मेरो वैवाहिक अधिकार पार्टीले खोस्ने ?

मेरो वैवाहिक अधिकार पार्टीले खोस्ने ?

गौरा प्रसाईं कोइराला, पूर्व सांसद, स्थायी कमिटी सदस्य नेकपा एकीकृत समाजवादी

जीवनका पाँच दशक कम्युनिष्ट आन्दोलनमै बिताएकी गौरा प्रसाईं , एमाले विभाजनपछि निराश छिन् । ०२८–२९ सालतिर कम्युनिष्ट पार्टीको सदस्य भएर प्रहरीबाट भाग्दै हिँड्दा दलालको फन्दामा परी वेश्यालय पुगिन् । भागेर फेरि पार्टीको सम्पर्कमा फर्किएकी उनले झापा, काठमाडाैँको केन्द्रीय कारागारमा झण्डै पाँच वर्ष बिताइन् । २० वटै औंलामा पिन खोप्दा ‘ऐया’सम्म भनिनन् । यत्रो त्याग गरेर बनाएको पार्टी केपी ओलीको अहंकारका कारण क्षतविक्षत बन्न पुग्यो भनेर पीडा पोख्छिन् । जीवनभर सत्य, इमान्दारी र निष्ठाको राजनीति अँगालेकी उनी एकीकृत समाजवादीको स्थायी कमिटीमा छिन् तर त्यहाँभित्र पनि केही व्यक्तिले माधव नेपाललाई गुमराहमा राखेर पार्टी चलाइरहेको अनुभूति सुनाउँछिन् । आफू केन्द्रित राजनीति गर्ने सोच र शैलीका कारण अहिलेका कुनै पनि दलबाट अब देश बन्दैन भन्ने निश्कर्षको नजिक पुगेकी छन् । अरुले फोहोर बनाएको राजनीतिको टेन्सन कति बोक्नु, अब ज्यानलाई दुःख दिन हुँदैन भन्ने लागेको छ । भन्छिन् मनलाई जे गर्दा शान्ति हुन्छ त्यही गर्छु । उनको आत्मवृत्तान्त ‘मेरा जीवनका पाना’ चर्चित कृतिमध्येमा पर्छ ।

– हरि गजुरेल

कस्तो देख्दै हुनुहुन्छ नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य ?

– अहिले विचार गल्यो । सिद्धान्त र नीति विचलित भए । नेतृत्वले सही ढंगले नेतृत्व गर्न सकेन । पार्टी टुक्रा–टुक्रा भए । कुर्सी र एउटा आफ्नो क्षेत्रलाई कसरी सुरक्षित गर्ने भन्ने चिन्तन बढी रह्यो । जनताको उत्थान तत्काल हुने उज्यालो किरण मैले देखिरहेको छैन ।

नेपालमा जतिखेर महिलालाई ‘पैतालाको धुलो’झैं ठानिन्थ्यो, त्यो समयमा तपार्इं कम्युनिष्ट पार्टीको सदस्य बन्नुभयो । तर अहिले आलु,प्याजभन्दा पनि सस्तो भयो कम्युनिष्ट पार्टी हैन र ?

– त्यसको सीमा छैन, पीडा देखाउन पनि मिल्दैन । १३ वर्षको उमेरदेखि भूमिगत भएर राजनीति गरेँ । जेल, नेल, प्रवास सबै भोगेँ । मजस्ता धेरै साथीले पीडा भोग्नुभयो । यी सबका बाबजुद ०३९ सालमा बल्ल सदस्यता पाएको हुँ । अहिले त जस्ताले पनि सीधै केन्द्रीय सदस्य पाउन थाले । यो सब पार्टीभित्र गुट–उपगुटको उपज हो ।

झापा संघर्षका सहकर्मीहरूलाई कत्तिको सम्झनुहुन्छ ?

– लीला कट्टेल दिदी बित्नुभयो, सीता खड्का र म थियौं, पहिला । सीता त मन्त्रीसम्म बनेर बाटो परिवर्तन गरिन् । सुखानीका ५ जना शहीदको सपना पूरा होला भन्ने आशा थियो । झापाका धेरै साथीले नेताहरूलाई पाले, पोसे । आफ्नो घरबार, छोराछोरी भनेनन् । कम्युनिष्ट पार्टी जोगाउनका लागि रित्तो भएकाहरू आज आफैं घरबारविहीन छन् । ती पनि देशका नागरिक हुन् भनेरसम्म नेतृत्वले सोचेन । केहीले त आत्महत्या गर्न बाध्य भए ।

धिमाल, राजवंशी बस्तीका लोपोन्मुख जातिकोमा बस्दा उनीहरूले दिनभर मजदुरी गरी ल्याएको खानाको एक हिस्सा खोसेर खानेहरु लाख लाख बाँड्न र अरु पार्टीका मान्छे कपिलवस्तुबाट प्रवेश गराउन १५ जनाको पल्टन प्लेनमा लान सक्ने हैसियतमा पुगे । मनमोहन प्रधानमन्त्री हुँदा नयाँ नीति र कार्यक्रम बनेकोमा जनता खुशी थिए । त्यसयता कोही सत्तामा गएर जनता र राष्ट्रका निम्ति भुई तहमा खटिन सकेनन् । असम्भव सपना देखाउमै मस्त भए, होनहार कार्यकर्तालाई अपमान गरे, जिम्मेवारी दिएनन् । गुट/उपगुट चलाएर पार्टी छिन्नभिन्न बनाए ।

बहुमतप्राप्त पार्टीले केही गर्छ भन्ने आशा थियो, देशभर । एउटा व्यक्तिको सोच, चिन्तन गलत हुँदा सारा स्वाहा भयो । एउटा व्यक्ति गलत हुँदा राज्यका लागि कति हानि हुँदो रहेछ भन्ने उदाहरण हुन् केपी शर्मा ओली । हिजो जनताका घरमा गुन्द्री, च्यातिएका बोरा ओडेर, उनीहरूले कमाएको पसिनाको हिस्सा खाएर राजनीति गर्ने हामी तर आफू आन्दोलनबाट भागेर जेल बसेको नाममा त्यो अवधि बाहिर बसेर संगठन बनाउनेलाई सिध्याउन खोज्ने ? कस्ता चिन्तन लिएका नेता जन्मिएका रहेछन् हामीकहाँ भन्ने पीर चिन्ता त हुन्छ तर गर्न के नै सकिँदो रहेछ र ?

झापा संघर्षका सहकर्मीमध्ये आज नारद वाग्लेबाहेक केपी ओलीसँग किन कोही बाँकी रहेनन् ?
– केपी ओलीको प्रवृत्ति साह्रै खराब । उहाँलाई भगवान् मानेर पूजा गर्ने, गणेश प्रवृत्तिका घुम्ने मान्छे भए ती आफन्त हुने तर उहाँको कमजोरी देखाउनेलाई सफाया गर्ने भएपछि पार्टी कसरी अगाडि बढ्छ ? नेतृत्व कसरी सही बाटोमा हिँड्छ ? उसले कसरी देशको नेतृत्व गर्छ ? भ्रष्टाचार गर्ने र पैसाको बोरा बोकेर हिँड्न सक्नेहरुलाई केपीको घरमा रातो कार्पेट छ । तल तलका पनि उनीबाट केही पाइन्छ भनेरै गएका छन् । कम्युनिष्ट पार्टी बनाऊँ भनेर लाग्ने, विद्रोह गर्न सक्ने ल्याकत भएकाहरू त्यता छैनन् ।

राम्रा मान्छेलाई बाइपास गर्ने, आइ लभ यु बा तपार्इं देउता हो भन्ने मान्छे मात्र त्यहाँ छन् । कसैले गल्ती गर्दा उसलाई आलोचनात्मक तवरले सुधार्न सकिएन भने गल्तीमाथि गल्ती बढ्दै जाँदा कुन धारमा पुग्छ थाहै हुँदैन । पहिला कम्युनिष्ट पार्टी अनुशासित ढंगले चलेको थियो, गल्ती गर्नेलाई कारबाही पनि हुन्थ्यो पछि सत्ता, पैसा र कुर्सीको मोहले नेतृत्वलाई जित्यो । जसले लाभ पाउँछ उसले केपीको विरोध नगर्ने, वरपर घुम्ने अनि जसले आलोचना गर्छ ऊ दूधमा परेको माखोझैं पार्टीबाटै फ्याँकिने ।

माधव नेपाल उहाँ सँगसँगैको बूढोपाको मान्छे । माधव, झलनाथ खनाललाई त राख्न सक्नुभएन । आजै निस्की, भोलि निस्की तँलाई यहाँ ठाउँ छैन भन्ने, त्यो पार्टी उहाँको बपौती हो र ? ओलीका हर्कत मैले कति व्यहोेरेँ, अहिले धेरै बोल्दिनँ । नम्रता, शिष्टता, अनुशासन, देश र जनताप्रति गम्भीर भएर सोच्ने व्यक्तिले मात्र नेतृत्वलाई अगाडि लैजान सक्दो रहेछ । अरु किन उहाँसँग रहेनन् भन्दा पनि म आफैँ साथीहरुसँग किन रहिन यति बुझ्दा हुन्न र !

तपाईंचाहिँ केपी ओलीसँग किन रहनुभएन त ?

– म झापा आन्दोलनको मान्छे । त्यत्तिकै मान्छे पार्टी जेसुकै होस् भनेर हिँड्छ र ? विद्रोह गरेर माधव नेपालहरू वल्लोतीर हुनेबित्तिकै कति दिन रोइयो, छट्पटाइयो, सुतिएन अनि खाइएन । एक खालको पीडा अहिले पनि छ । कता–कता कहाँ–कहाँ दुख्छ । ओलीको तानाशाह प्रवृत्ति, सबै उनले भनेको मान्नुपर्छ भन्ने सोच । आफू पार्टीको विधि, विधान, नीतिभित्र नचल्ने अनि उनले भनेको सबैले मान्नैपर्ने । मदन भण्डारी फाउण्डेशनका नमाममा गुट र उपगुटको नाइके आफैं । सिद्धान्त, विचारबाट पलायन विदेशीको दलाली भएर चल्ने ।

हामी त न्याय/सत्यका लागि लडेका मान्छे । हिजो त्यही किसिमको स्कुलिङ, प्रशिक्षण भएको । हामीले आठ र एघार नियम सिकेर कार्यान्वयन गरेर हिँडेको । संविधान नमान्ने, उखान टुक्कालेसत्ता चलाउँछु भन्ने । यिनै खराबी र उहाँसँग टिक्नै नसक्ने भएपछि धेरै साथीले छाड्नुपर्ने भयो । सांसद वा मन्त्री हुनु ठूलो कुरा होइन । राज्यको संविधान र पार्टीको विधि विधानभित्र चल्न नसक्ने व्यक्तिको मातहत रहेर कार्यकर्ताले कसरी काम गर्छ ? ऊ त बन्दीजस्तो भयो, स्वतन्त्र भएन । त्यही कारण धेरैले छाडे । अहिले मैले खानुपर्छ, मैले पाउनुपर्छ । यति वर्ष त्याग तपस्या गरेको भन्नेहरू नै उहाँको वरिपरि भए ।

तपाईं अहिले समाजवादीको स्थायी कमिटी सदस्य हुनुहुन्छ । यो पार्टीमा चित्त नबुझेका कुरा के–के हुन् ?

– मलाई पनि फुटेको पार्टीमा गइस् भन्छन् । एमाले पार्टी फुटाएको केपी ओलीले नै हो । बाउ, आमाले आफ्ना सन्तानलाई राम्रोसँग शिक्षादीक्षा, संस्कार, चेतना दिन सकेन भने छोराछोरी बिग्रन्छन् । छोराछोरी बिग्रनुमा पहिलो दोष बाउआमाकै हुन्छ । सन्तानलाई राम्रो संस्कार दिने हो भने ती एकसेएक भएर निस्कन्छन् । त्यस्तै, केपी ओली पार्टीका अध्यक्ष, उनीबाट उस्तै व्यवहार भयो र विद्रोह गर्नुप¥यो । दश भाइ भन्ने विचित्रकै रहेछन् । हामी त पार्टीभित्रै विद्रोह गरौँ भनेर लागेका लाग्यै थियौं ।

यिनै दश भाइ हरेक दिन पार्टीमा बस्न सकिँदैन भन्थे । २५–२५ लाख उठाएर हेरिटेज पार्टी प्यालेसमा राष्ट्रिय भेला बोलाउँथे, अलग पार्टी दर्ता गर्न पाउँथे । यिनै होनहार युवा भनिएका, बुद्धिजीवीले उक्साएर त्यहाँ रहनै नसक्ने वातावरण बनाए । ५० वर्षभन्दा बढी समयदेखि राजनीति गर्नुभएको माधव नेपालसँग केही विकल्प बाँकी थिएन । हामी अरु पार्टीमा जान त सक्दैनौं । माधव नेपाल प्रधानमन्त्री, महासचिव हुँदा गुट चलाएको पाइएन । कसैलाई काखा, पाखा गर्नुभएन । ०६७ मा प्रधानमन्त्री बन्दा केपी, झलनाथ र आफ्नो तर्फबाट २–२ जना मन्त्री राखेर चलाएको हेर्ने उहाँले अन्त्यमा सत्यताकै पक्षमा लाग्नुपर्छ भन्ने निश्कर्षका लागि म यता लागेको हो ।

अहिले पार्टीमा प्राप्त जिम्मेवारीप्रति सन्तुष्ट हुनुहुुन्छ ?

– यता पनि नयाँ पार्टी खुलेको छ । के केन पद वा अवसर पाइन्छ भनेर आउनेहरू पनि देखिरहेको छु । माधव नेपालको त्यस्तो सोच नहुँदा नहुँदै पनि बहुमतको सोच अर्कै हुँदा कतिपय वस्तु उहाँले चिर्न नसकेको हुन सक्छ । हामीले ओली प्रवृत्ति यहाँ नछिरोस् भनिरहेका छौं । राजनीति असाध्यै राम्रो चिज हो, मान्छेलाई हौसला दिन्छ, चेतना बढाउँछ, राजनीतिक दर्शनको अध्ययन गर्नेहरू तर्कशील, आँटिला र विश्लेषण गर्ने क्षमताका हुन्छन् । तर अहिले त राजनीतिलाई असाध्य फोहोर बनाए ।

देश र जनताको समस्या समाधान गर्ने भन्दा पनि एकअर्काेलाई गाली गर्ने र सराप्ने प्रवृत्ति बढाए । त्यही कारण ममा राजनीतिप्रति वितृष्णा पैदा भएको छ । सकेसम्म न्यायको पक्षमा उभिनुपर्छ, अन्तिम सास रहुञ्जेलसम्म पनि गलत सोच बनाउन हुन्न, लालचमा लाग्नुहुन्न, समाज सेवा गर्नुपर्छ, परिआएको बेला राष्ट्रको निम्ति बोल्न पर्छ तर यो फोहोरी राजनीतिमा लाग्नु हुँदैन । अहिले यो पार्टीमा पनि यस्तै खालको क्रियाकलाप देखिएको हुँदा जहाँ गए पनि उस्तै हुने रहेछ भन्ने कतिपय साथीलाई लागिसकेको छ । पछि लागेर जी हजुरी गरेर राजनीतिमा अघि बढ्न पटक्कै मन छैन ।

नेपालका कम्युनिष्टहरूले अँगाल्नुपर्ने बाटो के हो भन्ने लाग्छ ?
– मैले भनेर त के होला ? कम्युनिष्टले हिजोको दिनमा झैँ भुइँमा बस्ने, जनताबीच जाने, दुःख कष्ट त्यही किसिमले उठाउने र जनताको समस्या समाधान गर्ने बाटोमा लाग्ने हो । भारतीयले आएर कुटपिट गरेका छन् । स्तम्भहरू उठाएर फालेका छन् । यस्तो हुँदा पनि कोही बोल्दैनन् । आफैं सत्तामा छ कोही चुइँक्क बोल्दैन । यसरी कम्युनिष्ट आन्दोलन, अगाडि बढ्छ र ? राजाका मान्छेहरू त्यतिकै सल्बलाएका छन् । सारा जनता विरोधमा हुँदाहुँदै एमसीसी पास गराए । जनता सचेत छन् भने नयाँ दिशातिर जान्छन् । हिजैको पारा भयो भने बाँडेर मत लिन्छन् । कसैको बहुमत पुग्छजस्तो लाग्दैन ।

झापाबाट एकैचोटि बर्दिया कसरी पुग्नुभयो ?

– झापामा भूमिगत भएँ । त्यही समय जेल गएँ । जेलबाट निस्किएपछि प्रवास खटाइयो । त्यहाँ केटो, लाटो भएर काम गर्नुपर्ने स्थिति । बनारसमा गोविन्द कोइरालासँग पार्टीकै कामको सिलसिलामा भेट भयो । पछि झलनाथ खनालले कुरा राख्नुभयो । मैले मेरो अधिकार तपाईंहरूले निर्णय गर्ने होइन भनेर रोकेका थिएँ । पछि पार्टीले सुदूरपश्चिम खटायो । त्यहाँ संगठन निर्माणमा लाग्दा गोविन्दजीसँगै सम्पर्क भयो । म अचानक बिरामी भएपछि उपचारका लागि बनारस लैजान पार्टीले उहाँलाई नै खटायो ।

अप्रेसन सफल भइसकेपछि उहाँले नै विवाहको प्रस्ताव राख्नुभयो । मैले अस्वीकार गरेँ । उहाँले कारण खोज्नुभयो । मैले आफ्नो परिस्थिति अवगत गराएँ, म हिजो बेचिएकी मान्छे हुँ भनेर सबै कुरा राखेपछि उहाँले एकै शब्दमा जवाफ दिनुभयो, चन्द्रमामा पनि खोट छ– त्यसो हो भने हामीले चन्द्रमालाई दुत्कार्न सक्छौँ ? अन्यथा ठान्दिनँ स्विकार्छु भने पछि पार्टीलाई जानकारी गरायौं । झलनाथ खनालको अभिभावकत्वमा हाम्रो जोडी बाँधिएको हो ।

अहिलेका युवालाई के सन्देश दिन चाहनुहुन्छ ?

– योगेश भट्टराई, गोकर्ण बिष्टलगायत दश भाइ चिन्ह र टिकटको फन्दामा लागेर केपीका पछि परे । पार्टी बचाउनुपर्छ भन्ने सोचेनन् । अब त्यस्ता १० भाइजस्ता सास भएका लाश नजन्मिउन् । तिनलाई टिकट दिएर जिताउन् ।

टिप्पणीहरू