लुम्बिनीको सफलतामा को दङ्ग,कसको मन भरङ्ग ?

लुम्बिनीको सफलतामा को दङ्ग,कसको मन भरङ्ग ?

स्थानीय तह निर्वाचनपछि लुम्बिनी प्रदेशको राजनीतिक लेखाजोखा गर्दा पुराना पार्टीहरु नै आलोपालो शक्तिमा आउने प्रवृत्ति दोहोरिएको पाइएको छ । पूरै प्रदेशमा स्वतन्त्र उम्मेदवार विजयी हुन सकेनन् ।

पुराना राजनीतक दलबाहेक युध्दको पृष्ठभूमि बोक्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी माओवादी केन्द्रको प्रचार र परिणाममा जनयुध्दको प्रभाव भने यसपटक पनि ग्रामीण इलाकामा देखियो । तर जनयुध्दको प्रभाव र पुराना राजनीतिक दलहरुलाई हेर्ने मतदाताको दृष्टिकोणमा भने निकै फरक पाइएको छ । हिजो जनयुध्दकालताका ८० प्रतिशत भूगोल आफ्नो कब्जामा रहेको बताएका माओवादीहरुले स्थानीय तहको चुनावी परिणामपछि आफूहरुले जनतामा चेतनाको विकास र परिवर्तनको लहर चलाएको प्रमाणित भएको बताएका छन् ।

लुम्बिनीमा दशकौंदेखि राजनीतिक प्रभाव जमाउँदै आएका एमाले र काँग्रेसभन्दा जनता र मतदाताको हकमा माओवादी केन्द्रको प्रभाव बढी पाइएको उनीहरुको दाबी छ । माओवादीको जनाधारकै कारण प्रदेशमा काँग्रेसलगायत अन्य दलबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवारहरु विजयी बनेको माओवादीको ठम्याई छ । तर नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता माओवादीको उक्त दाबीमा कुनै दम देख्दैनन् ।

त्यसो त रुकुम,रोल्पा माओवादी आन्दोलनको उद्गम थलो नै हो । ती जिल्लामा माओवादी केन्द्र एक्लै लडेको थियो । माओवादी एक्लै र अन्य सबै राजनीतिक दलहरु एकातिर मिलेर प्रतिस्पर्धा गर्दा पनि दुई जिल्लामा एमाले र काँग्रेसले एकाध पालिकाबाहेक अन्यत्र जित्न सकेनन् । बाँकी सबै तह माओवादी केन्द्रको पोल्टामा गएको छ ।

समग्र लुम्बिनीमा ‘घरी सासूको पालो, घरी बुहारीको भनेझैँ’ अघिल्ला निर्वाचनमा एमालेले जितेका पालिकामा काँग्रेसले जित्ने र जितेका पालिकामा एमालेले जित्ने अवस्था थियो । यसपटक तीमध्ये कतिपयमा माओवादीले पकड जमाएको छ । पहाडी क्षेत्रमा गठबन्धनका उम्मेदवारले सजिलै जितेका छन् । त्यसमा माओवादी निर्णायक शक्ति बनेको हो । किनभने विकट क्षेत्रमा माओवादीको प्रभाव अझै कायम छ ।

बुटवलमा पहिले एमालेले जितेको थियो,अहिले काँग्रेसले जितेको छ । एमाले नेता तथा सचिव गोकर्ण बिष्टको गृहनगर गुल्मीको इस्मा गाउँपालिकामा काँग्रेसले जितेको छ । गुल्मीकै रेसुङ्गा नगरपालिकामा पनि काँग्रेस विजयी भएको छ । एमाले उपमहासचिव प्रदिप ज्ञवालीको गृहजिल्ला गठबन्धनकै कब्जामा रहन पुग्यो । संघीय निर्वाचनमा ज्ञवाली लड्ने त्यहिँबाट हो । रुरुमा पहिले काँग्रेसले जितेको थियो,अहिले पनि उसैले जितेकोे छ । रेसुङ्गामा पहिले एमालेले जितेको थियो,अहिले काँग्रेसले जितेको छ ।

गठबन्धन यहि अवस्थामा रहेर आगामी प्रदेश र संघको निर्वाचनसम्म गयो भने गुल्मीमा चुनाव लड्ने एमालेका केन्द्रीय नेताहरु नराम्रोसँग पछारिने निर्वाचनको परिणामले देखाएको काँग्रेस र माओवादीको बुझाइ छ । काँग्रेसका चन्द्र भण्डारी उठ्ने र माओवादीको मत निर्णायक हुने भएपछि ज्ञवालीलाई गाह्रो हुने अनुमान गरिँदैछ ।

अहिलेको निर्वाचनलाई विश्लेषण गर्दै प्रदेश र संघको नतिजा गठबन्धनकै पक्षमा आउने उनीहरुको दाबी छ । उता,एकीकृत जनक्रान्तिको नाममा नेत्रविक्रम चन्द (विप्लव) ले पकड जमाएको रुपन्देहीमा राप्रपाले केही सुधार गरेको देखियो । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाले मेयर जितेको छ । त्यहाँ पहिले एमालेले जित निकालेको थियो ।

विप्लवको पार्टीले केही सम्भावना देखेका स्थानमा आफ्ना स्वतन्त्र उम्मेदवारहरु उठाए पनि मुलुकभर शून्य उपलब्धि हासिल गरेको छ । विप्लवको मुख्य प्रभाव भनेको कपिलवस्तुको शिवराज नगरपालिका क्षेत्र मात्रै हो । विजयनगर गाउँपालिका पनि केही प्रभावित क्षेत्र हो । तर परिणाम देखाउन सकेन ।

अर्कोतर्फ निर्वाचन आयोगमा पार्टी दर्ता नभएका कारणले विप्लवको पार्टी राजनीतिक दलको नामबाट चुनावमा जान नसकेको हो । निर्वाचन बहिष्कार कि सहभागिता भन्ने बहसले नेकपा टक्रक्कै फुटेको छ । एक पक्षले अर्को पक्षलाई कारबाही गर्दै अन्ततः दुवै समूह अस्तित्वको लडाईंमा देखिन्छन् । असन्तुष्ट समूहले धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा नेकपा (बहुमत) नामको पार्टी नै गठन गरेको छ ।

समग्रमा लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुको प्रभाव राम्रो रहेको राजनीतिक हिसाब निकालिएको छ । लोकतान्त्रिक व्यवस्थामा निर्वाचनबाट आएको नतिजालाई स्वीकार्नु नै यसको सुन्दर पक्ष हो । तर आफ्नो पक्षमा नतिजा नआउँदा अत्तालिएर धाँधलीको आरोप लगाउने परम्परालाई यसपटक एमालेले निर्वाह गरेको बताउ ।

टिप्पणीहरू