राजा नै तयार नभएपछि हाम्रो के लाग्छ ?

राजा नै तयार नभएपछि हाम्रो के लाग्छ ?

– राजाराम बर्तौला, राप्रपा नेपाल– महामन्त्री,

मकवानपुर जन्मथलो भएका राजाराम बर्तौला अहिले राप्रपा नेपालको महामन्त्री छन् । महाधिवेशनमा राजेन्द्र लिङ्देनले जितेपछि ९ फागुनमै राप्रपाबाट राजीनामा गरेका उनलाई अध्यक्ष कमल थापाले त्यसको ९ दिनपछि महामन्त्रीमा मनोनीत गरेका थिए । ०७२ सालमा केपी ओलीको सरकार हुँदा कमल थापा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री थिए । सो समय बर्ताैलाले थापाको राजनीतिक सल्लाहकारको भूमिका निभाए । यसअघि दुई पटकसम्म केन्द्रीय सदस्य निर्वाचित भई बीचमा सहायक प्रवक्ता, सहायक महामन्त्री रहे । ०६२/६३ पछि पनि राजतन्त्रलाई बोकेर हिँडेका कमल थापाले हालैको महाअधिवेशनमा राजदरबार लागेर आफूलाई हराइएको निश्कर्षसहित राजतन्त्रको एजेण्डा त्यागेका छन्, उसको अबको एजेण्डा हिन्दु राष्ट्रमात्र बाँकी छ । सूर्य चिह्न लिएर एमालेसँग तालमेल गर्दै स्थानीय निर्वाचनमा होमिएको राप्रपा नेपालले देशभर ८/१० सिट माग्दा पनि नपाउनुलाई कार्यकर्ताले इखको रुपमा लिएर पार्टी ठूलो बनाउन लाग्नुपर्ने बर्ताैला बताउँछन् ।

-हरि गजुरेल

तपाईंहरूलाई एमालेसँग चुनावी तालमेल वा सम्झौता गनुपर्ने त्यस्तो बाध्यता के आइलाग्यो ?

– एमाले र राप्रपा नेपाल राष्ट्र«वादी विचारधारा निकटक हुन्। अर्काे पाटो एमाले अध्यक्ष केपी शर्मा ओली र हाम्रो अध्यक्ष कमल थापाबीच व्यक्तिगत सम्बन्धले पनि राम्रो छ । अर्काेतिर राप्रपा नेपाललाई एमाले र त्यसका नेताले हेर्ने दृष्टिकोण सकारात्मक छ । अहिले स्थानीय तहको मात्र कुरा छैन । प्रदेश, संघीय संसदको निर्वाचनमा समेत राप्रपा नेपालको मत आवश्यक पर्नसक्ने सम्भावनाले काम गरेको हुनसक्छ ।

राप्रपा नेपालले सूर्य चिह्न लिएर चुनाव लड्दा देशभर एक सिट पनि पाएन । तपाईंहरूलाई फाइदाचाहिँ के भयो त यसबाट ?

– स्थानीय निर्वाचनमा देशभरबाट राप्रपा नेपालले प्राप्त गरेका ठाउँको विवरण केन्द्रीय सचिवालयले निकालेको छ । हाम्रो दावी धेरै ठाउँमा थिएन । पार्टी स्थापना गर्नेबित्तिकै संगठनको अवस्था, हाम्रो उपस्थितिलाई हेरेरै माग्नुपर्ने हुन्छ । केही ठाउँमा मागेका थियौं । ती स्थानमा पनि अनुकूलता मिलेन ।

मकवानपुरकै गाउँ र नगरपालिका उपप्रमुख पनि मागेका थियौँ । एमाले र हामीबीच धेरै उठबस÷कुराकानीपछि आफ्नो परिस्थितिलाई नियाल्यौं । हाम्रो सम्भावना भएका ८÷१० ठाउँमा टिकट लिन प्रयास गरेका थियौं । धेरै सिट संख्या मागेर पराजित हुनु भनेको एमाले र राप्रपा नेपाल दुबैलाई घाटा लाग्नु हो । त्यही कारण हामीले थोरै सिट मागेका हौँ । त्यसमा पनि केही कारणवश छाड्नुपर्ने स्थिति आयो ।

हलोलाई फालेर सूर्य चिह्नमा तालमेल गर्दा राप्रपा नेपाललाई धेरै घाटा लाग्यो नि, हैन ?

– राप्रपा पुनर्जागृत भएको दुई महिना हाराहारी मात्र समय हुँदै छ । स्थानीय तहमा खुट्टा टेक्ने ठाउँसम्म निर्माण गर्ने र संसदीय निर्वाचनमा शक्ति बढाउने भन्ने हाम्रो रणनीति हो ।

उसोभए कमल थापालाई हेटौंडाबाट संघीय सांसद जिताउनका लागि मात्र यो तालमेल भएको हो त ?

– अहिले समान विचार, धारणा भएका शक्तिहरू मिल्दै जाने, संगठनको रफ्तारलाई बढाउँदै लैजाने, जनताको विश्वास जित्दै आगामी निर्वाचनमा जर्वजस्त ढंगबाट उठ्ने भन्ने रणनीति हो ।

हिजो हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ताहरूले सूर्य चिह्नबाट प्रतिनिधिसभामा जितेका हुन्। अहिले राप्रपाले एउटै वडामा पनि टिकट नपाउँदा कत्तिको दुःख लागेको छ ?

– गाउँ वा नगरपालिका नभए पनि वडाध्यक्ष वा सदस्यहरूमा हामीले उम्मेदवारी दिएका छौं । एमालेका सहमतिमा उम्मेदवारी दिएका छौं । जति स्थानमा खोजेका वा मागेका थियौं, त्यो पाएनौं । सहमति वा सम्झौता भनेको कहिले पनि एकपक्षीय हुँदैन । मेरो गोरुको बाह्रै टक्का हुँदैन । आफूले खोजेजस्तो नपाउँदो एक किसिमको खल्लोपना त हुन्छ नै ।

यसलाई सामान्य इखको रुपमा आम कार्यकर्ताले लिनुपर्छ । बलियो संगठन निर्माण गर्नुपर्छ । संगठन बलियो हुनेबित्तिकै कसैले माइनस गरेर जान सक्दैन । राप्रपा नेपालको अर्जुन दृष्टि नै पुरानै साखलाई फर्काउने हो । आगामी संसदीय निर्वाचनबाट सिरियस फोर्सको रुपमा हामी स्थापित हुन्छौं ।

कतै पनि एक सिट नपाउनुको पछाडि एमालेसँगको तालमेल ढिला भएर मात्र हो वा अरु कुनै कारण पनि छन् ?

– आफ्नो कमि कमजोरी नहेर्ने, अरुलाई दोष दिने हामी नेपालीको संस्कार हो । एउटा पार्टी अढाई महिनामा ठूलो शक्ति भएर त जाँदैन नि ! राप्रपा नेपाललाई समाप्त पार्ने षड्यन्त्रलाई कुल्चिएर अगाडि जानुपर्ने चुनौती छ । हामीसँग समयको अभाव त भयो नै ! पार्टी निर्माण क्रममा तल्ला तहमा रहेका भ्रम चिर्ने समय कमजोर थियो । संगठनात्मक रुपमा समयको अभावका कारण खुम्चन बाध्य भयौं । सधैँ यही अवस्था त रहँदैन नि !

पार्टी फुटेपछि राप्रपा नेपालका राम्रै मान्छेहरू पनि राजेन्द्र लिङ्देनको पछि लागेका छन् । हालै उपाध्यक्ष उद्धव पौडेलदेखि श्रीधर सुवेदीलगायत धेरै नेता–कार्यकर्ताले पार्टी परित्याग गरिसकेको स्थिति छ । यस्तो घटनाले तपाईंहरूलाई कति क्षति पु¥याउला ?

– उद्धव पौडेल दाइहरू रहनुभएको भए पार्टीलाई लाभ हुन्थ्यो । धेरै नसोचेका मान्छे राप्रपा नेपालमा आबद्ध हुनुहुनेछ ।

एमालेपट्टी लागेर राप्रपाको इमेजै खत्तम हुने स्थिति आयो भनिँदै छ । यसलाई कसरी लिनुहुन्छ ?

– इमान्दारी, प्रतिबद्ध, निष्ठावान् र क्रियाशीलता कायम रहुञ्जेल कसैले भन्दैमा राप्रपा नेपाल कमजोर हुँदैन ।

तपाईंहरूबाट छुटेका राजेन्द्र लिङ्देनले कालान्तरमा कमल थापाले राप्रपा नेपाललाई एमालेमा लगेर विलय गराउँछन् भनेर टिप्पणी गरेका छन् । स्थिति त्यस्तै आउने हो ?

– उहाँलाई राम्रो गर्नुहोस् भनेर शुभकामना दिएका छौं । उहाँले राप्रपा नेपालको चिन्ता गर्नु पर्दैन, राप्रपाकै विषयमा बढी चिन्ता गर्दा राम्रो हुन्छ । राप्रपालाई काँग्रेस, एमालेभन्दा पनि ठूलो शक्ति बनाए हुन्छ ।

कमल थापाले लामो समय मृत भएको राजसंस्थाको एजेण्डा बोकेपछि हिँडे अहिले राजदरबार लागेर आफूलाई हराइएको निश्कर्षसहित पार्टी नै अलग बनाउनुभएको छ । अब राजसंस्थासँगको सम्बन्ध कस्तो हुन्छ ?

– ०६२÷६३ पछि राजसंस्थालाई बलियो बनाउन श्रम, बल, बुद्धि सबै प्रयोग ग¥यौँ तर राजा स्वयं राजा बन्न तयार भएको पाइएन । उहाँ सबैको स्वीकार्य संस्थाको प्रमुख, अभिभावक, सेरेमोनियल राजा भएर बस्न भन्दा पनि एउटा पार्टी, त्यसमा पनि एउटा गुटलाई बोकेर हिँड्ने गर्न थाल्नुभयो । पार्टीले परिकल्पना गरेभन्दा फरक सक्रिय भूमिका खोजेजस्तो लाग्यो । त्यो त हाम्रो पार्टीको महाधिवेशनमै देखियो । कमल थापालाई सिद्ध्याउनका लागि अँध्यारो कोठामा धेरै खेल भए ।

महाधिवेशनमा पराजित भएसँगै तपाईंहरूको अध्यक्ष कमल थापाले शिरमा कफन बाँधेर राजतन्त्र बोकेको पुरस्कार आज पाइयो, राजाको भलो होस् भनेर निराशा पोखेको सुनियो । राजाबाटै कमल थापालाई हराइनुपर्ने स्थितिचाहिँ किन आयो ?

– राजसंस्था यहीँका राजनीतिक दलको विश्वासअनुसार पुनःस्थापना हुने हो । राजाको चाहनाचाहिँ यहाँका दललाई गाली गर्ने, जनता र राजाबीच खाडल अझै बढाएर जाने, दलहरूसँग प्रतिस्पर्धा गर्न खोज्ने भए । उहाँचाहिँ कुनै विदेशी शक्तिले ल्याइदिएर स्थापित हुन खोज्ने, सेनाबाट स्थापित हुन खोज्ने । यहाँ अस्थिरता र अराजकता उत्पन्न गराएर खेल्न खोज्ने । स्वाभाविक रुपमा हामी उहाँको बाटोमा जान सक्ने स्थिति रहेन । कमल थापा र उहाँबीचको रोडम्याप र एजेण्डा त्यहीँ मेल खाएन ।

विदेशी शक्तिको आशीर्वाद लिएर दिगो हुँदैन, भोलि जनताले स्विकार्दैनन् । हामीले राजा वा राजसंस्थाको रूपमा स्थापित गर्न खोज्ने तर उहाँचाहिँ व्यापार, व्यवसाय र धनार्जनमा लिप्त हुने । राजसंस्था स्थापित भइदेओस् त भनिरहने तर फर्काउनका लागि आफूले केही भूमिका नखेल्ने । यस्तै कुराले राजा र कमल थापाबीच केही असमझदारी बढेर गयो । सम्बन्धमा चिसो बढ्दै गयो । उहाँ व्यक्ति र समूहको पछि लाग्ने राजा हुनुभयो । त्यही कारण राजालाई हामीले बोक्न सकेनौँ ।

टिप्पणीहरू