एकाबिहानै केपी ओली कांग्रेसमाथि खनिनुभयो

एकाबिहानै केपी ओली कांग्रेसमाथि खनिनुभयो

प्रतिष्पर्धी राजनीतिक पार्टी र अरु नेताप्रति कटाक्षपूर्ण टिप्पणी गर्न माहिर एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहानै सत्तारुढ दल नेपाली कांग्रेसको चर्को निन्दा गर्नुभएको छ । कांग्रेसको चुनावी घोषणापत्रमाथि टिप्पणी गर्दै उहाँले ‘गालीपुराण’ को संज्ञा पनि दिनुभयो ।

घोषणापत्रलाई राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले राजनीतिक दस्तावेज भन्न नसकिने ओलीको तर्क छ । घोषणापत्रका दर्जनौं ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै उहाँले त्यसलाई ‘बकवास’को संज्ञा दिनुभयो । राष्ट्रपति र आफूमाथि हमला गरिएको भन्दै उहाँले घोषणापत्रलाई पागलहरुको प्रलाप पनि भन्नुभयो ।

“उहाँले त्यसलाई ‘बकवास’को संज्ञा दिनुभयो । राष्ट्रपति र आफूमाथि हमला गरिएको भन्दै उहाँले घोषणापत्रलाई पागलहरुको प्रलाप पनि भन्नुभयो । “

२३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई आज बिहान सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्तावेज होइन । जम्माजम्मी धारे हात लगाएको छ,एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो ?’, ओलीले भन्नुभयो , ‘यस्तै यस्तै बकवास र गालीगलौज घोषणापत्रका दर्जनौँ ठाउँमा नाम किटेर तथानाम गाली गरेको छ । राजनीतिक विश्लेषण छैन । शब्द थुपारी के हुन्छ ?’

उहाँले खेस्रो लेखेर नीति नहुने पनि बताउनु भएको छ ।

काँग्रेस महामन्त्री गगन थापा नेतृत्वको लेखन समितिले अस्ति सार्वजनिक गरेको घोषणापत्रमा केपी ओलीले जनतालाई सम्भव नै नहुने कुरा देखाएर राजनीतिमा सपनाको व्यापार गरेको उल्लेख गरिएको थियो ।

टिप्पणीहरू