स्याङजामा नागरिकता बनाउनेसँग वडाध्यक्षले घुस खाए

स्याङजामा नागरिकता बनाउनेसँग वडाध्यक्षले घुस खाए

सरकारले हरेक नेपाली नागरिकलाई उपलब्ध गराउनै पर्ने नागरिकता बनाउन घुस मागेका जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीसँग दुई जना जनप्रतिनिधिले घुस लिएको आरोपमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले मुद्दा दायर गरेको हो ।

स्याङजाको भीरकोट नगरपालिका–९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र वडासदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भन्दै एक लाख ३५ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगले वडाध्यक्ष भीमबहादुरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिम ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवम् भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार वडाध्यक्ष र वडा सदस्यले लिएको रकम सेवाग्राहीलाई नै फिर्ता गर्न लगाइएको छ । तर उनीहरुलाई भने भ्रष्टाचारको अभियोगमा मुद्दा चलाइएको हो ।

टिप्पणीहरू