममा बिदा गरिने बेथिती छ । पार्टी एकता भन्ने, तर यी यी व्यक्ति बाहेक भनेर कित्ताकाट गरिदिने कुराले कार्यकर्ता उत्साहित भएनन् । योभन्दा गम्भीर विषय हो, आपसी कलह ।

मन नपरेका एकथरि मान्छे अलग्गै पार्टी खोलेर बसेका छन् । अर्काथरि मन नपराइएका मान्छे पार्टीमै छन्, तर भूमिकाविहीन । यसो हुँदा पनि ओलीलाई सुख छैन । ‘आफ्ना–आफ्ना’ कै घम्साघम्सी चल्दा स्थानीय तह निर्वाचनमा क्षति व्यहोर्नुपरेको छ ।

बुटवलमा शंकर पोखरेलको जोड बलबाट मेयरको टिकट पाएका बाबुराम भट्टराई ७ हजार ५ सय ३३ मतको अन्तरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डेसँग पराजित भए । त्यहाँ लडाइँ थियो, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकरबीच । शंकरले टिकट दिएको मान्छेलाई हराउनुपर्छ भन्दै विष्णु पौडेलका मान्छेहरू मन मारेर बस्दा अन्ततः विष्णुकै विरासत हल्लिएको छ ।

किनभने, यसचोटि बुटवलको मेयरमा एमाले हार्नु भनेको आगामी प्रतिनिधिसभामा त्यहीँबाट उठ्नुपर्ने विष्णु पौडेलका लागि चुनौतिको विषय हो । तर, विष्णुका मान्छेहरू मेयरमा बाबुरामलाई हराए पनि उपमेयरमा सावित्रादेवी अर्याललाई ७ हजार ९ सय ९४ मतको अग्रतासहित जिताएकोमा खुशीयाली मनाइरहेका छन् ।

यो लडाइँ आगामी संसदीय चुनावसम्म जारी भयो भने फेरि पनि ‘शंकरका मान्छे’ बनेका बाबुरामहरूले विष्णुलाई बाँकी राख्दैनन् । बुटवलस्थित प्रदेशको अस्थायी राजधानीलाई शंकरले दाङको भालुवाङ सारे । उनै शंकरले बुटवलको मेयरमा बल गरेर उठाएबापत बाबुरामले हार व्यहोर्नुपरेको त्यहाँका एमालेहरू बताउँछन् । तर, त्यो हल्ला चलाउने पक्षलाई अबको चुनावमा बाबुरामहरूले कसरी सहने होलान् ?

पोखरामा एमालेको झगडा त छताछुल्ल नै भयो । त्यहाँ एकथरि पृथ्वीसुब्बा गुरुङका, अर्काथरि खगराज अधिकारीका कार्यकर्ता छन् । पृथ्वीसुब्बाका निम्ति लमजुङ जोखिमपूर्ण क्षेत्र भएका कारण आउने चुनावमा कास्कीबाट उठ्ने विचार गर्दै थिए । तर, खगराजहरूले अब पृथ्वीसुब्बालाई त्यता ढिम्किन दिने छाँट छैन । खगराजहरूले अगाडि सारेका उम्मेदवार दीपक पौडेललाई पृथ्वीसुब्बा पक्षले बदनाम गराई कृष्ण थापालाई उम्मेदवार बनाएदेखि नै यो झगडा चर्किएको हो ।

वीरगञ्जमा राजेशमान शाक्य बलिया छन् भन्दाभन्दै बालकोटबाटै विजय सरावगीलाई काठमाडौं बोलाएर पार्टी प्रवेश गराइयो । फलतः एमाले प्रवेश गर्न ठिक्क परेका राजेशमानले जसपाबाट जितेका छन् । जब, स्थानीय एमालेहरूले राजेशमान बलिया हुन् भनेको कुरा नपत्याएर बालकोटको हस्तक्षेप भयो, त्यहीँबाट सरावगी हराउन एमालेहरूको सक्रियता शुरु भयो ।

काठमाडौंमा मेयरको उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोल एमाले थिइनन् । अहिले पनि पार्टीको साधारण सदस्य होइनन् । तर, उनलाई उपमेयरमा उठाइयो । धेरै बाठो हुँदा एमाले मेयरका उम्मेदवार केशव स्थापित दोस्रोबाट तेस्रोमा झर्दैछन् । जबकि, सुनितालाई स्वतन्त्र उम्मेदवारका रुपमा लड्न दिएको भए अहिले बालेनले लिएको भारी मतान्तरलाई उनले छेक्थिन् र स्थापित अगाडि आउने प्रवल सम्भावना थियो ।

उपमेयरमा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठको ३५ हजारभन्दा बढी मत बदर हुँदा सुनिताले भारी मतान्तर कायम गरिन् । भित्री कुरा फरक छ, काठमाडौंका एमाले अगुवा महिलाहरू कोही पनि सुनिताको पक्षमा गएनन् । केशव स्थापित हराउने काममा स्वयं विद्यासुन्दरदेखि रामवीर मानन्धरजस्ता थुप्रै एमाले सक्रिय भए । फलतः उनी तेस्रोमा झर्नुपर्ने स्थितिमा पुगे ।

केशवले मेयरमा हारे पनि काठमाडौंको क्षेत्र नं. ६ वा ४ बाट प्रतिनिधिसभाको उम्मेदवारी पाउने सम्भावना छ । र, फेरि पनि उनीमाथि राजन भट्टराईदेखि विद्यासुन्दरसम्मको आक्रमण हुँदैछ । हेटौंडामा अनन्त पौडेलको सट्टा कोही युवा उम्मेदवार उठाइदिएको भए अहिले जितेकी मीना लामालाई मुश्किल हुन्थ्यो । समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पौडेलहरू एमालेमा फर्किए, तर अनन्तविरुद्ध एकलाल श्रेष्ठहरूको मोर्चाबन्दी जारी नै रह्यो, परिणाममा फरक परेन । अब यही मोर्चाबन्दी संघीय निर्वाचनसम्म पुग्दा कति बाक्लिने हो, हेर्नैपर्छ ।

धरानमा मञ्जु भण्डारीले अघिल्लो कार्यकालका मेयर तारा सुब्बाको निधनपछि कावा चलाउने क्रममा कमाएको बदनामीका कारण ०७६ को उपचुनावमा नेकपाले हार व्यहो¥यो र कांग्रेसले जित्यो । त्यही अलोकप्रिय पात्रलाई यसचोटि बालकोटले सीधै उम्मेदवार तोकेर पठाउँदा मनोज मेयाङ्बो, रमेश बस्नेत, प्रदीप भण्डारीसहितका नेताहरूले स्वतन्त्र उम्मेदवार हर्कराज रार्ई (साम्पाङ) लाई जिताइदिए । एमालेले २० मध्ये १० (२, ४, ५, ७, ८, १०, १२, १३, १५ र १९) वडाध्यक्ष जित्दा पनि मञ्जु तेस्रो भइन् । जहाँ–जहाँ एमाले बलियो थियो, त्यहाँ–त्यहाँ मेयरमा साम्पाङको भोट बढी हुनुले पनि बुझिन्छ, एमालेहरू नै एमाले हराउन सक्रिय भए ।

एमालेलाई स्थानीय निर्वाचनले क्षति पु¥याउनुका अरु थुप्रै कारण छन् । त्यसमध्ये अर्को बलियो कारण हो, जनसंगठनहरू सुषुप्त रहनु । पहिला–पहिला जब चुनाव आउँथ्यो, त्यो चुनाव पार्टीलाई भन्दा पहिल्यै जनसंगठनलाई लागिसक्थ्यो । अखिल र युवा संघ यसरी तात्तिन्थे कि, माहौल नै उनीहरूले बनाउँथे । तर, यसचोटि देशैभरि एमालेका संघ–संगठन कहाँ हराए ? देखिएनन् ।

केपी ओली यताउता जाँदा मोटरसाइकलबाट एस्कर्टिङको होडबाजी गर्ने महेश बस्नेतको युथफोर्स र महिला भोलेन्टियर्स अनि गोकुल बाँस्कोटाको खेलकु्द महासंघ कता निदाए ? काठमाडौंमा बालेनले त्यत्रो तयारी गरेर चुनाव लड्न आइसक्दा पनि तिनले किन केही पत्तो पाएनन् ? किनभने, उनीहरू फिल्डमा थिएनन् । त्यो फिल्ड बालेनको कब्जामा पुगिसकेको रहेछ । एमालेले फिल्ड बुझ्नका लागि विकास गरेको अर्को संयन्त्र हो, एनजिओहरूको । विशेषतः मानवअधिकारसम्बन्धी संस्थाका नाममा जनस्तरमा पुगेर जनमत परीक्षण गरिन्थ्यो ।

यसचोटि उनीहरू पनि मैदानमा देखिएनन् । अरु त अरु, केपी ओलीले आफ्नो वर्चस्व स्थापित गर्न बनाएको समानान्तर संयन्त्र मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् काउन्सिल नै कहाँ गयो–गयो, जनमतको कुनै पत्तो भएन † किनभने, मैदानमा जानुपर्नेहरू दाताका घर–घरमा पुगे । घर बनाए, गाडी किने, नयाँबानेश्वर र दरबारमार्गका क्याफेमा अड्डा जमाए । चुनावमा थोपै हिँडेनन् ।

टिप्पणीहरू