आज सबैभन्दा कम संक्रमित, मृत्युदर शून्य

आज सबैभन्दा कम संक्रमित, मृत्युदर शून्य

आज हालसम्मकै सबैभन्दा कम संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर २७ जना कोरोना संक्रमित भेटिएका हुन् । चार हजार सात सय ४७ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा दुई सय २० जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ३ प्रतिशत रहेको छ । अझै चार हजार तीन सय ७६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा नौ जना संक्रमित थपिएका छन् । भक्तपुरमा र ललितपुरमा कोरोना संक्रमित भेटिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या चार सय ३७ छ । भक्तपुरमा ३७ र ललितपुरमा तीन सय ३८ जना सक्रिय संक्रमित छन् ।

आज कसैले पनि संक्रमणका कारण ज्यान गुमाएका छैनन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये नौ जना युवायुवती छन् भने पाँच जना किशोरकिशोरी हुन् । त्यस्तै, दुई जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू