साह्रै दुःखी कविको प्रेमिल संसार « Jana Aastha News Online
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022

साह्रै दुःखी कविको प्रेमिल संसार

प्रकाशित मिति :  २४ पुष २०७८, शनिबार १९:००


अंग्रेजी साहित्यका महान् कवि पर्सि बिसे शेली र उनकी पत्नी हैरियट वेस्टब्रुक स्कटल्याण्डको एडिनवर्गमा सुखी जीवन बिताउँदै थिए । परिवारमा सानी छोरी इयान्थे पनि आइसकेकी थिइन् । शेलीको अनुपस्थितिमा कामुक व्यवहार गरी हैरियटको शरीर जबर्जस्ती प्राप्त गर्न खोजेका हाग पनि शहर छाडेर गइसकेका थिए । अर्थात् उनीहरू हाँसीखुशी जीवन व्यतित गर्दै थिए ।

यसबीच, सुत्केरी हैरियटको स्याहारसुसार गर्न भनी दिदी एलिजा एडिनवर्ग पुगिन् । उनी जाली र चतुर स्वभावकी थिइन् । शेली दिनभर घरबाहिरै हुने, घरमा दिदीबहिनी र सानी शिशु मात्र । एलिजाले मौका मिलाउँदै बहिनी हैरियटको दिमाग भुट्न थालिन् । ‘शेलीले तिमीलाई त्यसबेलासम्म मात्र प्रेम गर्नेछन् जबसम्म तिम्रो शरीरमा सौन्दर्य कायम रहन्छ,’ भनिरहिन् । शुरुमा त हैरियट दिदीको उक्साहटमा परिनन् किनकि उनी शेलीलाई औधी माया गर्थिन् अनि विश्वास पनि । तर, दिनहुँ उस्तै खालको कुरो सुनेर विस्तारै उनलाई पनि ‘हो कि !’ भन्ने लाग्न थाल्यो ।

एक दिन शेली मित्र कर्नेल रायनसँगै घर फर्के । भर्खरकी बच्ची इयान्थेलाई धाइआमाले दूध चुसाइरहेको देखे । ‘हैरियटलाई सञ्चो भएन र? भनेर सोधे । धाइले भनिन्, ‘हैन । उनी आफ्नो शरीरलाई आवश्यकताभन्दा बढी चुस्त बनाइराख्न चाहन्छिन् । बच्चालाई दूध पिलाउँदा आफ्नो सौन्दर्य नष्ट हुने ठान्छिन् ।’

कुरा सुनेर शेलीको कवि मन छियाछिया भयो । कसैले उनको छातीमा मुक्का बजारेजस्तो महसुस गरे । मातृत्वप्रतिको यस्तो कठोर चित्र देखेर उनको मन रोयो । क्षणभरमै हैरियटप्रति घृणा जाग्यो । त्यसो त केही दिनदेखि हैरियटको स्वभावमा परिवर्तन आएको महसुस गर्दै थिए । तर, किन र कसरी यस्तो भयो जान्न सकिरहेका थिएनन् । हैरियट नयाँ–नयाँ फेसनको लुगा लगाउन थालेकी थिइन् भने कुरा गर्ने शैलीमा पनि अस्वाभाविक परिवर्तन आइसकेको थियो । यसै कुरामा उनीहरूबीच एकदिन तँ तँ र म म भयो । अब उनीहरू हरेकदिन जसो झगडा गर्न थाले । एकदिन रिसाएर शेली एक्लै लण्डन फर्के ।

कर्नेल रायन पहिल्यैदेखि शेलीको परिवारमा निकै घुलमिल भइसकेका थिए । शेलीले घर छाडेपछि उनको आनाजाना झन् बाक्लिन थाल्यो । हैरियट र उनको सम्बन्ध हल्लाको विषय बन्यो । हैरियट बदनाम हुन थालिन् । यो बदनामीको खबर शेलीको कानसम्म पुग्यो र पारो चढ्यो । उनको मनमा हैरियट ठूलो घृणाको पात्र बनिन् । उता, हैरियटले भने पक्का पनि शेलीको बाहिर कसैसित सम्बन्ध हुनुपर्छ र त्यही कारण आफूदेखि टाढा हुँदै जान थालेको’ भन्ठानिन् । असमझदारी यहाँसम्म बढ्यो कि हैरियटको पेटमा हुर्किराखेको अर्को शिशु रायनको हो भन्ठाने शेलीले ।

स्थिति सम्बधविच्छेद गर्ने तहसम्म पुग्यो । उनी एक्लै आफँैमा हराउँदै बस्न थाले । हैरियटलाई सम्झेर दुःखी बन्नै चाहेनन् । र, हैरियटलाई बिर्सने प्रयासमा मेरी गोडविनसित नजिकिन पुगे । मेरी शेलीका मित्र तथा दर्शनशास्त्रका गुरु विलियम गोडविनकी छोरी थिइन् । आफैँ पनि उपन्यास लेख्थिन् । आमा पनि दार्शनिक थिइन् । मेरी शेलीलाई कवि मात्र होइन, दार्शनिक पनि मान्थिन् । सौतेनी बहिनी जेन क्लियरमन्टसँग बस्थिन् । दुबैजना सँगै साँझ घुम्न निस्कन्थे । बाबुलाई भेट्न आफ्नो घरमा आइराख्ने भएकाले शेलीलाई मेरीले पहिल्यैदेखि चिन्थिन् । तर, एकदिन साँझ घुम्न निस्केकै समयमा जम्काभेट भयो । त्यसपछि साँझको घुमघाम तीनै जनाको साथमा हुन थाल्यो ।

एक साँझ घुम्दै बगैँचामा बसेर थकाइ मार्दै गरेका बेला शेलीले जेनकै अगाडि मेरीलाई भने, ‘म तिमीसँग प्रेम गर्छु । मैले एक किसिमले आफ्नी पत्नीलाई छाडिसकेको छु । मेरो मनको घाउमा मल्हम लगाइदिने र मलाई राम्रोसँग बुझ्ने एउटी असल र बुद्धिमती मित्रको जरुरी छ । मलाई लागेको छ त्यो तिमी हुन सक्छौ ।’

‘तर, शेली मेरो बुबा ?’ ‘तिमी उनको चिन्ता नलेऊ । उनी प्रगतिशील विचारधाराका हुन् हाम्रो सम्बन्धको विरोध गर्ने छैनन् । पहिला तिमीले हुन्छ भन, बाँकी म सम्हालौंला ।’

मेरी नाजवाफ बनिन् र जेनलाई हेरिन् । जेनले हाँस्दै भनिन्, ‘मेरी, खुरुक्क हुन्छ भन ।’ मेरीले नजर झुकाउँदै भनिन्, ‘मलाई आपत्ति छैन ।’

शेलीको मन प्रफुल्ल बन्यो । लगत्तै मेरीको घर गए । विलियमले शुरुमा त आनाकानी गरे । तर, अन्त्यमा छोरी दिन तयार भए । बरु उनले आफूलाई ३ हजार पौण्ड सहयोग गर्न भने । शेलीले मेरीलाई पाउन यो शर्त पनि माने । विलियमलाई ३ हजार पौण्ड दिँदा हैरियटलाई भगाएको बेलामा जस्तै उनी फेरि एकपटक कंगाल बने । शेली, मेरी र जेन तीनैजना पेरिस पुगे । त्यहाँ मन नभरुन्जेल रोमान्स गरे ।

जेनले पनि मेरीकै जति रोमान्समा हिस्सेदारी निभाइन् । उनीहरू त्यहाँबाट स्विट्जरल्याण्ड गए । यात्रा निकै कठिनपूर्ण बन्यो । किनभने उनीहरूसँग पैसा थिएन । शेलीले जसोतसो एउटा खच्चर किने । अब पालैपालो एक जना खच्चर चढ्थे अनि दुई जना पैदल हिँड्थे । शेली आर्थिक अभावबाट मुक्ति पाउन आफ्नो एक जना ऋणीकोमा पुगे तर ऊसित लिनुपर्ने सबै पैसा हैरियटले उठाइसकेका रहेछन् । केही सीप नलागेपछि बाबु टिमोथीसामु हात फैलाए । तर, पाएनन् ।

त्यसमाथि मेरी गर्भवती बनिन् । खाली स्थान शेलीको जीवनमा जेनले भर्न थालिन् । पैसाको खोजीमा शेली दिनभरि बौलाहाजत्तिकै यताउता दगुर्थे । थाकेर घर फर्कन्थे र जेनको अंगालोमा जान्थे । मेरी बिछ्यौनामा पल्टिराखेकी हुन्थिन् । जेनले आफ्नो प्रेममा साझेदारी खोजिरहेकोमा उनले ईष्र्या गरिनन् । शेलीको अवस्थादेखि अवगत थिए – प्यासी कवि, उपेक्षित, निरास र थाकेको व्यक्ति । आफूले दिन नसके पनि जेनले अभाव पूर्ति गरिरहेकोमा सुखी नभए पनि साह्रै असन्तुष्ट पनि थिइनन् ।

सन् १८१५ मा हैरियटसँग जबर्जस्ती गर्न खोजेका हाग पुनः उनीहरूको जीवनमा प्रवेश गर्न पुगे । उनले बिहेको प्रस्ताव राखे जसलाई जेनले ठाडै अस्वीकार गरिन् । जेन हैरियटजत्तिको कमजोर थिइनन् । हागले जेनसमक्ष न बल प्रयोग गर्न सके न मनाउन । उनी पुनः एकपटक पराजित बने र खाली हात फर्के ।

यसबीच सन् १८१६ मा जेनेभामा शेलीको भेट अर्का लोकप्रिय तथा होनहार अंग्रेज कवि लर्ड बाइरनसित भयो । पहिलो भेटमै जेन र बाइरन एक भए । सायद, उनीहरू प्रेमले होइन यौनको भोकले एक भएका थिए । दुवैजना नयाँ यौन साथीको खोजीमा थिए र भेट्टाए । गर्नुसम्म मोजमस्ती गरे । भनिन्छ, यही समय हो शेली र बाइरनले साहित्यमा जीवनको श्रेष्ठतम रचना सिर्जना गरेको ।

शेली प्रकाशनसम्बन्धी कामले लण्डन गए । जेन र बाइरन दिनभरि कहिले समुद्री किनारमा त कहिले कता घुम्न हिँड्थे । जहाँ जता गए नि उनीहरूको अन्तिम बिन्दु यौन समागम नै हुन्थ्यो । मेरीले पाएको बच्चाको मृत्यु भइसकेको थियो । उनी अत्यन्त दुःखी थिइन् त्यसमाथि जेन र बाइरन उनलाई एक्लै घरमा छाडेर जान्थे ।

शेली स्विट्जरल्याण्ड फर्कंदा जेन बाइरनको तर्फबाट गर्भवती बनिसकेकी थिइन् भने बाइरन त्यहाँबाट हिँडिसकेका थिए । शेलीले बाइरनलाई पत्र लेखेर जेनलाई अलपत्र नपार्न आग्रह गरे । तर, बाइरनले सबै दोष जेनमाथि नै लगाए र जिम्मेवारी बोक्न अस्वीकार गरे । स्मरणीय छ, त्यो बेला युरोपका युवती बाइरनसँग सुत्ने सपना देख्थे । जेन तीमध्येकै थिइन् ।

यसैबीच, हैरियटले सर्पेन्टाइन नदीमा हाम्फालेर आत्महत्या गरेको खबर शेलीले पाए । खबर सुनेर कवि मन भावुक बन्यो । उनले हैरियटको सम्झनामा आँसु खसाले । अन्तिमसम्म पनि लागेको थियो कि उनी भलादमी र सोझी केटी हुन्, एलिजाको उक्साहटमा नलागेको भए उनीसितको प्रेम सम्बन्ध अन्त्य हुने नै थिएन । आत्महत्या गर्नेमा हैरियट एक्लो थिइनन् । फोनी एमलीले पनि शेलीको प्रेम पाउन नसकेपछि आत्महत्या गरेकी थिइन् । फोनी शेलीलाई अत्यधिक माया गर्थिन् तर उनले शेलीबाट सधैं आश्वासन मात्र पाउने गरिन् ।

सबैतिरबाट निरास र दुःखी शेली मेरीलाई लिएर इटली भागे । त्यहाँ उनका रचनाका पारखी विलियम्स र उनकी पत्नी जेनले ठूलो सत्कार गरे । शेली उनीहरूकै घरमा बसे । केही समयपश्चात् एक जना मित्रको निमन्त्रणा पाएर लेगहार्नतर्फ लागे । त्यहाँबाट कासामाग्नी फर्कने क्रममा साथमा गएका विलियमले रोक्दारोक्दै पनि हावाहुण्डरीको बेला डुंगामा बसे । नभन्दै उनीहरू चढेको डुंगा समुद्रमा हरायो ।

मेरी र जेन बाइरनकोमा पुगे, डुंगाको खोजीमा । कैयौं दिनसम्म पनि डुंगा फेला परेन । धेरै दिनपछि शेलीको लास रेजियोको किनारमा फेला परेको समाचार फैलियो । लास कुहिसकेको थियो । शेलीको मृत्युले मेरी र जेन दुबैजना हतोत्साही बने । विशेषतः मेरी निकै दुःखी बनिन् । त्यो बेला शेली मात्र ३० वर्षका थिए भने मेरी २५ की थिइन् ।

लोग्नेको मृत्युपश्चात् मेरीले आफ्नो जीवन लोग्ने शेलीका रचनाहरूको सम्पादन र बाइरनका रचनाको पुनर्लेखनमा लगाइन् । मेरी पनि साहित्य लेख्थिन् । शेलीसित भेट हुनुअगाडि पनि लेख्थिन् । खासमा उनी बालसाहित्य लेख्न रुचाउँथिन् । शेलीको निधनपश्चात् बाबुले उनलाई पुनर्लेखन कार्यमा लाग्न घच्घच्याए । फलस्वरूप उनले बालसाहित्यबाहेक उपन्यास, लघुकथा, जीवनी, यात्रासंस्मरण लेखिन् । रचना सम्पादनमा लागिन् । उनको निधन सन् १८५१ मा ५४ वर्षको उमेरमा भयो ।


प्रतिक्रिया दिनुहोस !