साथी भकुर्ने सैनिक समातिए

साथी भकुर्ने सैनिक समातिए

प्रधानसेनापति हुँदा पूर्णचन्द्र थापाले भ्रष्टाचारीलाई पाता कसे, नक्कली प्रमाणपत्रधारी र विभिन्न काण्ड लागेकाहरुलाई जागिरबाट छानीछानी बिदा गरे भनेर बीचमा हाई–हाई त भयो, तर कार्यालय सकिनै लाग्दा त्यसभित्र लुकेका खेलहरु देखेर रक्षा मन्त्रालयका हाकिमहरु अहिले अचम्म मानिरहेका छन् ।

आफू भदौमा जागिर सिध्याएर हिँडे । तर, चैतसम्म गर्नुपर्ने बढुवा, म्याद थपका फाइलहरु साउनमै रक्षा मन्त्रालय पठाइदिए । त्यसमध्ये प्राविधिकहरुको सरुवा, बढुवासम्बन्धी फाइल त सदर भयो तर सचिव रेश्मीराज पाण्डे नभएको बेलामा पुगेका अरु फाइल भने कामु सचिवले फिर्ता पठाइदिए ।

‘उहाँले जागिर खाने अवधिसम्मको सिफारिस हामी मान्छौँ, कार्यान्वयन गर्छौं, तर त्यसभन्दा पछि अरुको हक खोस्ने काम स्वीकार्य हुँदैन’ भन्दै वरिष्ठतम सहसचिव कृष्ण ज्ञवालीले नियम मिच्न मानेनन् । त्यसपछि जंगी अड्डाबाट रक्षा पठाउन भनेर पूर्णचन्द्रले तयार पारेका मानार्थ, विशेष र नियमित बढुवाका फाइलहरु केलाउन थालियो ।

र, पुस २० गते रक्षाले हालका प्रधानसेनापति प्रभुराम शर्माले गरेको सिफारिशबमोजिम क्याबिनेटमा प्रस्ताव पठायो । दुई हप्ता भयो, आजसम्म त्यो फाइल न सदर भएको छ, न त संशोधन नै ।

माघ २५ बाट म्याद थपिनुपर्ने दुई तारे जर्नेल अनन्त कार्कीको नाम अहिलेको सिफारिसमा छैन, ताराध्वज पाण्डे र सीताराम खड्कामात्र सिफारिसमा परेको थाहा पाएपछि शेरबहादुर देउवा केही वर्षपहिला प्रधानमन्त्री भएको बेला एडिसी बसेको नाता लगाएर भानु देउवा र आरजू म्याडमलाई गुहार्दै अनन्त बालुवाटार पुगेका छन् ।

खासमा पूर्णचन्द्रले आफ्नो कोटरीका अनन्तलाई चिफ बनाउने हिसाब निकालेका थिए तर अब स्थिति फेरिएको छ र उनको म्याद नथप्दा ताराध्वजको प्रधानसेनापति हुने लाइन खुल्छ भनिन्छ । अहिलेकै हिसाबले चाहिँ अशोक सिग्देल भावी प्रधानसेनापतिका रुपमा बढी सुरक्षित देखिन्छन् ।

ताराध्वजको लाइन खुल्ने सरोजप्रताप राणाको अवधि नथपे मात्रै हो । नत्र, ताराध्वज तीन तारे हुनै नपाउने अवस्था रहन्छ । पूर्णचन्द्रको पालामा सरोजप्रतापको उमेर विवाद नवलपरासी जिल्ला प्रशासनलाई शशीभवनबाट फोन गरेर मिलाइएको थियो ।

पूर्णचन्द्रलगायतका सेनापतिहरुको पूर्वाग्रहको शिकार भएका सहायक रथी सुरेश बानियाँ पनि हुन् । उनीमाथि ०६१ सालमा गरेको गल्तीलाई लिएर ०७८ सालसम्म दुःख दिइएको बताइन्छ । तर, ०६१ पछि उनले दुई तह बढुवा खाइसके । ०६१ को कसुरमा ०७५ को कानुनले उनलाई अयोग्य बनाइएको छ, जुन कुरा प्राकृतिक न्यायको सिद्धान्तबमोजिम पनि गर्न मिल्दैन भनिन्छ ।

त्यसो त नेपालको अदालतले पनि अचम्मका काम गरेका छन् । रुक्माङ्द कटवालको उमेर विवादसम्बन्धी फैसला अवकाश पाएपछि भयो । प्रधानसेनापति हुने लाइनमा प्रेमप्रकाश थापा मगर थिए । प्रदीपप्रताप बम मल्ल पनि अदालतकै ढिलाइको कारण जिउँदा शहीद भए । प्रेम शाहीले जन्ममितिबारे हालेको मुद्दा अझै लम्बिरहेको छ ।

उता, उपचारका लागि भारत गएका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार जंगी अड्डामा हाजिर भए र अस्ति अपराह्न प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका छन् । त्यस्तै, एकआपसमा झगडा गरेर साथीलाई मरणासन्न बनाएपछि एकजना सैनिक अस्पताल भर्ना भएका छन् भने अर्कालाई सैनिक प्रहरीको हिरासतमा थुनिएको छ ।

टिप्पणीहरू