प्रहरीले कुटेर मारेपछि किटानी जाहेरी (अडियोसहित)

प्रहरीले कुटेर मारेपछि किटानी जाहेरी (अडियोसहित)

सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीको कुटाईबाट ज्यान गएको भनिएका कृष्ण हमाल मिनीका आफन्तले सुब्बाकुना प्रहरी इञ्चार्ज सई शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् ।

मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय हिराचन्द्र हमालले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा धामीविरुध्द कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका हुन् ।

अस्ति साँझ वीरेन्द्रनगर भित्रिने प्रवेशद्वार सुब्बाकुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर कुटपिट गरेपछि उनको मृत्यु भएको परिवारको आरोप छ ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले किटानी जाहेरी परेकाले अब कानुनी प्रक्रियाअनुसार अनुसन्धान थालिने जनाएको छ ।

प्रहरीको कुटाईबाट वीरेन्द्रनगरमा कालीकोटका एक युवकको ज्यान गएको भनिएको यस घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति पनि गठन भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको हो ।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । प्रशासनले घटनालाई लिएर जिल्लामा हुन सक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न पूर्व आदेश दिएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षमा बसेको सुरक्षा निकायको बैठकले मृतकका आफन्तलाई पनि छानविनको वातावरण बनाउन आग्रह गरेको छ ।

यसैबीच प्रहरी र मृतकका आफन्तसँग भएको सहमतिअनुसार आन्दोलनका कार्यक्रमहरु फिर्ता गरिएको मृतकका काका कलमबहादुर हमालले जानकारी दिएका छन् ।

उनले दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

टिप्पणीहरू