​संविधानमा त यो पनि भनिएको छ

प्रविधिको तीव्रतम् विकास भएको जमानामा सूचना सम्प्रेषणमा दु्रतता खोजिनु स्वाभाविक हो । तर, समाचारको रफ्तार र ग्राहक बढाउने नाममा सञ्चारमाध्यमहरुले प्रयोग गर्न थालेका भाषा, शैली र लेखाईको बान्की सफा देखिएका छैनन् । विशेष गरेर सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धि समाचार सम्प्रेषणका नाममा यस्ता विसंगति देखिएका हुन् । 

आइतबार बिहान प्रधानमन्त्री केही छिनका लागि शिक्षण अस्पताल पुग्नुभयो । एउटा एक्सरे गर्नुभयो र तुरुन्त फर्किनुभयो । त्यस दिन पहिला मन्त्रिपरिषद् र त्यसपछि पार्टीको सचिवालय बैठकमा आफैं उपस्थित हुनुभयो । त्यही दिन प्रदेश प्रमुदहरु पदमुक्त भए । त्रिविको उपकुलपतिमा धर्मकान्त बाँस्कोटा, मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त हुनुभयो । देशका विभिन्न भागमा हुन लागेको उपनिर्वाचनका लागि केन्द्रबाट तोकिनुपर्ने उम्मेदवार पनि त्यही दिन टुंगो लगाइयो । तर, केही अनलाइन मिडियामा समाचार आए, प्रधानमन्त्री ग्रयाण्डीको नवौँ तलामा भर्ना भएको । 

व्यक्तिको स्वास्थ्यसम्बन्धी संवेदनशीलतालाई दृष्टिगत गर्दै नेपालको कानुनले नै गोपनीयताको हक प्रत्याभूत गरेको छ । अर्थात्, सम्बन्धित व्यक्ति वा चिकित्सकले उल्लेख नगरेसम्म फलानोलाई यस्तो रोग, त्यस्तो उपचार भन्न पाइने व्यवस्था न कानुनमा छ, न नैतिकतामै हुन्छ । तर, हामीलाई कानुन र नैतिकता चाहिएन, लेखिदिए पुग्यो । मानौँ, मिडिया नै स्वास्थ्यसम्बन्धी विशेषज्ञ हो । ‘यस्तो रोग लाग्दा यसरी उपचार हुन्छ’ भन्ने शैलीका समाचार आए । प्रधानमन्त्रीलाई मृगौलाको रोग छ वर्षौदेखि देश दुनियाँले थाहा पाएको यो कुरा चिकित्सकहरुले सम्झाएका छन् । तर, मिडियामा लेख्न नमिल्नेसम्म भाषाका समाचार आए । 

एउटा आमनागरिकको पनि अधिकार हो, स्वास्थ्यसम्बन्धी गोपनीयता । कसैको स्वास्थ्यका बारेमा सार्वजनिक टिप्पणी गर्न या मिडियाले ज्योतिष बन्न पाइने हो ? हो, सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा टिप्पणी गर्न पाइन्छ । तर, कति हदसम्म ? 

मिडिया जिम्मेवार भएन भने यसले क्रमशः आफ्नो विश्वसनीयता गुमाउँदै जान्छ । केही नेपाली मिडियाको रवैयाले सञ्चारमाध्यमबाट प्रकाशित÷प्रशारित समाचार सत्य हुँदा पनि पाठक, स्रोता र दर्शकले हो कि होइन भनेर विभिन्न शैलीमा पुष्टि गर्नुपर्ने स्थितिले विश्वसनीयता ध्वस्त बनाउने खतरा रहछ ।

टिप्पणीहरू