सचिव लखेटेर भित्र्याइएका बिजुली बस खोई ?

सचिव लखेटेर भित्र्याइएका बिजुली बस खोई ?

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला निकै तामझामका साथ भित्र्याइएका १५ वटा विद्युतीय बसको चर्चा हुन छाडेको छ । निकै खेलो फड्को गरेर भित्र्याइएको बसमा राखेर प्रधानमन्त्रीलाई पुल्चोकदेखि केहीबेर राजधानीको सयरसमेत गराइएको थियो । प्रधानमन्त्रीको पुल्चोकदेखि सिंहदरबारसम्मको त्यही सयरलाई नै विद्युतीय बसको उद्घाटन भनियो ।

राजधानी र लुम्बिनीमा विद्युतीय सवारी साधन प्रवर्धन गर्ने नाममा ती बस ल्याउनु अघिको प्रक्रियामा तगारो बनेपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटालाई अन्यत्र लखेटिएको थियो । मन्त्रालयको स्पेसिफिकेशन विपरीतका विद्युतीय बस ल्याइएपछि सचिव देवकोटाले फाइलमा दस्तखत गरेनन् । त्यसपछि बाँकी नै के रह्यो र न रहे बाँस, न बजे बाँसुरीको सिध्दान्तमा सचिवलाई नै टिपेर खेलकुद मन्त्रालयतिर फाल्न लगाइयो ।

सचिव फालेर ल्याइएका १५ वटा बिजुली बस यतिखेर लुम्बिनीमा गुडाइएका छैनन्, थन्काइएको छ । चीनबाट ल्याउने भनिएका तर भारतमा बनेका ती बसलाई कागजातमा नक्कली व्यहोरा उल्लेख गरिएको थियो ।

भारतमा बनेको भनिएका ती बसमा मेकानिकल इन्जिनियरहरुले १७ वटा बुँदामा खोट देखाएपछि सरकार बस अस्वीकार गर्न बाध्य भएको हो । मन्त्रालयले तोकेको स्पेसिफिकेसनविरुद्धको बस बुझ्न सचिवले अस्वीकार गर्नुपर्ने भनिएपछि एकाएक सरुवा गराइएको थियो ।

त्यतिबेलाका शक्तिशाली प्रधानमन्त्रीले चढेर उद्घाटन गरिएका ती सबै बस अहिले लुम्बिनीमा घाम तापेर बसेका छन् । बस उद्घाटन गर्दा भने सचिव देवकोटा मुलुकमा थिएनन् । एक दिन पनि सञ्चालनमा नल्याइएका करोडौं रुपैयाँका बसलाई अहिले यात्रुले होइन, लुम्बिनी घुम्न गएका दर्शकले हेर्ने गरेका छन् । तिनै बस अहिले नेपाल वायुसेवा निगमलाई भिडाउन दलालहरु फाइल च्यापेर पर्यटन मन्त्रालयतिर कुदिरहेका छन् ।

टिप्पणीहरू