विवादित आयोजकको कार्यक्रममा पूर्वराष्ट्रपतिलाई निम्त्याइयो

विवादित आयोजकको कार्यक्रममा पूर्वराष्ट्रपतिलाई निम्त्याइयो

पूर्वराष्ट्रपति डा. रामवरण यादव आज बिहान १० बजे राजधानीको होटल याक एण्ड यतिमा पुग्दै हुनुहुन्छ । त्यहाँ उहाँलाई प्रमुख अतिथि बनाएर बेलायतमा बस्ने केही गैरआवासीय नेपालीहरुले खोलेको एउटा संस्थाको ब्यानरमा कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल अब छिट्टै समृद्ध हुने उपायको रुपमा कार्यक्रम गर्न लागिएको भनिएको छ । अधिकांशलाई पठाएको निम्तोमा भीआईपी गेष्ट भनिएको छ । निम्तोमा आइडिया फर नेपाल नामक संस्थाको मुख्य कार्यालय हङकङमा रहेको उल्लेख छ । तर, त्यहि संस्थाले आफ्नो वेवसाइटमा मुख्य कार्यालय काठमाडौंमा रहेको बताएको छ ।

कृषि,पर्यटन,जलविद्युत, मत्स्यपालन,पर्यटन, बैंकिङ, खाद्य तथा पेय, स्वास्थ्य, यातायात, सूचना प्रविधि, लगानीलगायत दर्जनौं क्षेत्रमा लगानी गरिएको र गर्ने सुरसारमा रहेको भनिएको कम्पनीको मुख्य स्रोतमाथि नै शंका गरिएको छ । यसअघि बेलायतमा समेत यस्तै कार्यक्रम गर्न खोजेपछि संस्थाको लगानी रकममाथि मुद्रा शुद्धिकरणको विषय उठेको थियो । त्यहि विषयलाई देखाउँदै लण्डनस्थित नेपाली दूतावासले कार्यक्रममा सहभागिता जनाउन असमर्थता देखाएको थियो ।

अहिले त्यहि संस्थाले नेपालमा पूर्वराष्ट्रपति यादवलाई मुख्य अतिथि बनाएर कार्यक्रम गर्न खोजेपनि एनआरएनका कतिपयले जिब्रो काढेका छन् ।

निम्तोपत्रमा सन् २०१७ मा स्थापना भएको उक्त संस्थाले विश्वभर चार सय वटा परियोजना सञ्चालन गरेको भनेको छ । संस्थाको वेवसाइटमा भने उसले विश्वमा २ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रमा कृषि र व्यावसायिक कार्य गरेको, १६ हजार ७ सय ६४ वर्ग किलोमिटर क्षेत्रमा खनिज, समुद्र, नदी र ताल गरि मडागास्कर, उगाण्डा, ताञ्जानिया र अन्य अफ्रिकी मुलुकमा ११ लाख वर्ग किलोमिटर क्षेत्रफल ओगटेको विवरण लेखिएको छ ।

संस्थाको अध्यक्षमा गोकर्ण श्रेष्ठ, रोजिना प्रधान राई, मदन श्रेष्ठ, विष्णु श्रेष्ठ, हिरा श्रेष्ठ र सुमन गुरुङ सदस्य छन् । चिङ चिङ सलाई अन्तर्राष्ट्रिय सञ्चालक भनिएको छ । तर उनीहरुको फोटो र विस्तृत विवरण केही पनि लेखिएको छैन । काठमाडौंको सिनामंगलमा कार्यालय रहेको भनिएको संस्थाको लगानी रकमको पारदर्शिता छर्लङ्ग नभएकाले पूर्वराष्ट्रपतिको सहभागितालाई सबैले चासोका साथ हेरेका छन् ।

टिप्पणीहरू