जिल्ला अस्पतालमै कोभिड उपचार खर्चको अत्तोपत्तो छैन

जिल्ला अस्पतालमै कोभिड उपचार खर्चको अत्तोपत्तो छैन

कोरोना संक्रमितलाई उपचार गरेवापत दिइने भनिएको उपचारखर्च अझै पनि कतिपय अस्पतालले पाउन सकेका छैनन् । सरकारले दिने भनेर घोषणा गरे पनि जिल्ला अस्पताल लमजुङले अझै पनि उपचारखर्च नपाएको हो । कोरोना महामारी सुरु भएदेखि संक्रमितको उपचारमा अस्पतालले खर्च गरेको रकम अहिलेसम्म पनि शोधभर्ना पाउन सकेको छैन ।

अस्पतालले सुरूदेखि चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म त्यस्तो उपचार खर्चवापत एक करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको दाबी गरेको छ । अस्पतालले गत कात्तिक मसान्तसम्म पाँच सय छ जना संक्रमितको निःशुल्क उपचार गरेको छ ।

संक्रमितको उपचारखर्च सरकारले व्यहोर्ने भनिए पनि त्यस वापतको रकम अहिलेसम्म प्राप्त नभएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभएको छ । जिल्ला अस्पतालमा गत आर्थिक वर्षमै चार सय ४१ जना संक्रमितको उपचार भएको थियो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६५ जनाको उपचार भएको छ ।

दुवै चरणमा उपचार गराएका संक्रमितहरूको कुल रकम एक करोड ३३ लाख २१ हजार रुपैयाँ पुगेको अस्पतालले जनाएको छ । पहिलो चरणमा दुई सय ६२ जना कोरोना संक्रमितको उपचार गर्दा ७३ लाख ६४ हजार रुपैयाँ लागेको थियो । दोस्रो चरणमा हालसम्म एक सय ७९ जनाको उपचार गर्दा ४६ लाख १३ हजार रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा १३ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । कोभिड संक्रमितको उपचार खर्च सरकारले उपलब्ध गराउने सम्झौता शुरुमै भएको हो । दोस्रो लहरको संक्रमण शुरु भएसँगै गत वैशाख १६ गते जिल्ला अस्पताल लमजुङ र गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबीच कोभिड–१९ संक्रमित बिरामीको उपचार र व्यवस्थापनका लागि अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो ।

सम्झौतामा उल्लेख भएअनुसार संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च अस्पतालको आइसोलेसनमा सामान्य उपचारको निम्ति दैनिक तीन हजार पाँच सय, मध्यमस्तरको उपचारको निम्ति सात हजार र गम्भीर प्रकृतिको उपचारको निम्ति दैनिक १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ ।

प्रत्येक महिना शोधभर्ना वापतको रकम भुक्तानी गर्ने उल्लेख भए पनि हालसम्म रकम नआएको अस्पतालले जनाएको हो । प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने ४६ लाख १३ हजार रुपैयाँमध्ये ४५ लाख रुपैयाँ निकासा भइसकेको जनाइएको छ । उक्त रकम जिल्ला स्वास्थ्य कार्यालयमा आए पनि आवश्यक प्रक्रिया नपुगेकाले अस्पतालको खातामा जम्मा भइसकेको छैन ।

टिप्पणीहरू