केपी ओलीको निर्वाचन क्षेत्रमा एमाले कमजोर

केपी ओलीको निर्वाचन क्षेत्रमा एमाले कमजोर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा- ५ का चारवटा पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा यहाँ एमालेले कमल र दमक जितेको थियो । यसपटक भने उसले एउटा पालिकामा मात्रै अग्रता लिएको छ । अन्य स्थानीय तहमा एमाले दोस्रो स्थानमा छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ का पालिका प्रमुखहरूमा एमाले विगतको तुलनामा कमजोर देखिएको हो । दमक नगर प्रमुखमा संयुक्त गठबन्धन तर्फका उम्मेदवार राप्रपाका रामकुमार थापा अगाडि छन् । यहाँ एमालेकी गीता अधिकारी दोस्रो स्थानमा छिन् । कमल गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट कांग्रेसका हुकुमसिंहले राई मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।

गौरीगञ्जमा गठबन्धनविनै चुनावी प्रतिस्पर्धा भइरहेको छ । यहाँ अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी अगाडि छन् । अघिल्लो पटक गौरादह नगर प्रमुख जितेको कांग्रेसले पछिल्लो मत गणनामा दोस्रो स्थानमा छ । गौरादह नगर प्रमुखमा एमालेका छत्रपति सुवेदीले अग्रता लिएका छन् । कांग्रेसका रोहित साहले उनलाई पछ्याउँदै छन् ।

दमकमा गणना भइसकेका वडा नम्बर १ , २ र १० मध्ये दुई वडामा एमालेले जित निकालेको छ भने एउटामा संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा एमालेका हरि न्यौपाने, २ मा प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका छन् भने १० मा कांग्रेसका राजेन्द्र भण्डारी विजयी भएका हुन् ।

त्यस्तै, गौरादहको वडा नम्बर १ मा एमालेका नगेन्द्र भण्डारी र २ मा गठबन्धनका तर्फबाट कांग्रेसका गोपाल कोइराला वडाध्यक्षमा विजयी भएका छन् । कमलका ३ वडामा गणना सकिँदा एउटा वडामा एमाले र दुई वडामा गठबन्धनले जित हासिल गरेको छ । वडा नम्बर १ मा गठबन्धनका केदार कटुवाल , २ मा एकीकृत समाजवादीका अशोक लिम्बु र ३ मा एमालेका अग्नि कोइरालाले वडाध्यक्ष पद जितेका छन् ।

टिप्पणीहरू