नेपाली कांग्रेस, कम्युनिष्टले बिर्सिंदै गएका ती दिन « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

नेपाली कांग्रेस, कम्युनिष्टले बिर्सिंदै गएका ती दिन

प्रकाशित मिति :  १८ पुष २०७८, आईतवार २१:३०


‘आलै छ रगत मुटुमा २१ फाल्गुण भुल्दैनौं !
क्रान्तिको बाटो पहिल्याउने कृष्ण र नेत्रलाई भुल्दैनौं !!’

झापा विद्रोहका शहीद कृष्ण कुइँकेल र नेत्र घिमिरेको सम्मान र उनीहरूले देखाएको बाटोमा लागिरहने सन्देश दिन कुनै बेलाका क्रान्तिकारीहरू (अहिलेका एमाले) यस्ता गीत गाउने गर्थे ।

नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण परिघटना मानिने झापा विद्रोहका कमाण्डर र सुखानीमा मारिने नारायण श्रेष्ठ, रामनाथ दाहाल, विरेन राजवंशीसहित अन्य दुई शहीद कुइँकेल र घिमिरेको योगदान दर्शाउन रचना गरिएका यस्ता गीत अहिले एमालेका औपचारिक कार्यक्रममा पनि सुन्न पाइँदैन । शहीद दिवस मनाउने त कुरै नगरौं ।

०२८ देखि २०३० सालसम्म झापा जिल्लामा युवा कम्युनिष्टको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’ को नामले परिचित छ । त्यही विद्रोहमा लागेका कारण तत्कालीन पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको इलाम जेल सार्ने निहुँमा बाटैको सुखानी जङ्गलमा गोली हानी हत्या गरेको थियो ।

छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्न झापा विद्रोहको महत्वपूर्ण भूमिका थियो । झापा जिल्ला कमिटी, कोअर्डिनेशन केन्द्र (कोके) र माले हुँदै अघि बढेको सो विद्रोहकै जगमा अहिलेको एमाले अडिएको छ ।

०३५ पुस ७ देखि ११ गतेसम्म मोरङमा सम्पन्न सम्मेलनले नेकपा माले गठन गरेको थियो । माले पार्टी झापा विद्रोहकै प्रभावबाट गठन भएको हो । झापा विद्रोहचाहिँ भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित थियो । पार्टी गठनको सुरुआतमा माले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्सेतुङ नेतृत्वको चिनियाँ साँस्कृतिक क्रान्तिको पक्षपोषक थियो ।

कतिसम्म भने त्यतिबेला माले गठन नै माओ जयन्तीका दिन पारेर गरिएको थियो । त्यतिबेलाका क्रान्तिकारी कमरेडहरू ‘चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’ भनेर नारा लगाउँथे । अहिले एमाले ०२९ फागुन २१,०३५ पुस ११ र नेकपाको स्थापना दिवस ००६ वैशाख ९ लाई सम्झन चाहन्न ।

कृष्ण र नेत्रजस्ता धेरै शहीदको रगतबाट बनेको आजको एमाले संसद्मा सबैभन्दा ठूलो दल छ । अहिले तिनै नेता ‘माओ’,‘माओ विचारधारा’ र ‘माओवाद’ लाई घृणा र हेय भावले हेर्छन् । अर्थात् माओको सम्झना गर्नु सन् १९६६ देखि १९७६ सम्म चलेको ‘उग्रवादी’साँस्कृतिक क्रान्ति र ग्याङ अफ फोरलाई पछ्याउनु हो ।

त्यसो त,आफूलाई माओवादी भन्नेहरूले पनि विस्तारै माओवाद छाड्दै जान थालेको पाइन्छ । नेपालमा ‘माओवादी’ नाम जोडिएका झण्डै आधा दर्जन पार्टी अस्तित्वमा छन् । टुटफुट र विभाजनका कारण फरक–फरक अस्तित्वमा रहेका ती पार्टीले माओजयन्ती पनि फरक–फरक रुपमै मनाउँदै आएका छन् । विभाजनपछिका वर्षमा केवल औपचारिकता पूरा गर्नेगरी अलग रुपमा कार्यक्रम गर्ने गरेका माओवादी पार्टीहरूलाई माओ जयन्तीले समेत जोड्न सकेको छैन ।

संयोग नै मान्नुपर्छ,माओवादी घटकमध्येको सबैभन्दा ठूलो शक्ति नेकपा (माओवादी केन्द्र) ले १२८ औं माओ जयन्तीको अवसर पारेर आफ्नो आठौं महाधिवेशन उदघाटन गरेको छ । शुरुमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उसले अन्तिम अवस्थामा महाधिवेशनमा सार्ने निर्णय गरेको हो । कुनै पनि पार्टीका लागि महाधिवेशन आफैँमा ठूलो उत्सव हो, माओ जयन्तीका दिन महाधिवेशन हुनु माओवाद मान्नेका लागि त झन् गर्वको कुरा हो ।

भन्छन्,हाम्रा नेताहरूमा खोलो त¥यो लौरो बिस्र्याे गर्ने बानी छ, वर्तमानमा रमेर बिगतलाई बिर्सने,अग्रजहरूलाई धारेहात लाउने रोग छ, यदि यस्तो नहुँदो हो त नेकपाका सँस्थापक पुष्पलाललाई अनुयायीहरूले सुकुम्बासी बनाउने थिएनन्,गणेशमान सिंहलाई रुवाउने र किशुनजीलाई हराउने थिएनन् । पुर्खालाई बिर्सने र जन्मदातालाई बुढेसकालमा भीरबाट डोकोसहित लडाउन खोज्नेले भुल्न नहुने हो,त्यो डोको पछि आफैलाई फाल्नमा काम आउन सक्छ ।


प्रतिक्रिया दिनुहोस !