पाइलटमाथि उजुरी,यात्रुको ज्यानमा खतराको चिन्ता

पाइलटमाथि उजुरी,यात्रुको ज्यानमा खतराको चिन्ता

नेपाल वायुसेवा निगमका केही पाइलटले हालैको एउटा घटनामा नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणद्वारा आँखा चिम्लिने काम भएको भन्दै आपत्ति जनाएका छन् । सयौं यात्रुको ज्यानलाई जोखिममा राखेर गरिएको एउटा उडानको जबर्जस्ती अवतरणको क्रममा गम्भीर त्रुुटी भएको उनीहरुको दाबी छ ।

यस्तै घटनामा कारबाही गर्नुपर्ने नियमनकारी निकायले अहिले आँखा चिम्लिएकोमा उनीहरुले ध्यानाकर्षण गराएका हुन् । एक महिनाअघि नयाँ दिल्लीबाट फर्कंदै गरेको निगमको एअरबस ए ३२० जहाजलाई प्रशिक्षक पाइलटले शिकारु पाइलटको जिम्मामा ल्याण्ड गराएपछि उक्त घटना भएको उनीहरुको आरोप छ ।

प्रशिक्षक पाइलट सुवाष रिजालले यात्रुमाथि गम्भीर खेलाँची गरेको आरोप उनीहरुले लगाएका हुन्, ‘तोकिएको उडान घण्टा नपुगेका को–पाइलटलाई जहाज अवतरणको जिम्मा (हार्ड ल्यान्डिङ) दिइएको छ, त्यसको प्रमाणसमेत प्राप्त भइसकेको छ ।’

उनीहरुका अनुसार ४ डिसेम्बर २०२१ का दिन काठमाडौंबाट नयाँ दिल्ली गएको उक्त विमान सोही दिन फर्केको थियो । उडानमा प्रशिक्षक पाइलटको रुपमा क्याप्टेन रिजाल, सेफ्टी पाइलट मुकेशकुमार गुप्ता र तालिमको निम्ति उडान गरिरहेका को–पाइलट निपेन्द्र भट्टराई थिए । उनीहरुले उडाएको सोही जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्ने क्रममा हार्ड ल्यान्डिङ गरिएको थियो ।

हार्ड ल्याण्डिङ भनेको जबर्जस्ती अवतरण हो । यसमा तोकिएकोभन्दा बढी आवाज र गतिमा विमान रन वेमा बजारिन्छ । यसो हुन नदिन आकाशमा छँदै तोकिएको दूरीबाट गति सीमित गर्दै सामान्य ढंगले अवतरण गर्नुपर्ने हुन्छ । यसको लागि अनुभव सबैभन्दा महत्वपूर्ण कुरा हो । तर त्यो दिन शिकारुलाई जहाजको जिम्मा दिइएकाले त्यस्तो भएको थियो ।

सामान्यतयाः १५ सय उडान घण्टा नपुगेको कोही पनि को–पाइलटलाई त्यस्तो जिम्मेवारी दिईंदैन । प्राधिकरणले समेत आफ्नो निर्देशनमा उक्त व्यवस्था गरेको छ । यसअघि यस्तै अवतरणमा सोही व्यवस्था देखाउँदै पाइलटहरुलाई कारबाही गरिएको थियो । तर यस पटक न निगम,न प्राधिकरण कसैले पनि प्रक्रिया अघि बढाएको छैन ।

“जनआस्थालाई प्राप्त कागजातमा उक्त दिन हार्ड ल्यान्डिङ गरिएको र को–पाइलटले २.२ जीको अत्यधिक भ्यालुमा जहाजलाई रन वेमा बजारेको उल्लेख छ ।”

जहाज अवतरण गर्ने को–पाइलट भट्टराईको अनुभव करिब ३० घण्टा मात्र पुगेको बताइन्छ । त्यस्तालाई अवतरणको जिम्मेवारी दिनु गम्भीर गल्ती भएको स्रोतको दाबी छ ।

जनआस्थालाई प्राप्त कागजातमा उक्त दिन हार्ड ल्यान्डिङ गरिएको र को–पाइलटले २.२ जीको अत्यधिक भ्यालुमा जहाजलाई रन वेमा बजारेको उल्लेख छ । तर उक्त कुरो अक्युरेन्स रिपोर्टमा नभरेर चालक दलले अर्को गम्भीर गल्ती गरेको छ । क्याप्टेन रिजाल र उनको टिमले हार्ड ल्यान्डिङ गरेर पनि निगमको अप्ररेसन विभाग,व्यवस्थापन र अन्य सम्बन्धितलाईसमेत जानकारी नगराएको बताइन्छ । यसबारेमा निगमका कसैले पनि बोल्न चाहेनन् ।

तर, निगमकै फ्लाइट डाटा एनलाइसेस सिस्टमले जहाज ल्याण्डिङमा गडबडी देखाएको प्रमाण जनआस्थासँग सुरक्षित छ । फ्लाइट डाटा एनलाइसिस सिस्टमले २.२ जीको अत्यधिक भ्यालुमा जहाजलाई विमानस्थलमा ल्याण्ड गर्ने क्रममा बजारेको तथ्य दिएको छ ।

यसअघि यस्तै घटनाको छानबिनपछि प्राधिकरणले १२ बुँदे निर्देशन जारी गरेको थियो । अहिले त्यहि निर्देशन सबैको लागि लागु भएको छ । तर आफ्नै निर्देशनको उल्लंघन र यात्रुको सुरक्षामा गम्भीर खेलबाड गरेका पाइलट र चालक दलका सदस्यहरुलाई कारबाही गर्नबाट प्राधिकरण पछाडि हट्नुलाई निगमकै केही पाइलटले आठौं आश्चर्य भनेका छन् ।

निर्देशनको अवहेलना गरी सुरक्षामा गम्भीर लापरबाही भन्दै निगमले प्राधिकरणलाई समेत रिपोर्ट दिएको छ । आजभन्दा १० दिनअगावै दिइएको उक्त रिपोर्टलाई कार्यान्वयन नगरी प्राधिकरणले पाइलटले निर्देशनको अवहेलना गरेको ठहर गर्दै निगमलाई नै आवश्यक कारबाही गर्न निर्देशन दिनुलाई नियमनकारी निकायको लाचारी र गैरजिम्मेवारी कार्य भनिएको छ । नियमनकारी निकायले गम्भीर गल्ती भएको ठहर गर्ने तर कारबाहीको लागि निगमलाई सिफारिश गर्ने अचम्मको कार्य भएको प्राधिकरण स्रोतले बताएको छ ।

निगमले उक्त घटनाको बारेमा तयार पारेको सुरक्षा रिपोर्ट जनआस्थासँग सुरक्षित छ । निगमले छानबिनको सबै प्रक्रियाबाट को–पाइलटलाई हार्ड ल्याण्डिङ गराएको पुष्टि भएको प्रतिवेदन प्राधिकरणलाई समेत पठाएको छ । सो रिपोर्ट डिसेम्बर ८ मा पठाइएको प्राधिकरण स्रोतले पनि पुष्टि गरेको छ ।

यसअघि प्राधिकरणले यस्तै घटना भएपछि २०७७ चैत १९ गते निगमलाई आवश्यक सतर्कता अपनाउन भनेको थियो । उसले अघिल्लो वर्ष जनवरी ८ मा भएको जस्तै हार्ड ल्याण्डिङ नगरी सुरक्षा सतर्कता अपनाउन दुई पृष्ठको निर्देशन जारी गरेको थियो । त्यो भनेको हवाई उडानको सुरक्षालाई अझ प्रभावकारी बनाउने भन्ने हो । तर,अहिले निगमका पाइलटहरुले उल्लंघन गरेको घटनामा नियमनकारी निकायले ढाड फर्काउँदा मुलुकको आकाश सुरक्षित होला कि झन् असुरक्षित ?

टिप्पणीहरू