धनगढीमा मेयरका लागि जसको चर्चा छ

धनगढीमा मेयरका लागि जसको चर्चा छ

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनकाे मिति नजिकिएसँगै देशभर चुनावी सरगर्मी बढेको छ । अन्य पार्टीका नेता-कार्यकर्ता तान्नदेखि आफ्नो पक्षमा माहोल बनाउन दलहरु कस्सिएर लागिसकेका छन् । प्रमुख चार पार्टीका नेताहरु चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ पस्न थालेपछि मुलुक चुनावमय हुँदैछ ।

दलहरु अभियान लिएर गाउँ जान थालेकाले निर्वाचन आउन दुई महिना बाँकी छँदै चुनावी चर्चा परिचर्चा शुरु भएको हो । ‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने,कस्तालाई भोट दिने ?’ लगायत बहस जताततै शुरु भैसकेको छ । यसैबीच सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका रहेको धनगढीमा भावी नेतृत्वबारे चासो र चर्चा हुन थालेको छ । यहाँ कुन पार्टीबाट कसले टिकट पाउला भन्ने कौतुहलता आमरुपमा देखिन्छ ।

स्थानीय चुनावका लागि धनगढीमा दलहरूले उम्मेदवार छान्न शुरु नगरे पनि सम्भावित उम्मेदवारको चर्चा भइरहेको छ । प्रमख राजनीतिक दल नेकपा एमाले,नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले कसलाई टिकट दिने भन्ने सवाल उठ्न थालेको हो ।

मेयरका लागि उद्योगी,व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उठेर पराजित भएका हमालले यस पटक पुनः स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी दिन उनले विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक पदबाट राजीनामा दिएका छन् । अघिल्लो निर्वाचनमा उनी कांग्रेसका नृपबहादुर वडसँग दुई हजार ७०० मत अन्तरले पराजित भएका थिए ।

धनगढी उपमहानगरपालिकाको मेयरमा प्रमुख राजनीतिक दलबाट चर्चामा रहेका उम्मेदवारको विवरण यस्तो छ :

नेकपा एमाले

नेकपा एमालेबाट कैलाली जिल्ला उपाध्यक्ष दुर्गा जोशी र नेता रणबहादुर चन्दलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । दुर्गा जोशी २०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा पराजित भएका थिए । त्यतिबेला उनी करिब नाै हजार मत ल्याउँदै चौथो स्थानमा खुम्चिए । मेयरमा पराजित जोशीलाई सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनाइएको थियो । उनै जोशी धनगढीको मेयरमा पुनः उम्मेदवार बन्न दौडधुप गरिरहेको एमाले निकट नेता बताउँछन् ।

एमालेबाट मेयरका अर्का सम्भावित उम्मेदवार रण्बहादुर चन्द लामो समयदेखि राजनीतिमा सक्रिय भएपनि हालसम्म कुनै निर्वाचनमा टिकट पाएका छैनन् । एमाले जिल्ला सचिवमा रहेर लामो समय काम गरिसकेका उनले त्यहाँ राम्रो पकड बनाएका छन् । खासगरी उनलाई इमान्दार राजनीतिकर्मीका रूपमा चिन्ने गरिन्छ । चन्दले यसपटक भने टिकट पाउन दौडधुप गरिरहेको बताइन्छ । पार्टीमा लामो योगदान दिए पनि कुनै अवसर नपाएका कारण यसपटक उनको सम्भावना बलियो रहेको एमाले नेताहरु बताउँछन् ।

नेपाली काँग्रेस

नेपाली काँग्रेसबाट वर्तमान मेयर नृपबहादुर वड,उपमेयर सुशीला मिश्र भट्ट र नेता कृष्णबहादुर महराको चर्चा हुन थालेको छ ।

२०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई दुई हजार ७०० मतले पराजित गर्दै नृपबहादुर मेयरमा विजयी भएका थिए । अझै एक कार्यकाल दोहोरिन पाउनुपर्ने भन्दै उनले सार्वजनिक रूपमै उम्मेदवारी दिने संकेत गरिसकेका छन् । आफूले नगरको विकासका लागि स्पष्ट खाका बनाएको र सोअनुसार काम गरेर देखाउन पुनः मेयरमा उम्मेदवार हुन पाउनुपर्ने उनको जिकिर छ ।

यसैगरी,धनगढी उपमहानगरपालिकाकी उपमेयर भट्टको नाम पनि यसपटक मेयरको उम्मेदवारका रुपमा चर्चामा आएको छ । अर्को चुनावमा उही पदमा नदोहोरिने घोषणा गरिसकेकी भट्टले मेयरको टिकटका लागि पार्टीमा लबिइङ शुरु गरेको बताइन्छ । नेपाली कांग्रेसको केन्द्रीय प्रशिक्षकका रुपमा समेत काम गरिसकेकी भट्टको केन्द्रमा राम्रो पहुँच भएका कारण उनले टिकट पाउन सक्ने आंकलनसमेत गरिएको छ । उनी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् ।

कांग्रेसका नेता तथा व्यवसायी कृष्णबहादुर महराको नाम पनि मेयरको उम्मेदवारका रूपमा चर्चामा छ । २०७४ मै उनी बलिया दाबेदारका रुपमा देखिएका थिए । तर,अन्तिम समयमा टिकट खोसिएको थियो । जसकारण यस पटक कांग्रेसले उनलाई अघि सार्नसक्ने धेरैको आंकलन छ ।

माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रबाट शान्ति अधिकारी र बलबहादुर ऐरलाई मेयरको आकांक्षीका रूपमा हेरिएको छ । तर,माओवादी केन्द्रले भने पार्टीको निर्णय नभएसम्म कसैलाई दाबेदार भन्न नमिल्ने जनाएको छ । ‘अरु पार्टीजस्तो दाबेदारका भरमा हाम्रो पार्टीमा टिकट पाइँदैन’, ‘माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य रमेश धामीले भने, ‘पार्टीको निर्णयले नै आधिकारिक उम्मेदवार घोषणा गर्नेछ ।’

अधिकारी गत स्थानीय निर्वाचनमा माओवादीबाट उपमेयर पदमा चुनाव लडेकी थिइन् । तर,उनले जीत हात पार्न सकिनन् । शिक्षा व्यवसायी अधिकारीलाई त्यहाँ शिक्षित वर्गका रूपमा हेर्ने गरिएको छ । माओवादीबाटै मेयर पदका सम्भावित उम्मेदवार भन्दै चर्चामा आएका बलबहादुर ऐर धनगढी-३ का वडा अध्यक्ष हुन् । वडा अध्यक्ष हुनुअघि खासै चर्चामा नरहेका ऐरले अनपेक्षित रूपमा वडा अध्यक्ष पद जितेपछि उनी चर्चामा छन् । उनले विकासप्रेमी नेताको छवि बनाएका छन् ।

एकीकृत समाजवादी पार्टी

नेकपा एकीकृत समाजवादी पार्टीबाट सो पार्टीका धनगढी नगर अध्यक्ष मदन रेग्मीको नाम चर्चामा छ । लामो समय नेकपा एमालेमा राजनीति गरेका रेग्मी सामाजिक क्षेत्रमा परिचित व्यक्ति हुन् । उनी नेकपा एमाले निकट युवा संघको केन्द्रीय सचिवसमेत भएका थिए । अहिले उनी नेकपा एसको नगर अध्यक्ष छन् । यसका अलावा सो पार्टीबाट नै मेयरमा चुनाव लड्ने भन्दै व्यवसायी राजेश भण्डारीको नामसमेत चर्चामा आएको छ । तर, भण्डारी अहिलेसम्म नेकपा एसमा खुलेर लागेका छैनन् । उनी यसअघि नेकपा एमालेमा आवद्ध थिए ।

टिप्पणीहरू