६ वर्षीया बालिकाको चन्दा उठाएर मुटुको उपचार

६ वर्षीया बालिकाको चन्दा उठाएर मुटुको उपचार

खोटाङको जन्तेढुंगा गाउँपालिका–५, चिसापानीकी ६ वर्षीया मुटुरोगी सिर्जना पौडेललाई चन्दा उठाएर अस्पताल पुर्याइएको छ ।

अतिविपन्न परिवारकी मुटुरोगी बालिकालाई शुभेच्छुक तथा आफन्तको आर्थिक सहयोगमा उपचारका लागि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयर केन्द्र बाँसबारी भर्ना गरिएको हो ।

बालिकाको मुटुमा दुई वटा प्वाल रहेकाले शल्यक्रिया गर्नुपर्ने ‘मुटुरोगी सिर्जना पौडेल उपचार तथा बचाउ’ अभियान सञ्चालन गरिरहेका काँग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले जानकार दिए ।

ज्वरोले थलिएपछि गत असार २८ गते नोबेल अस्पताल विराटनगर पुर्याइएपछि बालिकामा मुटु रोग पुष्टि भएको हो ।

आफ्नो घर जग्गा नभएको र छाप्रो बनाएर बसिरहेका पौडेल परिवारकी बालिकालाई आफन्त तथा शुभेच्छुकबाट संकलन गरिएको ४० हजार खर्चमा विराटनगर लगिएको थियो ।

सिर्जनाको मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिए पनि उमेरअनुसार तौल नहुँदा तीन महिनापछि शल्यक्रिया गर्ने तयारी गरिएको छ । उनको तौल अहिले साढे १२ केजी मात्र छ ।

टिप्पणीहरू