काठमाडौंमा गरिएको रक्सीको लगानीबारे अमेरिकामा उठ्यो सवाल

काठमाडौंमा गरिएको रक्सीको लगानीबारे अमेरिकामा उठ्यो सवाल

काठमाडौंको मुटुमा रहेको दुई वटा रक्सी पसलमा विभिन्न बैंकहरुले गरेको करोडौं लगानीबारे अमेरिकामा बस्नेहरुले कुरो उठाएका छन् । कान्तिपथ र दरबारमार्गमा रहेको ‘ग्रीनलाइन’ (महँगा रक्सी बेच्ने पसल) का साहुजी बैंकहरुको लगानी डुबाएर भारत भासिएपछि उक्त कुरोले चर्चा पाएको हो ।

अहिले ग्रीनलाइनको रक्सीवारे अरुले होइन नेपाल राष्ट्र बैंकका एक जना पूर्वकर्मचारीले सामाजिक सञ्जालमा लेखेपछि उक्त विषय ‘भाइरल’ भएको हो । उनले नेपालका बैंकहरुले गरेको लगानी सम्बन्धमा नियमनकारी निकाय राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामाथि प्रश्न चिन्ह उठाउँदै सामाजिक सञ्जाल रंगाएका हुन् ।

पञ्चनारायण प्रजापति नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् । डिभि चिठ्ठा परेपछि झण्डै एक दशकदेखि बैंकको जागिर छाडेर अमेरिकामा बस्दै आएका छन् । उनले बिनाधितो रक्सी पसलमा १ अर्ब रुपैयाँ लगानी गरिएको सम्बन्धमा बेलैमा निरीक्षण तथा सुपरीवेक्षण गर्न नसकेको भन्दै नियमनकारी निकायको क्षमतामाथि प्रश्न चिन्ह उठाएका हुन् ।

प्रजापतिको उक्त प्रश्नलाई बैंकका केही बहालरत कर्मचारी र पूर्वकार्यकारी निर्देशकहरुले समर्थन गर्दै आफ्नै खालका प्रतिक्रिया दिएका छन् । उनको फेसबुक स्टाटसलगत्तै पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनीले प्रतिक्रिया लेखेका हुन् । पंगेनीले,‘नेपाल राष्ट्र बैंकका अधिकृतहरु फेसबुक र कर्मचारी युनियनको राजनीतिमा व्यस्त भएकाले सुपरीवेक्षण र नियमनप्रति जिम्मेवार नभएको उल्लेख गरेका छन् ।’

पंगेनी पूर्वगभर्नर चिरन्जीवी नेपालको कार्यकालमा केही समय जनशक्ति व्यवस्थापन विभागको हाकिम थिए । त्यसैगरी विगतमा नियमन र लामो समय अनुसन्धान तथा आन्तरिक लेखापरीक्षण विभागमा बसेकाले उनले त्यस्तो लेखेको हुन सक्ने आकलन गरिएको छ ।

बैंकबाट अवकाशप्राप्त निर्देशक तथा यसअघि नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जको महाप्रबन्धक भइसकेका डा.रेवत कार्कीले अर्थशास्त्रीको भाषामा बैंकको आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘वित्तीय क्षेत्रमा प्रणालीगत जोखिम देखिएको छ ।’ नेपाली काँगेसका नेता पूर्वमन्त्री डा.रामशरण महत निकट कार्कीले महतकै शैलीमा प्रतिक्रिया लेखेको अर्काथरि काँग्रेसीले बताए ।

बैंकका केही पूर्व कर्मचारीले प्रजापतिको स्टाटसमा आफ्नै ढंगले प्रतिक्रिया लेखेका छन् । एक जनाले ‘केन्द्रीय बैंकका कर्मचारीलाई सेयर कारोबार र पार्टी राजनीति गर्दैमा फुर्सद छैन,’भनेका छन् । अर्का एक जनाले ‘पुराना र अनुभवीलाई छिटो घर पठाउने र नयाँलाई छिटो छिटो प्रमोशन गर्नुको परिणाम हो । हेर्दै जानु अझ के के देख्नुपर्ला है ?,’ लेखेका छन् । ‘सरुवा र बढुवामा भएको युनियनको दादागिरीले अहिलेको अवस्था आएको,’ केही वर्षअघि सेवानिवृत्त भएकाले लेखेका छन् ।

प्रजापतिको प्रश्नमा अर्का सेवा निवृत्त कार्यकारी निर्देशक डा.रविन्द्रप्रसाद पाण्डेले पछिल्ला दिन बैंकमा आवश्यकताभन्दा बढी राजनीतिक राग अलाप्न थालिएको आशंका गरेका छन् ।

अहिलेका गभर्नर महाप्रसाद अधिकारीसँग निकट सम्बन्ध रहेको भनिएका केदारप्रसाद आचार्य एक्लोले सकारात्मक भावमा प्रतिक्रिया जनाएका छन् । उपनिर्देशकबाट रिटायर्डलगत्तै उनी लगानी बोर्डसँग सम्बन्धित छन् । वाणिज्य बैंकहरुले रक्सी पसलमा गरेको भनिएको उक्त लगानी र नियमनकारी निकायले गरेको भनिएको सुपरीवेक्षण सम्भवतः अधिकारी गभर्नरमा नियुक्त हुनु अगावै भएको बैंक सुपरीवेक्षण विभाग स्रोतले बताएको छ ।

तर आचार्यले सबैलाई सिकाउँदै लेखेका छन्, ‘विनाधितो दिएको जस्तो लाग्दैन । कतिपय अवस्थामा विनाधितो दिन पनि सक्छन् । तर त्यसको लागि धेरै प्रोभिजनिङ गर्नुपर्छ ।’ आचार्य लामो समय बैंकिङ कार्यालय,बिराटनगर कार्यालय र पछिल्लो दिन भुक्तानी प्रणाली विभागमा कार्यरत थिए ।

यता, पूर्वकार्यकारी निर्देशक माधव भट्टले पनि केन्द्रीय बैंकमा राजनीतिक खेलोफड्को धेरै भएको आरोप लगाएका छन् । उनले लेखे, ‘भर्ना हुनासाथ युनियनको सदस्य भइ हाल्नुपर्ने अवस्थाले राष्ट्र बैंकमा अब राजनीतिबाहेक केही छैन जस्तै छ ।’

अरुले राजनीतिक सन्दर्भ उठाए पनि भट्टले भन्न नसुहाउने एक जना बहालरत कार्यकारी निर्देशकले बताएका छन् । उनी भन्छन्, ‘हामी भर्खर बैंक प्रवेश गर्दा उनको चकचकी थियो । भट्ट जनशक्ति व्यवस्थापन विभागमा छँदा वामपन्थी विचारधाराका कर्मचारीलाई अन्तर्वार्ताको अघिल्लो दिन काँग्रेसी युनियनको सदस्यता लिनको लागि दबाब दिने उहाँ नै हो । विजयनाथ भट्टराई गभर्नर हुँदा सञ्चालक समितिको बैठक कक्षमा युनियनका पदाधिकारीहरुभन्दा एक कदम अघि बढेर राजनीतिक भाषा बोल्ने उहाँ नै हुनुहुन्थ्यो । त्यसैले अरुले भन्न सुहाउला,उहाँले एक रत्ति सुहाउँदैन ।’

भट्टको सन्दर्भ उल्लेख गर्दै उनै कार्यकारीले विगतबारे बेलिबिस्तार लगाएका छन् । माधव भट्ट अध्यक्ष रहेको तत्कालीन इन्टरनेशनल डेभलेपमेण्ट बैंकमा गाडी काण्ड मच्चिएको थियो । उक्त काण्डमा राष्ट्र बैंकले भट्ट स्वयमलाई कारबाही गरेको सन्दर्भ धेरै पुरानो नभएको उनले बताए ।

कार्यकारी निर्देशकले अगाडि भने, ‘उक्त विकास बैंकपछि एनसीसी बैंकमा मर्ज भयो । मर्जपछि एनसीसीको सञ्चालक रहेका भट्टले बैंक सुधारमा कौडीको योगदान गर्न सकेनन् । उल्टै सञ्चालक रहेको त्यही बैंकलाई केन्द्रीय बैंकले पटक पटक विभिन्न स्तरको कारवाही गरेको थियो ।’

त्यसैगरी डा.तिलक रावल गभर्नर हुँदा भट्टलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालय,वासिँगटनमा पठाइएको थियो । वर्षको कम्तीमा एक करोड आउने उक्त अवसरमा उनी दुई वर्षको लागि गएका थिए । भट्टपछि राष्ट्र बैंकलाई तल्लो तहको कर्मचारी प्रतिनिधि पठाउन भनियो । तर माथिल्लो पदमा दुई वर्ष बसेका भट्टले आकर्षक तलबको लोभमा तल्लो पदमा भए पनि पुनः दुई वर्ष बस्न पाउँ भन्दै गभर्नरलाई निवेदन हालेको बताइन्छ । त्यतिबेला रावलले बालुवाटारबाट वासिँगटनमा फोन गरेर भट्टलाई ‘लाज छैन ? सुदूर पश्चिमको बेइज्जत गर्ने ?’ भन्दै तत्काल स्वदेश झिकाएका थिए ।

त्यही रिसले काठमाडौं फर्केपछि डा. रावलसँग उनले पानी बाराबारको सम्बन्ध बनाए । जहाँ पायो त्यहिँ गभर्नर रावलको कुरा काट्दै हिँडे । २०६१ सालमा बैंकको स्वर्ण महोत्सवको उपलक्ष्यमा प्रकाशित संस्मरण संगालोमा सेवानिवृत्त भएका गभर्नर रावलले उनै भट्टको मीठो शब्दमा आलोचना गरेका छन् ।

अमेरिकाबाट प्रश्न उठाइएको विषयको सन्दर्भ भने यस्तो छ :

कान्तिपथ र दरबारमार्गमा खोलिएको महँगो रक्सी पसलमा सात वटा बैंकको ६० करोडभन्दा बढी रुपैयाँ फसेको छ । मुलुककै सर्वाधिक महँगो रक्सी पसलमा गनिएको ग्रिनलाइनलाई तँछाडमछाड लगानी गर्दा रक्सी पसलका मुख्य मालिक अमित अग्रवाल अहिले भारततिर हराएका छन् ।

अग्रवालले नेपाल इन्भेष्टमेण्ट बैंकको सबैभन्दा बढी २९ करोड रुपैयाँभन्दा बढी ऋण लिएका छन् भने एभरेष्ट बैंकको २१ करोडभन्दा बढी । अरु पाँच वटा बैंकको पनि झण्डै १० करोड रुपैयाँ बराबरको कर्जा रकम फसेको बताइएको छ । तर फसेको बैंक कर्जाबारे ठ्याक्कै यति भनेर कसैले पनि जानकारी दिएका छैनन् ।

गोदाम र पसलभित्रको रक्सीको मौज्दातलाई हेरेर कर्जा प्रवाह गरे पनि कान्तिपथको उक्त पसलभित्र मुश्किलले ५ करोड रुपैयाँको रक्सी रहेको अनुमान गरिएको छ । रक्सी देखाउँदै लिइएको कर्जा अग्रवालले घर,अपार्टमेण्ट र जग्गामा लगानी गरेका हुन् ।

उक्त कर्जा मौज्दातमा रहेको रक्सी र गुडविलको आधारमा ‘हाइपोथिकेसन कर्जा’ दिइएको हो । अग्रवालको झण्डै छ ठाउँमा जग्गा,दुई चार वटा घर र अपार्टमेण्ट रहेको बताइएको छ ।

बैंकहरुले तछाँड मछाड गर्दा उनले धेरै कर्जा लिने मौका पाएका हुन् । अग्रवालले पहिले डिस्टिलरी खोल्न लाइसेन्सको समेत प्रयास गरेका थिए । लाइसेन्स उपलब्ध गराउने नाममा सरकारी कर्मचारी र बिचौलियाले समेत उनको धेरै पैसा झ्वाम पारिदिए । पछि उनले लाइसेन्स पनि पाएनन् र लगानी गरिएको घरजग्गा र रक्सी व्यापार सबैतिर कोरोनापछि समस्या देखिएपछि उनी भारत भासिएको अनुमान छ ।

अग्रवाल भागेपछि लगानी गरेका सबै बैंकले ग्रिनलाइनको पसलभित्र रहेको रक्सीमा आँखा लगाएका हुन् । तर त्यहाँ जम्मा पाँच करोड रुपैयाँभन्दा कमको रक्सी रहेको बताइन्छ । त्यहि पनि एकाध दिनमा प्रशासनको रोहबरमा लिलाम गर्ने तयारी गरिएको भनिएको धेरै दिन भइसकेको छ ।

टिप्पणीहरू