​स्वस्थ जीवनका निम्ति स्पष्ट सल्लाह

एक वर्षपछि सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भयो । यो बैठकको विशेषता वा आयाम हो कि, यसले एउटा मार्गचित्र तय गरेको छ ।

अब नेकपा महाधिवेशनको बाटोतर्फ अग्रसर हुने भयो । बैठकले माइन्युट नै गरेर ०७७ चैत, अर्थात ठीक १६ महिनापछि महाधिवेशन गर्ने कुरा निर्देश गरेको छ । अबको ६ महिनाभित्र जिल्ला अधिवेशन सकिसक्ने निर्देशन छ । पुस २३ गते केन्द्रीय कमिटीको बैठक बस्ने भनिएको छ । त्यसअघि १५ दिनको म्याद दिएर प्रमुख र उपप्रमुखमात्र तोकिएका सबै आयोग र विभागलाई पूर्णता दिने योजना छ । 

पार्टी एकीकरणपछि उत्पन्न गतिरोधका बीच यसचोटि नेकपाले एकल नेतृत्वको पहिलो बैठक आयोजना ग¥यो । विगतमा लामो समय बैठक नबसेकोप्रति खुलस्त आत्मालोचना पनि गरिएको छ । र, अब ३–३ महिनामा स्थायी कमिटीको बैठक, र केन्द्रीय कमिटी बैठक बस्ने पनि भनिएको छ । यही बैठकमा वाद, सिद्धान्त, विधि, व्यवहारबारे खुलेर मन माझ्ने काम भएको छ । बैठकको अध्यक्षता गर्नुभएका प्रचण्डले सकभर विमति नराखी सहमतिमा असन्तुष्टिलाई सल्ट्याउने प्रयास गर्नुभएको छ । असन्तुष्टलाई आफ्नो कुरा राख्न दिएर मन माझ्ने अवसरका रुपमा नेकपाको बैठकलाई लिइएको छ । प्रचण्डले नै भन्नुभएको छ, ‘हिजो जनयुद्धताका म एक्लैले राजनीतिक प्रतिवेदन, कार्यदिशा र परिस्थितिको विश्लेषण लेख्थेँ । आज अर्को पक्ष र अध्यक्षको पनि मनोभावना बुझेर प्रतिवेदन लेखेको छु ।’ 

यसचोटिको बैठकमा सरकारको कामको जमेर मूल्यांकन भएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे वारपारको बहस गरिएको छ । अमेरिकाको ५० मिलियन डलर ल्याउने यो परियोजना कसैको सैन्य वा रणनीतिक छातामुनी जान नहुने गरी पार गर्ने कुरामा सहमति जुटेको छ । अर्थात्, अपारदर्शी हिसाबले केही पनि काम हुनुहुँदैन भन्नेमा नेकपा पुगेको छ । लिम्पियाधुरा, लिपुलेक सिमानामा सरकारी अडानको दृढ समर्थन गर्दै थप कूटनीतिक पहलका निम्ति बैठकले मार्गनिर्देश गरिएको छ । एउटा संस्था जीवित रहनका निम्ति शरीरमा रक्तसञ्चार भएजस्तै हो, राजनीतिक दलको बैठक र छलफल । यसरी नै सबै प्रकरणमा राजनीतिक दल र शक्तिहरू क्रियाशील हुने हो भने देशका यावत समस्याको निकास निस्कनेमा द्विविधा हुँदैन । नेपाली कांग्रेस, मधेसवादी दलसहित साना कम्युनिष्ट घटकमा पनि यस्तो अभ्यास विकसित हुने विश्वास लिन सकिन्छ ।

आशा गरौँ, कम्युनिष्ट पार्टीमा आलोचना, आत्मालोचनाको प्रक्रिया छ, त्यसलाई शव्द वा औपचारिकतामा सिमित नराखेर व्यवहारिक रुपले कार्यन्वयन हुनुपर्छ । कसैले संस्था र नेतृत्व सुधारका निम्ति राखेको सुझावमा शत्रुतापूर्ण व्यवहार नगरी नेतृत्व अघि बढ्नुपर्छ । पहिलाजस्तो कुरा राखेबापत बद्ला वा शिकारको भावना नेतृत्वमा नरहोस् । नत्र फेरि खुम्चिएर, गुम्सिएर, राग पालेर बस्नुपर्ने जस्तो भयो भने समस्या पिलोजस्तै चर्किरहनेमात्र हुन्छ ।

टिप्पणीहरू