झापाबाट छानीछानी रेटिए पुराना कमरेडहरू

झापाबाट छानीछानी रेटिए पुराना कमरेडहरू

आजको नेकपा एमालेको जग झापा बिद्रोह हो । त्यहि जगबाट उठेको एमाले मुलुककै सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतमा छ । तर, उक्त पार्टीमा झापा आन्दोलनका संस्थापक नेताहरू भने क्रमशः किनारामा पर्दै गएका छन् । मोहनचन्द्र अधिकारी, झलनाथ खनाल, घनेन्द्र बस्नेतजस्ता नेताहरू सम्पूर्ण रुपमा बाहिरिइसकेका छन् । एमालेमै रहेका अरु कतिपय नेतालाई पनि दशौँ महाधिवेशनपछि अपमानजनक ढंगले पाखा लगाइएको छ ।

एमालेको दशौँ महाधिवेशन र केन्द्रीय समितिको पहिलो बैठकले गरेको कार्यविभाजनलाई लिएर चर्किएका असन्तुष्टि अझै पनि सेलाइसकेको छैन । केन्द्रीय सदस्यको मनोनयन र नेताहरूको कार्यविभाजनमा अध्यक्ष केपी ओलीले एकलौटी गरेको आरोप छ । झापा आन्दोलनका संस्थापक नेताहरूलाई छानीछानी ‘कत्लेआम’ गरिँदा नवप्रवेशी र विवादित पात्रहरू भने रोजाइमा परेर केन्द्रीय जिम्मेवारीमा पुगेका छन् ।

विद्रोहको उर्वर भूमि झापा जिल्लाबाटै पुराना नेताहरूलाई छानीछानी फालिएको छ भने कम्युनिष्ट आन्दोलनमा सिन्को नभाँचेका दुर्गा प्रसाईं ‘मार्सी’ जस्ता पात्रले महत्वपूर्ण जिम्मेवारी हत्याएका छन् । एमालेमा छिरेको अढाई महिना नबित्दै पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटीमा पुगेका हुन् प्रसाईं । विवादास्पद मेडिकल व्यवसायी भनेर चिनिएका उनलाई अध्यक्ष ओलीको ‘आशिर्वाद’ मिलेकै कारण छोटो समयमै ठूलो उपलब्धि हात लागेको हो ।

झापाबाट प्रसाईंजस्ता वाम आन्दोलनमै कहिल्यै नदेखिएका पात्र केन्द्रीय कमिटीमा ल्याइँदा पुराना नेताहरू भने ‘दूधको झिंगा’ जसरी फालिएका छन् । झापा विद्रोहका जीवितमध्येका हुन् नरेश खरेल । आन्दोलनमा लागेकै कारण १७ वर्ष जेल परेका उनी अध्यक्ष ओलीका जेल सहयात्री पनि हुन् । तर, ओलीको रोजाइमा नपरेकै कारण आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा खरेल पार्टीबिहीन हुनुपर्ने अवस्थामा पुगेका छन् । दशौँ महाधिवेशनपछि पाखा पारिएका उनलाई त्यसपछि पनि कुनै जिम्मेवारी दिइएको छैन ।

क्षमता हुँदाहुँदै पनि पार्टीमा हुर्किंदै गरेको ‘बा’ प्रवृत्तिको कोपभाजनमा परेर फालिएका थुप्रैमध्येका अर्का हुन् झापाकै रविन कोइराला । ०७० सालको चुनावमा कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका कोइराला केन्द्रीय सदस्यको स्वभाविक हकदार थिए । तर, ओलीको ‘इशारा’ नमिल्दा उनले त्यो भूमिका पाउन सकेनन् । त्यसो त, पुराना नेताहरूलाई समेट्नैका लागि भनेर एमालेले केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरेको थियो ।

महाधिवेशनस्थल चितवनमा बसेको अन्तिम बैठकमा स्वयं अध्यक्ष ओलीले ‘भइरहेका साथीहरूलाई नहटाउने’ भन्दै संख्या थपेर ३०१ पुर्याउन प्रस्ताव गर्नुभएको हो । तर, संख्या थप्नुको अन्तर्यः दुर्गा प्रसाईंहरूलाई समेट्न रहेछ भन्ने कुरा व्यवहारले पुष्टि गरेको छ ।

पार्टीमा विधि, पद्धतिका कुरा गरेको र ‘बा’ प्रवृत्तिका विरुद्ध लडेकै कारण नरेश खरेल, भाष्कर काफ्ले, रविन कोइरालाजस्ता झापाका पुराना र योग्य नेतालाई रोजीरोजी ‘रेटेको’ आरोप ओलीमाथि छ । मनकुमार गौतम पनि झापा विद्रोहका जीवितमध्येका हुन् । ओलीकै जति १४ वर्ष जेल परेका उनलाई पनि अपमानजनक ढंगले पाखा पारियो । झापाकै रोमणी भट्टराईलाई पनि केन्द्रीय सदस्य बनाइएन ।

पूर्वका केन्द्रीय सदस्यबाट हटाइनेमा सुनसरीका धर्मराज निरौला पनि हुन् । बिराटनगरबाट जीवन घिमिरेलाई अहिले प्रदेशको सहइञ्चार्ज बनाउने आश्वासन दिइएको छ । तर, उनी पनि इतिहास, निरन्तरता, क्रियाशीलताका हिसाबले केन्द्रीय सदस्यका लागि योग्य थिए । यता, भूगोलमा खासै काम नगरेका अग्नि खरेललाई भने झापाको इञ्चार्ज बनाइएको छ ।

केपी ओली प्रधानमन्त्री भएका बखत महान्यायाधिवक्ता बनेका खरेललाई भूगोलका एमाले कार्यकर्ताले नै राम्रोसंग चिन्दैनन् भनिन्छ । काठमाडौँमा बसेर अध्यक्ष ओलीलाई सल्लाह दिनुबाहेक जिल्लामा उनको कुनै योगदान नभएको भन्नेहरू एमालेमै धेरै छन् । तर, अध्यक्षको मनमा परेपछि कसको के लाग्छ र !, भूगोलमै काम गरेका दर्जनौँ नेतालाई उछिन्दै उनले इञ्चार्जको जिम्मवारी पाए ।

बताइएअनुसार आगामी निर्वाचनमा टिकट दिने योजनासहित उनलाई त्यसरी लगिएको हो । यता, २ नम्बर क्षेत्रमा दुर्गा प्रसाईंलाई टिकट दिन ओली सकारात्मक बनिसकेको चर्चा शुरु भैसकेको छ । त्यो अहिले पवित्रा निरौला खरेल (नरेश खरेलकी पत्नी) को क्षेत्र हो । उनलाई आगामी चुनावमा साइड लगाउनकै लागि प्रसाईंलाई पार्टीमा भित्य्र्राइएको धेरैको अनुमान छ ।

एमालेको अन्तर्संघर्षमा पवित्रा लामो समय माधव नेपालतिर थिइन् । तर, अन्तिम अवस्थामा पार्टी विभाजनलाई साथ दिइनन् । तथापि केपी ओलीको भने उनीप्रतिको दृष्टिकोण अहिले पनि फेरिएको छैन । प्रचण्डसँग मिलेर आफूलाई पार्टीबाट हटाउन हस्ताक्षर गरेको भन्दै निरौलासँग ओली खुशी नरहेको र परिणामतः उनलाई पाखा पारिएको भन्नेहरू पनि छन् ।

पूर्वमाधव समूहका नेताहरू भने विभाजनलाई साथ नदिएर आफूहरूले एमालेलाई नै बलियो बनाउन भूमिका खेले पनि ओलीले सधै गुटको आँखाले हेरेर अन्याय गरेको गुनासो गर्छन् । जिम्मेवारीबाट फालिने रविन कोइराला २०५४ सालमै मेचीनगरको मेयर थिए । पोखरा गएर २०४७ को ११ औँ सम्मेलनमा हालका एमाले महासचिव शंकर पोख्रेलसँग अखिलको अध्यक्षमा भिडेका पात्र हुन् उनी ।

अहिलेसम्म त्यहि तुष पालेर उनीमाथि कैँची चलाइएको आरोप पनि छ । ‘चित्रगुप्तको हिसाब निकाल्न त उहाँ (ओली) माहिर हुनुहुन्छ । सायद यस्तै, यस्तै कुराले त्यस्तो निर्णय गर्ने ठाउँमा पुर्याएको होला’, एमाले झापाका एक नेता भन्छन् । झापाका अर्का पुराना नेता वेदराज रेग्मीले भने एमाले छोडिसकेका छन् । उनी एकीकृत समाजवादीमा सक्रिय छन् ।

टिप्पणीहरू