ट्राफिक प्रहरीले अब सिठ्ठीसँगै डायरी र कलम पनि बोक्नुपर्ने

ट्राफिक प्रहरीले अब सिठ्ठीसँगै डायरी र कलम पनि बोक्नुपर्ने

काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले सडकमा खटिएको समयमा अनिवार्य रूपमा सिठ्ठीझैँ डायरी र कलम पनि साथमा बोक्नु पर्ने भएको छ । ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि काममा खटिँदा हुने घटना र अन्य विवरणहरू तत्काल लेखेर कार्यालय प्रयोजनको निम्ति ती विवरणको सुरक्षित र उत्तरदायी अभिलेखीकरण गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले काठमाडौं उपत्यकामा कार्यरत १६ सय ट्राफिक कर्मचारीलाई हिजो डायरी र कलम बाँडेका छन् । अबदेखि ट्राफिकले आफ्नो कार्यक्षेत्रमा भएका सवारी दुर्घटनासँग सम्बन्धित सबै विवरण तत्काल टिप्नुपर्ने भएको छ ।

उनले ट्राफिक प्रहरीलाई हिजैदेखि अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्न निर्देशन समेत दिएका हुन् ।

टिप्पणीहरू