मागेर मोबाइल चोर्ने २ जना पक्राउ

मागेर मोबाइल चोर्ने २ जना पक्राउ

सुर्खेतमा आफन्तलाई फोन गर्ने बहानमा मोबाइल मागेर चोरी हुने घटना बढेको छ । पछिल्ला दिनमा आफूलाई सुर्खेतको बारेमा जानकारी नभएको र अलपत्र परेको भन्दै आफन्तलाई फोन गर्न मोबाइल मागेर फरार हुने गरेको पाइएको हो ।

दुई साता अघिदेखि मोटरसाइकल र स्कुटरमा सवार समूहले मोबाइल चोर्ने गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी निवेदन परेका छन् ।

ती निवेदनका आधारमा खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका १ का १९ वर्षीय नवीन सुनार र १८ वर्षका रवीन गुरुङलाई उक्त आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार ती युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पुष्टि गर्नुभएको छ । ती युवकले चोरीमा भे.७ प ३२५२ नम्बरको ‘यामाहा’ मोटरसाइकल प्रयोग गरेका थिए ।

उक्त मोटरसाइकल नवीनका बुबाको नाममा रहेको बुझिएको छ । उनीहरु दुई जनालाई ‘रियलमी’ र ‘भिभो’ कम्पनीको मोबाइलसहित सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘हामी भारतबाट आएका हौं । सुर्खेतको पश्चिमस्थित पलाइटे घर हो । अलपत्र पर्यौं भन्दै विभिन्न व्यक्तिसँग कुरा गर्ने र घरमा फोन गर्नको लागि मोबाइल मागेर फरार हुने गरेका थिए ।’ शाहीले भने, ‘करिब एक हप्तादेखि खोजतलास गरेपछि पक्राउ गर्न सफल भएका छौं ।’

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । सेतो रंगको स्कुटर प्रयोग गरी मोबाइल चोरी गर्ने अर्को समूहको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।

पूजापाठ र घरायसी सामाग्री चोर्ने पनि समातिए

पूजापाठ र घरायसी प्रयोजनमा प्रयोग हुने सामाग्री चोरी गर्ने दुई जनालाई पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । वीरेन्द्रनगर ५ का ३८ वर्षीय शेरबहादुर बसेल र वीरेन्द्रनगर ४ का सुरेश नेपालीलाई उक्त आरोपमा पक्राउ गरेको हो ।

उनीहरुले पूजापाठमा प्रयोग हुने कलश, करुवा, घण्ट, गाग्री, बिजुलीका तार, टर्च लाइट, फलामे छडलगायतका सामाग्री चोरी गरेको प्रहरी निरीक्षक कनक शाहीले बताउनुभएको छ ।

टिप्पणीहरू