बालबालिकाले लगाए गाउँपालिका हाकिमको कोठामा ताला

बालबालिकाले लगाए गाउँपालिका हाकिमको कोठामा ताला

नेपालकै पहिलो बालमैत्री स्थानीय शासन अवलम्बन घोषित मनहरी गाउँपालिकामा बालबालिकाले गरेको आन्दोलन चर्कंदै गएको छ । बालबालिकाले महिला तथा बालबालिका शाखामा तालाबन्दी गरेको भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।

कार्यकक्षमा रहेका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठलाई बाहिर निकालेर तालाबन्दी गरिएको बालसञ्जालका अध्यक्ष आशिष बुढाथोकीले बताए । छातीमा प्लेकार्ड टाँसेका बालसञ्जालका पदाधिकारी र सदस्यहरुले आज अपरान्ह तालाबन्दी गरेका हुन् ।

गत पुस २७ गते गाउँपालिकाको कार्यपालिका बैठकले ९ जना बालमैत्री सहजकर्तालाई माघ १ गतेबाट बर्खास्त गर्ने निर्णय गरेपछि बालसञ्जाल आन्दोलनमा उत्रिएको हो । सञ्जालले बर्खास्त गरिएका बालमैत्री सहजकर्तालाई पुनर्बहाली गरिनुपर्ने, बालबालिकाको शीर्षकमा विनियोजित रकम अन्यत्र रकमान्तर गर्न नहुनेलगायतका माग राख्दै आएको छ ।

बर्खास्तमा परेका बालमैत्री सहजकर्तामध्ये दुई जना सुत्केरी र दुईजना गर्भवतीसमेत रहेका छन् । उनीहरुलाई गाउँपालिकाले विगत ४ वर्षदेखि दैनिक ज्यालादारीमा काम लगाउँदै आएको थियो । बालसञ्जालले गाउँपालिकाभित्र बाल विवाह रोक्ने, बाल श्रममा परेकाहरुको उद्दार गरेर विद्यालय जान प्रेरित गर्नेलगायतका राम्रा कामहरु गर्दै आइरहेको छ । माघको पहिलो सातामा मात्रै सञ्जालको सक्रियतामा जनप्रतिनिधि र सरोकारवालाहरु मिलेर मनहरी गाउँपालिका ८ नम्बर वडामा मात्रै तीन जोडीको बालविवाह बदर गरी परामर्शका लागि सिविन बाल हेल्पलाइनमा पठाइएको बुढाथोकीले बताए ।

‘हामी चाहिँ रातदिन बालबालिकाको क्षेत्रमा यसरी मरिमेटेर काम गर्ने, स्थानीय सरकारका चाहिँ हामीलाई निराश बनाउने ?’, सञ्जालका अध्यक्ष बुढाथोकीको भनाइ छ ।

टिप्पणीहरू