युक्रेनमा युद्धरत रुसद्वारा नेपाललाई हतियार दिने प्रस्ताव

युक्रेनमा युद्धरत रुसद्वारा नेपाललाई हतियार दिने प्रस्ताव

विश्व शक्तिको रुपमा चिनिएको राष्ट्र रुसले युक्रेनमाथि हमला थालेको २६ औं दिन (मार्च २० तारिख) नेपाललाई सैन्य सहयोग र सहकार्यका निम्ति प्रस्ताव पठाएको छ । परराष्ट्र मन्त्रालयमार्फत प्राप्त प्रस्ताव अहिले जंगी अड्डा पुगेको छ । नेपालले एमसीसी पास गरेर युक्रेनपट्टि ढल्केपछि रुस नेपालसँग झस्केको हो । केही रक्षा विशेषज्ञले भने नेपाली सेना केही प्रविधि र सामग्रीमा रुसमाथि निर्भर रहेकाले अब सहकार्य गरी अघि बढौं भनेर यो पत्र लेखिएको निश्कर्ष निकालेका छन् । नेपालमा विदेशी नियोगको सबैभन्दा ठूलो दूतावासमध्ये भारतपछि शायद रुसको हो ।

पत्रको मुख्य बुँदा नेपालसँग भएका सैन्य आदानप्रदानलाई औपचारिक बनाउने रहेको छ । रुसले नेपाललाई हेलिकप्टरलगायत विभिन्न किसिमका सैन्य सामग्री बेच्नुका साथै प्राविधिक सहयोग पनि बेला बेला उपलव्ध गराउँदै आएको छ । यी सहयोग सामग्रीमा रहेका प्याटेन्ट राइटहरूको सुरक्षासमेत यति नै बेला खोजेको बुझिएको छ । उताबाट ल्याइएका त्यस्ता सामग्रीको सूचना रुसले नचाहेका अन्य राष्ट्रमा नपुगोस् भन्ने मुख्य चासो रहेको पत्रबाट बुझिन्छ । पत्रमा सैन्य सहयोगबारे भएका क्रियाकलाप दुई मुलुकबाहेक अन्य कसैलाई जानकारी दिने छैन भन्ने आशयसहितका बुँदा उल्लिखित छन् । सैन्य सामग्री, सैन्य प्रविधि र प्राविधिक सहयोग आवश्यक परेको बेला एक अर्कालाई उपलब्ध गराउने बुँदा पनि प्रस्तावमा समेटिएको छ ।

रुसबाट एमआई सिरिजका हेलिकप्टरसहितका सैनिक सामग्री नेपालले कहिलेकाहीँ खरिद गर्दै आएको छ । रुसको प्रसिद्ध हतियार एके ४७ राइफल भने नेपाल सरकारले किनेको छैन । सो राइफल द्वन्द्वकालमा माओवादीले प्रयोगमा ल्याएका थिए । रुसले एके ४७ राईफल भारतमै उत्पादननिम्ति भर्खरै सम्झौता गर्नुका साथै लडाकु विमान मिग र सुखोइहरू दिएर छिमेकीको वायुसेनालाई मजबुत बनाएको अवस्था छ । यसैको विरुद्धमा अमेरिकाले पाकिस्तानलाई एफ १६ लगायत फाइटर विमान दिएको हो । नेपालले भने आफ्नो भूबनोट सुहाउँदो एम १७ सिरिजका हेलिकोप्टर रुसबाट ल्याएको छ । जुन संंसारकै सबैभन्दा दह्रो र पहाडी भूगोलका लागि उत्कृष्ट हेलिकोप्टर हो । यसैका दलालहरू हिजोदेखि नेपाल यात्रामा छन् ।

श्रीलंकामा पनि सरकारी र विद्रोही दुवै पक्षले एके ४७ राइफल प्रयोगमा ल्याएको पाइन्छ । अर्कोतर्फ कोरोना कालको बेला रुसबाट हेलिकप्टरका पार्टपुर्जा आयात हुन नसकेपछि बंगलादेशबाट ल्याइएको थियो । सेनाकै प्लेन ढाका गएर ती पार्टपुर्जा ल्याइएको हो । डेढ वर्षअघि हेलिकप्टरको पार्टपुर्जा स्टकमा रहेकाले शोधभर्ना गर्ने शर्तमा बंगलादेशबाट ल्याइएको थियो । र, यतिखेर उसले ती पार्टपुर्जा फिर्ता गर्न ताकेता लगाएको अवस्था छ । तर, रुस र युक्रेनबीचको युद्धले गर्दा डलर सटही गर्न अप्ठ्यारो भएकाले गर्दा समस्या भएको छ । रुसी बैंकसँगको कारोबारमा अमेरिका र युरोपले अन्तर्राष्ट्रिय नाकाबन्दी लगाएका छन् ।

टिप्पणीहरू