माओवादी उम्मेदवारको भाग्य बलियो, ५ दिनपछि अर्को जीत

माओवादी उम्मेदवारको भाग्य बलियो, ५ दिनपछि अर्को जीत

बर्दिवास नगरपालिका–८ मा हराएको मतपेटिका खन्याएर भोट गन्दा बराबरी भएपछि गरिएको गोलाप्रथाबाट पनि यसअघि विजयी घोषित माओवादी उम्मेदवारले नै बाजी मारेका छन् । गणना गर्न बिर्सिएको मत पेटिका खोलेर गन्दा दुवै उम्मेदवारले बराबरी भोट ल्याएपछि गोला तानेर विजेता घोषणा गरिएको हो ।

पाँच दिनअघि नै माओवादी उम्मेदवार समशेर सिंह लामा वडाध्यक्ष निर्वाचित भइसकेका थिए । तर, आज भेटिएको मतपेटिका खोलेर गन्दा पनि एमाले उम्मेदवार रुद्रबहादुर किङ्गरिग मगर र लामाको मत बराबर भयो । त्यस्पछि निर्वाचन अधिकृतको कार्यालयले गरेको गोलाप्रथाबाट लामा फेरी विजयी भएका हुन् ।

जेठ १ गते नै मतगणना सम्पन्न भएर विजयी घोषित माओवादीका लामाले ७५१ मत पाएका थिए भने एमालेका मगरले ७४४ मत पाएका थिए । आजको गणनामा दुवैले बराबरी ७६७ मत ल्याए ।

सबै वडाको मतगणना सकेर बर्दिबास ९ को अन्तिम गणना चलिरहँदा छ दिनअघि नै गणना सकिएको बर्दिबास ८ को एउटा मतपेटिका आज भेटिएको हो । त्यसले जितिसकेका लामालाई तनाव दिएको थियो । तर, अब गोलाप्रथाको नतिजाले पनि उनकै भाग्य खोलेको हो ।

टिप्पणीहरू