सुवास कर्माचार्यले किन छाडे एमाले ?

सुवास कर्माचार्यले किन छाडे एमाले ?

नेकपा एमालेमा ‘बा’ संस्कृतिको कोपभाजनमा परेर पाखा पारिएकाहरुले विद्रोहको बाटो रोज्न थालेका छन् । सबै हिसाबले योग्य हुँदाहुँदै पनि अध्यक्ष केपी शर्मा ओलीको ‘नजर’ मा नपरेकै कारण दशौँ महाधिवेशनबाट किनारामा पारिँदा असन्तुष्टि बढेको छ ।

ओलीको नजरमा नपरेकै कारण झापा विद्रोहका पुराना नेता नरेश खरेल,धर्म निरौला, मनकुमार गौतमदेखि पछिल्लो पुस्ताका सुरेन्द्र मानन्धरसम्मले राजनीतिक जीवनको उत्तरार्धमा जिम्मेवारीविहीन हुनुपरेको छ । पछिल्लो पुस्तामा सिन्धुपाल्चोकका सुवास कर्माचार्य हुँदै झापाका रविन कोइराला र सुदूरपश्चिमका डा. दीपकप्रसाद भट्टसमेत ओलीको रोजाइमा परेनन् । उनीहरुलाई दूधमा परेको माखो मिल्काएझैँ साइड लगाइएकै कारण भित्रभित्रै गुम्सिएको असन्तुष्टि छताछुल्ल हुन थालेको हो ।

वाम आन्दोलनमा सिन्कोसम्म नभाँचेका नवप्रवेशी दुर्गा प्रसाईं र कोमल वलीजस्ताले केन्द्रीय कमिटीमा ठाउँ पाउँदा कम्युनिष्ट आन्दोलनमै लागेर कपाल फुलाएका र गाला चाउरिएकाहरुले भने अपमानपूर्ण ढंगले बहिर्गमन हुनुपरेको छ । जसको परिणाम सिन्धुपाल्चोकबाट सुवास कर्माचार्यले पनि पार्टी छाड्ने निर्णय गरेका छन् ।

“स्थापित नेताहरु सोम सापकोटा,झम्क नेपाल,अरुण नेपाललगायत पनि उनी निकट नै थिए । तीमध्ये सापकोटाले एमाले छाडेर समाजवादी रोजिसकेका छन् ।”

कर्माचार्य सिन्धुपाल्चोकमा एमालेका स्थापित नेता हुन् । उनी २०३७/३८ सालदेखि नै वाम आन्दोलनमा लागेका थिए । एमाले सिन्धुपाल्चोकको नेतृत्व सम्हालिसकेका कर्माचार्य पूर्वसांसद पनि हुन् । चार दशक भूगोलमा बसेर एमालेको राजनीति गरेका उनी सबै हिसाबले केन्द्रीय सदस्यका लागि योग्य थिए । तर, अध्यक्ष ओलीले नचाहेकै कारण उनलाई केन्द्रीय कमिटीमा नलगिएको स्रोतको दाबी छ ।

कर्माचार्य पाखा पारिनुमा स्थानीय अन्तरविरोधले समेत भूमिका खेलेको बताइन्छ । १० बुँदे पक्षधर भनेर चिनिएका अरुण नेपाल र सरेश नेपालदेखि पछिल्लो समय अध्यक्ष ओलीका ‘प्रियपात्र’ शेरबहादुर तामाङसम्मले उनीविरुद्ध मोर्चाबन्दी गरेर माथि आउन नदिएपछि बाध्य भएर विद्रोह रोज्नुपरेको बताइन्छ । कर्माचार्यभन्दा जुनियर भए पनि तामाङलाई उकालिएको उनीहरुको भनाइ छ ।

कर्माचार्य निकट स्रोतका अनुसार जुनियरलाई माथि लैजाँदा आफूलाई केन्द्रीय सदस्यसमेत नबनाएपछि अपमान महसुस गरेका कर्माचार्यले एमाले छाड्ने कठिन निर्णय गरेका हुन् । अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा नपर्नुको चित्तबुझ्दो कारण बताएर सम्झाउनुको साटो पूरै बेवास्ता गर्नुको परिणाम विद्रोह रोज्नुपरेको स्रोत बताउँछ । ‘जिम्मेवारी नदिने मात्र होइन, गए जाओस् जस्तो व्यवहार गरियो’, स्रोत भन्छ, “न समाउने हाँगो,न टेक्ने ठाउँ’ को अवस्थामा पुगेपछि अरु विकल्प के रह्यो र ?’

बताइएअनुसार कर्माचार्यलाई योजनाबद्ध रुपले पाखा लगाइएको थियो । गत चुनावमा वाम गठबन्धन गरेर चुनाव लडेको एमालेले सिन्धुपाल्चोक–१ माओवादीलाई दियो । त्यहाँ अग्नि सापकोटाले चुनाव जिते । त्यतिबेला उनलाई अर्कोचोटी संघमा टिकट दिने भनेर थामथुम बनाइयो । तर शेरबहादुरहरुकै योजनामा अहिले केन्द्रीय कमिटीबाटै फालेर बाटो बन्द गर्न खोजिएको उनीहरुको आरोप छ ।

पार्टी विभाजनले यसै पनि कमजोर बनेको एमालेलाई कर्माचार्यको विद्रोहले आगामी चुनाव थप कठिन हुने देखिएको छ । जिल्लामै बसेर काम गरेका र तुलनात्मक रुपमा इमान्दार छवि बनाएका कर्माचार्यको जिल्लामा व्यक्तिगत प्रभावसमेत राम्रो भएको बताइन्छ । यसको परिणाम चुनावमा देखिने स्रोतले दाबी गरेको छ ।

हुन त, एमाले छाडे पनि कर्माचार्यले अर्को दल रोजिसकेका छैनन् । तर, उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने चर्चा छ । ‘उहाँ अर्को पार्टीमा जानुहोला, या यसै बस्नुहोला त्यो पछिको कुरा भयो, तर चुनावमा एमालेलाई हराउन उहाँको भूमिका महत्वपूर्ण हुनसक्छ’, स्रोत भन्छ ।

कर्माचार्य केन्द्रमा अमृत बोहरा निकट नेता हुन् । जिल्लामा स्थापित नेताहरु सोम सापकोटा,झम्क नेपाल,अरुण नेपाललगायत पनि उनी निकट नै थिए । तीमध्ये सापकोटाले एमाले छाडेर समाजवादी रोजिसकेका छन् ।

टिप्पणीहरू