‘कोरोना प्याण्डेमिकबाट इण्डेमिकमा परिवर्तन’

‘कोरोना प्याण्डेमिकबाट इण्डेमिकमा परिवर्तन’

लामो समयको अन्तर पारेर बुस्टर डोज दिन युरोपेली युनियनअन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले अधिकांश देशलाई अनुरोध गरेको छ । कोभिडविरुद्ध दिइने बारम्बारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने जनाउँदै नियामक निकायले लामो समयको अन्तर पारेर बुस्टर डोज दिनुपर्ने भन्दै उसले अनुरोध गरेको हो ।

‘हरेक चार महिना र बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,’ युरोपेली युनियनको मेडिकल निकायले भनेको छ । ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि विभिन्न देशले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेको बेलामा युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका वृद्धवृद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको थियो । बेलायतले पनि कोभिडबाट जोगाउने भन्दै दोस्रो बुस्टर डोजको तयारी गरेको छ । अमेरिका, फ्रान्सलगायतका देशमा समेत दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ ।

ओमिक्रोन भेरिएन्टको बिस्तारसँगै कोरोना महामारीबाट पछिल्लो दिनमा ‘इन्डेमिक’ (निश्चित क्षेत्रमा देखिने रोग) का रुपमा विकसित हुँदै गएको पनि उसले जनाएको छ ।

टिप्पणीहरू