स्थानीय सरकारका लागि ३१ हजार ४१६ जना चुनिए, कुन दलका कति ?

स्थानीय सरकारका लागि ३१ हजार ४१६ जना चुनिए, कुन दलका कति ?

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको धेरै ठाउँको परिणाम आइसक्दा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन् ।

७५३ स्थानीय तहमध्ये हालसम्म ६३८ स्थानको अन्तिम परिणाम आइसकेको छ । मतगणना सम्पन्न भएका स्थानमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित भएका हुन् । अब ३ हजार ८०५ पदको परिणाम आउन बाँकी छ ।

निर्वाचित हुने जनप्रतिनिधिमा सबैभन्दा धेरै कांग्रेसका छन् । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका उम्मेदवारले जितेका छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका १२ हजार ३४५ उम्मेदवारले विभिन्न पदमा जित हात पारेका छन् । यो कूल विजयी उम्मेदवारको ३९.२९ प्रतिशत हो ।

त्यस्तै दोस्रो स्थानमा रहेको एमालेका १० हजार ६०९ जना विजयी भएका छन् । कूल विजयी संख्याको यो ३३.७६ प्रतिशत हो । माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका ४ हजार ७५४ जना जनप्रतिनिधि विभिन्न पदमा जितेका छन् । यो १५.१३ प्रतिशत हो ।

जनता समाजवादी पार्टीको हालसम्म १ हजार २२० जना उम्मेदवार विजयी बनेका छन् । विजेताको ३.८८ प्रतिशत जसपाले जितेको हो । अन्य साना दल र स्वतन्त्र उम्मेदवार २ हजार ४८९ जना विजयी भएको आयोगले जनाएको छ । कूल विजयी उम्मेदवारमध्ये ७.९२ प्रतिशत साना दल तथा स्वतन्त्र उम्मेदवारहरू छन् ।

निर्वाचन आयोगका अनुसार ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

टिप्पणीहरू